समाज

डेंगीः तीनवर्ष अघि पोखरालाई अत्याउँदा घरघरमा पुगेर लामखुट्टे मारिएको थियो

हिमाली जिल्ला मनाङ र मुस्ताङ बाहेक सबैतिर संक्रमण

नियन्त्रणमा ठुलो मेहनत गर्दा अहिले कम भएको होः स्वास्थ्यकर्मी

क्याप्शन

तीनवर्ष अघि डेंगीले पोखरा क्षेत्रमा हायलकायल पा¥यो। डेंगी नियन्त्रणका लागि त्यो बेला यहाँ निकै नै ठुलै मेहनत गर्नुपरेको थियो। पोखरा महानगरपालिका–८ नम्बरमा त्यो वर्ष सबैभन्दा बढी बिरामी फेला परेका थियो। त्यो वर्ष पोखरामा मात्र करिब २ हजार जनामा यो संक्रमण भएको थियो।  

त्यतिखेर पोखरामा फैलिएजस्तै अहिले डेंगीले राजधानी काठमाडौं सहित तराइका जिल्लामा अत्याएको छ। तर, यतिबेला पोखरामा भने डेंगीका बिरामी छैनन्। केहीदिन अघिसम्मका सिमित बिरामी पनि निको भईसकेका छन्। अहिले ७७ मध्ये ७२ जिल्लामा डेंगी फैलिएको सरकारले बताईसकेको । डेंगी पुग्न बाँकी जिल्लामा हिमाली भेगका छन्।  

गण्डकी प्रदेशका हिमाली जिल्ला मनाङ र मुस्ताङमा अहिलेसम्म डेंगीका एकजना बिरामी पनि फेला परेका छैनन। मौसम अनुकुल नहुँदा ती हिमाली जिल्लामा डेंगी फैलिन नपाएको जिल्लास्थित स्वास्थ्य कार्यालयले बताएका छन्। स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्रीराज आचार्यका अनुसार गत साउनयता कास्कीमा २० जना डेंगीका बिरामीले उपचार गराएका थिए। उनीहरु कास्कीका मात्र नभई आसपासका जिल्लाका पनि बिरामी थिए। पर्वत, स्याङजा लगायतका जिल्लाबाट पनि उपचारका लागि ती बिरामी पोखरा आएका थिए। तर, उपचारपछि निको भई सबैजना बिरामी घर फर्किएको उनले बताए।  

‘यतिबेला कास्कीमा डेंगीमा एकजना पनि बिरामी भएको थाहा छैन,’ उनले भने,‘सबैतिर संक्रमण बढ्दो छ। तर, अहिले कास्कीमा कोही बिरामी छैनन। तैपनि हामी सचेत भने हुनैपर्छ। बिरामी छैनन भनेर हेलचेक्रयाँइ भने गर्नु हुँदैन।’ यो पटक सबैतिर डेंगीले सताउँदा पोखरामा भने बिरामी नै छैनन। किनकी यहाँ तीनवर्ष अघि गरेको नियन्त्रणको प्रयासपछिको सचेतना, त्यो बेला गरिएको नियन्त्रणको प्रयास र निरन्तरको वर्षाका कारण यो पटक कम संक्रमण भएको हुनसक्ने आचार्यको अनुमान छ।  

तीनवर्ष अघि पोखरामा डेंगी फैलिँदा यहाँ व्यापक रुपमा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान चलाइएको थियो। लामखुट्टेको टोकाइबाट सर्ने यो रोग नियन्त्रण गर्न लामखुट्टे मार्ने अभियान नै चलाइएको थियो। ‘पोखरामा निरन्तर वर्षा भएको छ। तीनवर्ष अघि हामीले व्यापक रुपमा सचेतनाका कार्यक्रम ग¥यौ। त्यो बेला पानी जम्ने, टायर, ट्यांकी, नाला, गमला व्यापक रुपमा नष्ट ग¥यौ। घरको छतमा जम्ने गरि राखिएको टायर निकाल्यौ, त्यसैको कारण अहिले नियन्त्रणमा आएको हुन सक्छ,’ आचार्यले भने, ‘किनकी लामखुट्टेको टोकाइबाट सर्ने भएकोले लामखुट्टे नियन्त्रणमै त्यो बेला हाम्रो ध्यान केन्द्रीत रह्यो। समुदाय नै त्यो बेला व्यापक परिचालन गरेकोले अहिले केही सहज भएको हो।’  

