समाज

सर्लाहीमा रोकिएन काठ तस्करी

चुनाव नजिकिँदै जाँदा सर्लाहीको बनबाट काठ तस्करी बढेको पाइएको छ। बनबाट काठ तस्करी बढेको गुनासो बढेपछि वन कार्यालय बल्ल चनाखो बनेको छ।

सर्लाहीको एउटा वन गस्ती टोलीले ईश्वरपुर नगरपालिका-१२, फुलजोर खोला किनारबाट सालको गोलिया बरामद गरेबाट सर्वसाधारणको गुनासोको पुष्टि भएकाको छ।

तस्करले नजिकैको वनबाट तस्करी गरेर लुकाइ राखेको सालको सात थान गोलिया बरामद गरेको छ। सब-डिभिजन वन कार्यालय घारीबाट सहायक वन अधिकृत सत्यदेव यादवको नेतृत्वमा खटिएको गस्ती टोलीले फूलजोर खोलाको किनारमा काँसघारीभित्र लुकाइछिपाई राखेको अवस्थामा सालको गोलिया बरामद गरेको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ।

सालका ती गोलिया दुई-चार दिनअघि मात्रै कटान गरेर लुकाएको हुन सक्ने वनका एक कर्मचारीले बताएका छन्। सालका गोलियानजिकै रहेको फूलजोर बाबा साझेदारी वनबाट कटान गरेर त्यहाँ लगी लुकाई राखेको हुनसक्ने वनका कर्मचारीले आशंका गरेका छन्।

जिल्लाको घारिबथान, परवानीपुर, पत्थरकोट, नारायणखोला, मूर्तिया, जानकीनगर, घुर्कौली लगायतका क्षेत्रका वनमा तस्करी बढेको गुनासोपछि गस्ती व्यापक बनाइएको डिभिजन वन कार्यालयले जनाएको छ। वन गस्ती बढाइएपछि झाडी बुट्यान तथा करेसामा लुकाएर राखिएको सालका गोलिया र चिरान फल्ली बरामद भइरहेको कर्मचारीले बताएका छन्।

वन गस्ती टोली सक्रिय भएपछि केही दिनदेखि तस्करहरू सतर्क भएको बुझिएको छ। जथाभावी रुख कटान र तस्करीका कारण केही वर्षअघिसम्म घना रहेका जिल्लाका अधिकांश वन क्षेत्र उजाड बनिसकेको छ।

वन कार्यालय र उपभोक्ता समितिले प्रभावकारी नियमन नगर्दा तस्करले सालका रुख कटान गर्दा वन क्षेत्र उजाड बन्न पुगेको हो। राजनैतिक उथपुथल, आन्दोलन तथा चुनावको समय पारेर तस्करहरूले वनबाट काठ तस्करी तीव्र पार्ने गरेका छन्। चुनाव नजिकिँदै जाँदा तस्करहरू सक्रिय भएको गुनासो बढेपछि वन गस्ती टोली पनि सक्रिय भएको हो।

प्रकाशित: २४ भाद्र २०७९ ०२:५३ शुक्रबार

सर्लाहीमा रोकिएन काठ तस्करी वन कार्यालय बल्ल चनाखो