समाज

मधेसका सीमानाका हुँदै गाँजा भारत तस्करी: तस्करीमा एम्बुलेन्स, डुंगा र तेल ट्यांकरको प्रयोग

बिरामी बोक्ने सिटमा गाँजाले भरिएका बोरा राखेर भारत लग्दै गर्दा पक्राउ परेको एम्बुलेन्स। तस्विरःनागरिक

भदौ १९ गते विहान बारा प्रहरीले गाँजा बोकेको ट्रकसहित दुई जनालाई पक्राउ गरेको गर्यो। हेटौडाबाट पथलैयातर्फ आइरहेको प्र ३– ०१००३ क ६९०६ नम्बरको ट्रकमा १० वटा पोकामा प्याक गरीएको ३४ किलो तयारी गाँजा सहित मकवानपुर मनहरी गाउँपालिका –७ बिजौनाका ३५ वर्षीय सुमनबहादुर थिङ र सोही गाउँपालिका वडा नम्बर १ चकरीका २० वर्षीय सुभाष लामा पक्राउ परे।  

भदौ ४ गते प्रहरीले वीरगञ्ज महानगरपालिका–२१ बाट डब्लु बी ११ इ ९०३३ नम्बरको तेल ट्यांकरबाट ४६ पोकामा प्याक गरिएको १ सय ७२ किलो तयारी गाँजा बराम गर्यो। भारत तर्फ लग्दै गरेको उक्त परिमाणको गाँजासहित ट्यांकरका चालक भारत उत्तर प्रदेशको गाजीपुर जिल्लाका ३९ वर्षीय लालबिहारी यादवलाई पक्राउ परे।  

साउन ३१ गते पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका–१ स्थित जिल्ला ट्राफिक कार्यालय अगाडि बिरामी बोक्ने एम्बुलेन्सको सिटबाट गाँजाको बोरा बरामद भयो। को १ च ७५७७ नम्बरको एम्बुलेन्सको बिरामी बोक्ने सिटमा राखिएको पाँच वटा बोरामा प्याक गरीएको ९० किलो तयारी गाँजासहित चालक धनगढीमाई नगरपालिका–९ बस्ने २९ वर्षीय सरोज लामालाई प्रहरीले पक्राउ गर्यो। लहान हुँदा गाँजा लिएर भारततर्फ जाँदै गर्दा एम्बुलेन्स नियमित चेकजाँचको क्रममा पक्राउ परेको थियो।

साउन १ गते रौतहटको राजपुर ६ कुटियाबाट पार्किङ गरी राखिएको डिएल ४ सिएनबी नम्बरको स्कार्पियो जिपबाट सशस्त्र प्रहरीले १ सय ९२ किलो गाजाँ बरामद गर्यो। सप्तरीको हुनुमाननगर नाकाबाट गाँजा डुंगामा भारत तस्करी भैरहेको पाइएको छ। पहाडी जिल्लाबाट ल्याइएको गाँजा सप्तरीको हुनमाननगर कंकालिनी नगरपालिकाको कोसी क्षेत्रबाट ढुंगामा गाँजाका बोरा राखेर कोसी नदी हुँदै भारत तस्करी फस्टाएको छ। कहिलेकाहीँ सशस्त्र प्रहरी बलले गाँजा बरामद गरेपनि मानिस भने पक्राउ परेको पाइँदैन।

भदौ ५ गते काठलाई हावा भरिएको ट्युबमा बाँधेर त्यसमा ९ वटा प्लास्टिकको बोरामा प्याक गरिएको २ सय ४० किलो गाँजा राखी कोसी नदी हुँदै भारततर्फ तस्करी गर्न लागिएको बेला सशस्त्र प्रहरीले बरामद गर्यो। पहाडी जिल्लाहरूबाट सप्तरी आउने गाँजा कोसी नदी हुँदै भारततर्फ तस्करी फस्टाएको छ। कोसी ब्यारेजबाट डुंगामा राखेर पनि भारततर्फ गाँजा तस्करी हुने गरेको छ। सप्तरीबाट गाँजा तस्करीका लागि डुंगा र ट्युब साधन बनेका छन्।  

