समाज

मनोज चौधरी स्मृति पुरस्कार मिश्रलाई प्रदान

नेपाल पत्रकार महासंघ रौतहट शाखाले स्थापना र व्यवस्थापन गरेको मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार २०७९ कुमार विवेकानन्द मिश्रलाई प्रदान गरेको छ।  

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक कार्यक्रममा २५ हजार रुपैया नगद र सम्मानपत्रसहित मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार २०७९ गोरखापत्र राष्ट्रिय दैनिकका नायब कार्यकारी सम्पादक तथा नयाँ नेपालका संयोजक मिश्रलाई प्रदान गरेका हुन्।  

पत्रकारिताको विकासमा मिश्रले दिएको योगदानको प्रशंसा गर्दै पूर्व प्रधानमन्त्री नेपालले पत्रकारिता पुरस्कारले रौतहटको पत्रकारितालाई थप सकारात्मक बनाउन विशेष भूमिका खेल्ने बताएका छन्।  

पुरस्कार प्राप्त गर्ने मिश्र पत्रकारितामा साढे दुई दशकदेखि सक्रिय छन्। नेपाल पत्रकार महासंघ रौतहटका शाखा अध्यक्ष रहिसकेका मिश्रलाई यो पुरस्कार पहिलो पटक प्रदान गरिएको हो।

गत वर्ष कोरोनाको कारण जिल्लाको अत्यन्त सक्रिय पत्रकारको रुपमा रहेका मनोजकुमार चौधरीको निधन भएपछि नेपाल पत्रकार महासंघ रौतहट शाखाले मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कारको स्थापना गरेको हो।  

कार्यक्रममा रौतहटेली पत्रकारिता क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहनुका साथै गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवार, उपप्रमुख तथा स्वर्गीय पत्रकार मनोज चौधरीकी पत्नी पुनमकुमारी चौधरीसहितको सहभागिता रहेको थियो।

प्रकाशित: २५ भाद्र २०७९ ०२:३७ शनिबार

नेपाल पत्रकार महासंघ रौतहट शाखा