समाज

काठमाडौंमा विद्युतीय बसबारे अध्ययन गर्न अर्को चिनियाँ टोली काठमाडौंमा

काठमाडौं-काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालनको तयारी भैरहँदा चिनियाँ कम्पनी सम्भाव्यता अध्ययन गर्न आउन थालेका छन् । प्रधानमन्त्रीको चैत ७ गतेदेखि हुने चीन भ्रमणमा सम्झौता हुने गरी विद्युतीय बसको सम्भाव्यता अध्ययन गर्न टोली आएका हुन्।


दुई साताअघि काठमाडौंको सार्वजनिक यातायात र सडकको अवस्थाबारे अध्ययन गरेर फर्केपछि अर्को कम्पनी आएको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार ७०–८० जना अटाउने सार्वजनिक बस सञ्चालनका लागि चिनिया टोलीले अध्ययन गरेका हुन् ।

'लामो समयको इन्धन अभावबाट पाठ सिक्दै कामपाले यो प्रयास थालेको हो,' उनले नागरिकसँग भने, 'चिनियाँ टोली दीर्घकालीन लगानी गर्न उत्सुक छन् ।' ग्रानटोन कम्पनीको टोलीले अहिले अध्ययन गरिरहेको उनले बताए । दुई साताअघि चीनकै टाइम्स इलेक्ट्रोनिक्स भेइकल कम्पनीको टोलीले पनि सम्भाव्यता अध्ययन सकारात्मक रहेको प्रतिवेदन दिएको थियो ।

कम्पनीका प्रतिनिधिले काठमाडौंको भूगोल, उपभोक्ताको रुची र बढ्दो सार्वजनिक यातायातको माग सम्बोधन गर्न कम्पनी सक्षम रहेको बताएको कार्कीले जनाए । टोलीले सार्वजनिक बसमा यात्रा गरेरै सडकको अवस्था अध्ययन गरेको उनले बताए ।

टोलीले महानगरपालिका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङसँग पनि भेटेको थियो । उपत्यकावासीले सहज सार्वजनिक यातायात उपयोग गर्न पाउने स्थिति बनाउन महानगरले नेतृत्व गरिरहेको भन्दै तामाङले बस सञ्चालन निजी क्षेत्रको सहभागितामा हुने बताएका थिए ।

'काठमाडौंको पूर्वाधार र भूगोल सुहाउँदा बस छनोटमा पर्नेछन्,' तामाङले भने । महानगरको तत्काल प्राथमिकतामा सहरी आवश्यकता र पूर्वाधारमैत्री विद्युतीय सवारीसाधन सञ्चालन रहेको कार्कीले बताए ।

टोलीहरूले सडकको संरचना र विद्युत आपूर्तिसम्बन्धी अध्ययन गरेको कामपाले जनाएको छ । करिब एक महिनाअघि कार्कीको नेतृत्वमा कामपाको टोलीले सम्भाव्यता अध्ययन गरेपछि चिनियाँ टोली आएका हुन् ।

२० वटा बसमध्ये १२ वटा महानगर र सरकारले खरिद गर्ने योजना छ । यसबाहेक ८ वटा बस चीन सरकारसँग अनुदानमा माग्ने तयारी छ ।

महानगरले विद्युतीय बस खरिद गरेर साझालाई सार्वजनिक–निजी साझेदारी अनुसार सञ्चालन गर्न दिने तयारी गरिरहेको छ । यसअघि पनि महानगरले साझालाई १० करोड रुपैयाँ बराबरका २५ वटा ठूला बस खरिद गर्न साउनमा सम्झौता गरिसकेको छ ।

चीनको संघाईस्थित संघाई सेन्लोङ बस कम्पनी र हुनान प्रान्तको टाइम्स इलेक्ट्रोनिक्स भेइकल कम्पनीमा महानगरको टोलीले अध्ययन गर्दा विद्युतीय बस सञ्चालनको सम्भावना देखिएको थियो । यी बस काठमाडौंका सडकमैत्री बनाउन र पाटपुर्जा पाउन भने कठिन हुने टोलीको निष्कर्ष छ ।

यस्ता बस करिब १ करोड ८० लाख रुपैयाँसम्म पर्ने भए पनि सडक अनुसार सुधार गरे करिब १ करोडसम्म खरिद गर्न सकिने टोलीको निष्कर्ष छ । टोलीले १० मिटर लामा बस उपयुक्त हुने देखेको छ । बसको तल्लो भाग र भुइँको दुरी (ग्राउन्ड क्लियरेन्स) मात्र २० इन्च हुँदा काठमाडौंमैत्री छैनन् । ग्राउन्ड क्लियरेन्स ३६ इन्चसम्म बढाउने, बसमुनि राखिने ब्याट्री सडकको पानीले असर नपार्न अन्य ठाउँमा राख्नेजस्ता सुझाव उत्पादक कम्पनीलाई महानगरले दिइसकेको छ ।

प्रकाशित: २ चैत्र २०७२ २१:०४ मंगलबार