उनका अनुसार डेंगी फैलाउने लामखुट्टे नियन्त्रणका लागि भाडामा कम्तिमा एकसातासम्म पानी जम्न दिनु हुँदैन। वर्षाका कारण जमेको पानी पनि छिटोछिटो फेरिएकोले डेंगी फैलाउने लामखुट्टे फैलिन नपाएको हुनसक्ने उनले बताए । ठुलो मेहनतका साथ घरघरमा पुगेर नियन्त्रण अभियान चलाएकै कारण अहिले संक्रमण फैलिन नपाएको अनुमान रहेको उनले बताए।  

हिमाली जिल्लामा भने मौसम अनुकुल नहुँदा डेंगी फैलिन नपाएको त्यहाँका स्वास्थ्य कार्यालयका प्रमुखले बताएका छन्। मुस्ताङका स्वास्थ्य कार्यालय प्रमुख रामबहादुर नेपालीले वातावरण उपयुक्त नहुँदा लामखुट्टे फैलिन नपाउँदा मुस्ताङमा डेंगी संक्रमण नदेखिएको बताए। ‘यसै पनि पानी कम पर्ने भएकोले यहाँ यत्रतत्र पानी संकलन हुन पाउँदैन। पानी कम परेपछि डेंगी फैलाउने लामखुट्टे हुर्किन पाउँदैन, त्यही भएर संक्रमण नदेखिएको हो,’ नेपालीले भने, ‘हिमाली जिल्लामा उपयुक्त वातावरण नै हुँदैन। तापक्रम पनि अनुकुल नहुँदा मनाङ र मुस्ताङजस्ता जिल्ला जोगिएका हुन्।’

गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. नारायण श्रेष्ठले गण्डकी प्रदेशका जिल्लामा यतिबेला डेंगी संक्रमण कम भएको बताए। उनले पनि तीनवर्ष अघिको मेहनत र सचेतनाका कारण यो पटक केही नियन्त्रण भएको बताए। ‘घरघरमा पुगेर त्यो बेला नियन्त्रण गरिएको थियो। तर, वर्षाको सिजन अझै बाँकी भएकोले अहिले नै हेलचक्रयाँइ भने गर्नुहुँदैन। सचेत भने हुनपर्छ,’ श्रेष्ठले भने, ‘तीनवर्ष अघि पोखरा क्षेत्रमा डुंगी फैलँदा नियन्त्रणका लागि घरघरमा पुगेर संकलित पानी फ्याक्ने, नाला सफा गर्ने, गमला फुटाउने, टायर खालि गर्ने लगायतका काम गर्दा अहिले नियन्त्रणमा सहज भएको हो।’

चिकित्सकका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा डेंगी सर्छ। यो लामखुट्टेले दिनको समयमा मात्र टोक्छ। यो लामखुट्टे फैलिनका लागि २० देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ। पोखराको यतिबेलाको तापक्रम न्यूनतम २० र अधिकतम ३२ डिग्री सेन्टिग्रेड रहेको छ। 

त्यस्तै यो लामखुट्टे फैलनाका लागि ह्युमिडिटि (सापेक्षित आद्रता) ६० प्रतिशत आवश्यक पर्छ । ६० प्रतिशत ह्युमिडिटि भनेको वायुमण्डलमा हुने पानीको मात्रा बुझिन्छ। ६० प्रतिशत ह्युमिडिटिले यो लामखुट्टे फैलाउन सघाउने चिकित्सकले बताउने गरेका छन। फूलबारी, गमला, एसी, फ्रिज, छत, कौसीको पानी जम्ने ठाउँमा यस्तो लामखुट्टेले फुल पार्ने र त्यो फुल एकवर्षसम्म पनि रहन सक्ने भएकोले सधैंभरी जोखिम भने रही रहने स्वास्थ्यकर्मीको भनाई छ।  

पोखरामा २०७२÷७३ सालदेखि डेंगी देखिन थालेको थियो। सुरुका तीनवर्ष पोखरामा एक एकजना मात्र डेंगीका बिरामी भेटिएकोमा थौथो वर्ष ५७१ जना बिरामी परेका थिए। त्यसपछिको वर्ष भने त्यो संख्या झन्डै २ हजार पुगेको थियो। डेंगी फैलाउने यो लामखुट्टेले सफा पानी जमेको ठाउँमा मात्र फुल पार्ने गर्छ। खासगरि वर्षाको पानी जम्ने भाडाकुँडा, टिनका बट्टा, पुराना टायर, खालि ड्रम, फूलदानी, गमला, पानी ट्यांकी लगायतका भाडामा फुल पार्छ। त्यसैले वर्षातको पानी जम्ने सिजनमा यो रोग फैलिने गरेको चिकित्सकले बताएका छन्।  

चिकित्सकका अनुसार डेंगु लागेपछि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ। त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन्।

प्रकाशित: २१ भाद्र २०७९ १०:५९ मंगलबार

डेंगी संक्रमण पोखरा