समाज

भारतमा बस दुर्घटना हुँदा चार नेपालीको मृत्यु

भारतमा दुर्घटनामा परेको यात्रु बाहक बस।

भारतको रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको यात्रु बाहक बस दुर्घटना हुँदा ४ जना नेपालीको मृत्यु भएको छ। भारत, उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित रामनगर थाना क्षेत्रको महंगुपुर गाउँ नजिक शनिबार बिहान करिब ३ः३० बजेतिर दुर्घटना भएको हो।  

दुर्घटनामा परी बाँके, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ निवासी फत्ते थारुको छोरा प्रेम थारु र मुकेरु थारुको छोरा शितल थारु तथा दाङ तुलसीपुर उपमहानगरपालिकास्थित रेशमबहादुर ओलीको छोरा चक्रबहादुर ओलीको मृत्यु भएको भारतीय प्रहरीलाई उदृत गर्दै बहराईचका पत्रकार नबी अहमदले नागरिकलाई जानकारी दिए। अर्का एक जनाको पहिचान हुन सकेको छैन। उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको थियो।  

उक्त दुर्घटनामा परी दुई दर्जन घाइते भएका छन्। घाइते मध्ये ६ जनाको अवस्था गम्भिर रहेको भारतीय प्रहरीले जनाएको छ।सामान्य घाइतेलाई उपचारका लागि बाराबंकी जिल्ला अस्पतालमा भर्ना गरिएको छ, भने गम्भिर घाइते ६ जनाको लखनउस्थित ट्रमा सेन्टरमा रिफर गरिएको छ। युपी ९३ बि.टि. ९९४४ नम्बरको डबल सिटे उक्त बसमा बसमा १५० यात्रु सवार रहेका थिए।  

बसमा सवार सबै नेपाली हुन्। उनीहरु कामका लागि भारत जादै थिए। भारतीय प्रहरीका अनुसार टायर पन्चर भएर रोकिराखेको उक्त बसलाई तिब्र गतिमा गुडेको सोही दिशाबाट आइरहेको ट्रकले पछाडीबाट ठक्कर दिएर दुर्घटना भएको थियो।

प्रकाशित: १८ भाद्र २०७९ ०७:२५ शनिबार

यात्रु बाहक बस दुर्घटना