सप्तरीबाट तस्करी हुने गाँजाको मुख्य स्रोत उदयपुर रहेको जानकारहरु बताउँछन्। सप्तरीमा हुने छिटफुट गाँजा उत्पादनले तस्करीको यो व्यापक संजालको माग धान्दैन जानकार भन्छन् पहाडी जिल्लाबाट गाँजा ल्याएर कोसीको बाटो भारत पुर्याउने गरिएको छ। सिरहादेखि पर्सासम्मको नाकाबाट तस्करी हुने गाँजाको स्रोत पहाडीसँग मकवानपुर र धाधिङ जिल्ला रहेको जानकार बताउँछन्। यी जिल्लाहरुबाट बिरामी बोक्ने एम्बुलेन्स, तेल बोक्ने ट्यांकरलगायतबाट गाँजा भारत पुर्याउने गरिएको पाइएको छ। 

विगतमा जिल्लाको ग्रामीण नाकाबाट भारततर्फ तस्करी हुने गाँजा अहिले वीरगन्जकै नाका हुँदै भारततर्फ जाने गरेको पाइएको छ । असार २३ मा भारत विहारको पटना र रक्सौल कस्टमको संयुक्त टोलीले वीरगन्जबाट रक्सौलतर्फ जाँदै गरेको ना७ख ३००५ नम्बरको नेपाली नम्बरको ट्रकबाट ५२७ केजी गाँजा बरामद गरेको थियो ।

स्रोतकाअनुसार नेपालमा दुईदेखि चार हजार रुपैयाँ प्रतिकेजी पर्ने गाँजा भारतमा २० देखि २५ हजार रुपैयाँसम्म बिक्री हुने गरेको छ । कम लगानी र कम समयमा अत्यधिक आम्दानी हुने भएकाले गाँजाको कारोबारमा तस्कर संजाल व्यापक हुँदै गएको छ। एक प्रहरी अधिकारी भन्छन्, ‘कारोबारीहरू भारतर्फ नै बस्ने भएकाले भरियामात्र पक्राउ पर्ने गरेका छन्।’ प्रहरीका अनुसार सवारी चालक र भरियासँग ‘आर्थिक डिल’ भइसकेकाले अधिकांशले कारोबारीबारे मुख खोल्दैनन् ।

वीरगन्ज नाकाबाट तस्करी हुने गाँजा मकवानपुर र धादिङबाट ल्याउने गरिएको प्रहरी स्रोत बताउँछन्। यहाँको मुख्य र ग्रामीण नाकाबाट समेत भारततर्फ गाँजा तस्करी हुने गरेको छ । पर्साको सोनवर्षा, मधुवन मथवल हुँदै गाँजा भरिया मार्फत भारत पुर्याउने गरिएको जानकार बताउँछन्।  

धनुषा, महोत्तरी, सर्लाही, रौतहट र सिरहाका सीमावर्ती नाकाबाट भारत पुर्याइने गाँजा पहाडी जिल्लाबाट ल्याएर सुरक्षित स्थानमा भण्डारण गरिन्छ। त्यसपछि अघिपछि पेस्तोलधारीको स्कर्टिङमा गाँजा भारत पुग्छ ।

प्रहरी अधिकारीका अनुसार गाँजाका भारत गाँजा लैजान कारोबारीले अनेक जुक्ति निकाल्छन्। नयाँ नयाँ तरिका प्रयोग गरी गाँजा भारत पुर्याइने गरिएकोले सुराकी पनि झुक्किने गरेको प्रहरी अधिकारी बताउँछन्।  

मधेस प्रदेशमा प्रहरीले बरामद गरेको तथ्यांकले पनि गाँजा तस्करीको अवस्था चित्रण गर्छ। मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थि वर्ष ०७८/०७९ मा २८ सय ४ किलो १९ हजार ३ सय ३५ ग्राम ८ सय १० मिलिग्राम गाँजा बरामद गरेको छ। यसमा संलग्न १ हजार ३२ जना पक्राउ परे भने ७ सय ४७ वटा मुद्दा दर्ता भएका छन्।

प्रकाशित: २० भाद्र २०७९ ०५:१३ सोमबार