समाज

सरकारी वकिल कार्यालयबाट कैदीबन्दी फरार

म्याद थपका लागि सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत लैजाने तयारी रहेका अवस्थामा एक जना कैदीबन्दी बिहीबार वकिल कार्यालयबाट भागेका छन्।

सुन चोरीको आरोपमा पक्राउ परेका घोराही उपमहानगरपालिका-१७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा शौचालय जाने निहुँमा बिहीबार भागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए।

उनले सरकारी वकिल कार्यालयको दोस्रो तल्लाबाट हामफालेर बन्दी भागेको जानकारी दिए। शौचालय गएका विश्वकर्मा धेरै समयसम्म पनि बाहिर नआएपछि ढोका फोरेर हेर्दा फेला नपरेको उनले बताए। 'शौचालयको झ्याल हातले निकाल्न मिल्ने खालको रैछ निकालेर भागेछ', उनले भने।

म्याद थपका लागि अदालत लैजान कागजपत्र तयार गर्दै गर्दा सरकारी वकिल कार्यालयबाट बन्दी भागेको र  खोजी भइरहेको  प्रनाउ गौतमले बताए। विश्वकर्मालाई यही यही भदौ २२ मा  प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित: २४ भाद्र २०७९ १०:४९ शुक्रबार

सरकारी वकिल कार्यालय जिल्ला अदालत जिल्ला प्रहरी कार्यालय दाङ