'हाम्रो उद्देश्य उपयुक्त सहरी बस सेवा सञ्चालन गर्ने हो,' उनले नागरिकसँग भने, 'जसको मतलब सेवा विस्तार गर्न लागेका हौं।'
उनका अनुसार अब आउने बसहरु शारिरिक अशंक्तमैत्री रहेको छ। यससँगै ४० भन्दा बढी सिट सहित बसको बीचमा फराकिलो ठाउँ हुनेछ। जसबाट यात्रुहरु उभिन र ओहोरदोहोर गर्न सजिलो हुने यातायातको भनाइ छ। यसबाहेेक अघिल्ला १६ वटा बसहरुमा रहेका चालकबाट सञ्चालित ढोका, सिसिटिभी क्यामेरा, टेलिभिजन स्क्रीनका सेवा हुनेछन्।
'बसमा दुइ वटा ढोका हुनेछन्, जसमध्ये पछाडीको बसबाट ह्वीलचियर छिराउन मिल्ने हुनेछन्,' उनले भने, 'अघिल्लो सेवामा समावेश हुन नसकेको यो सेवाबाट साझाले यात्रुहरुलाई नयाँपन दिन खोजेको छ।'
बोलपत्र खोलेको ४ महिनाभित्र बस काठमाडौं ल्याउनुपर्ने कानुनी मान्यताअनुसार कम्पनीले बस भित्राउने उनले जानकारी दिए। साझाले अघिल्ला बसको एकपट्टी ३ र अर्कोपट्टी २ सिटयुक्त ५५ जनाभन्दा बढी बसेर यात्रा गर्न मिल्ने अब ल्याएपनि योपटक भने बीचको भागलाई खुकुलो बनाउन दुबैपट्टी २/२ सिटको व्यवस्था गरिने अशोक लेल्याण्डसँगको सम्झौता छ।
'एक पटकमा करिब १०० यात्रुलाई ओसार्नेगरि सहरी बस ल्याउन लागेका हौं,' उनले भने, 'यसकालागि बसमा सिटलाई केही कम गरि सहरी यातायातको स्वरुपमा बसहरुलाई व्यवस्थित गरिनेछ।'
सहरी यातायातलाई सेवामूखी बनाउँन महानगरपालिकाले साझालाई १० करोड रुपैया दिने सम्झौता साउनमा भएको थियो। साझा र महानगरपालिकाले १९ बुदे सहमतीपत्रमा हस्ताक्षर गर्दै काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायातको सेवा प्रयोग गर्ने यात्रुुलाई सार्वजनिक यातायातमा सुविधा दिने, शहरी अर्थतन्त्रलाई बढवा दिने र सार्वजनिक यातायातलाई विश्वसनीय बनाउनेगरि सम्झौता गरेका थिए।
बसहरुको मुल्य बराबरको रकम साझाको पुँजीमा महानगरपालिकाको शेयर लगानीको रुपमा बस सञ्चालन भएको मितिको १५ दिन भित्र स्वतः परिणत हुनेपनि सम्झौता छ। दुबै पक्षको सहकार्य भएको पहिचान हुने गरी 'महानगरपालिका र साझाको सहकार्यमा सञ्चालित शहरी बस सेवा' भन्ने सन्देश राख्ने सहमती छ।
साझा यातायात साझा यातायात सहकारी संस्था लि.मार्फत सञ्चालन रहेको छ। जसमा सरकारी विभिन्न ६३ निकायहरुको ७२.५९ प्रतिशत, विभिन्न ८ वटा संघ संस्थाहरुको ७.२६ प्रतिशत र १४१ जना सर्वसाधरणको २०.१५ प्रतिशत शेयर रहेको छ। साझाले ५ करोड ५४ लाख रुपैयामा २०७० वैशाख १ गतेदेखि उपत्यकामा १६ वटा बस सञ्चाल गरिरहेको छ।
प्रकाशित: ११ चैत्र २०७२ २०:४१ बिहीबार