समाज

व्यवसाय दर्ता नगरे ‘एक्सन’ मा उत्रने अनुगमन समितिको तयारी

जिल्ला अनुगमन समितिले ताप्लेजुङको दोभान बजारमा दर्ता नभई सञ्चालनमा रहेका व्यवसायीलाई दर्ता,मूल्य सूची र बोर्ड अनिवार्य राख्न भदौ महिनाभरीको समयसीमा दिएको छ। 

सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईको नेतृत्वमा मेरिङदेन गाउँपालिकाको दोभान बजारमा गरिएको अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नविकरणमा कम ध्यान दिएको,एकाध बाहेक अधिकाँस पसलहरुमा मूल्यसूची नभएको र पसल संकेत गर्ने बोर्ड समेत नदेखिएको भन्दै यो त्रुटी सच्याउन भदौ महिनाभरको समय दिइएको हो।

'व्यवसाय दर्ता तथा नविकरण गरेर बैधानिक प्रकृयामा समाहित भएपछि मात्रै व्यवसाय सञ्चालनका लागि योग्य हुने सुझाव दिएका छौं' घरेलु कार्यालय ताप्लेजुङका निमित्त प्रमुख युवराज घोर्साईले भने। सार्वजनिक स्थलमा मूल्यसूची राख्नुपर्नेसहितका सबै सुझाव पालना नभए अर्कोपटकको अनुगमनदेखि ‘एक्सन’ मा उत्रने अनुगमन समितिको तयारी रहेको छ।

अनुगमन समितिका संयोजक तथा सहायक प्रजिअ भट्टराईले सचेत गरिएका बिषय पालना नभए बैधानिक बाटो अवलम्वन गरिने बताए। उपभोक्ता हित प्रतिकुल हुने कुनैपनि काम गर्न नहुनेतर्फ सम्बेदनशिल बन्न उनले व्यवसायीको ध्यानाकर्षण गराएका छन्। ताप्लेजुङ उद्योग बाणिज्य संघ शाखा दोभानका अध्यक्ष हरि काफ्लेले व्यवसायदर्ता व्यवसायीको पहिलो सर्त भएकोले दर्ता,नविकरण,मूल्य सूची लगायतका बिषयमा संघका सदस्यहरुलाई प्रोत्साहित गर्ने बताए। 

ताप्लेजुङ उद्योग बाणिज्य संघ शाखा दोभानका सचिव लाक्पा तेम्बा शेर्पाले व्यवसायीले पूरा गर्नुपर्ने व्यवसायिक सर्त र प्रकृयाका बारेमा आनकानी गर्न नहुने भन्दै दर्ता,नविकरण,मूल्य सूची लगायतको प्रकृया पूरा गर्न व्यवसायीहरुसंग आग्रह गरेको छन्। स्थानीय व्यवसायी धनपति गुरागाँईले दर्ता,नविकरण सहितका कार्य नगरी व्यवसाय गर्नेले छुट पाउने अवस्था बनेमा अराजकता निम्तने र अरुले पनि नविकरण सहितका कार्य गर्न छाड्ने भएकोले बैधानिक प्रकृयामा सामेल हुन आग्रह गरेका छन्। 

संयुक्त अनुगमन समितिले कम्तिमा मासिक रुपमा बिभिन्न बजार क्षेत्रको नियिमत अनुगमन गर्ने कार्यसूची बनाएको जनाएको छ। घरेलु कार्यालय ताप्लेजुङका निमित्त प्रमुख घोर्साइले उपभोक्ताको हितलाई ध्यानमा राखेर योजनागत रुपमै अनुगमनको अभियान सञ्चालन गर्ने कार्ययोजना बनेको जानकारी दिए।

प्रकाशित: १९ भाद्र २०७९ ०९:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App