समाज

बेनीमा ‘कपडा बैंक’ विपन्नलाई सित्तैमा

छोटो भएका तथा पूराना कपडा, जुत्ता, चप्पल तपाईं के गर्नुहुन्छ? मन नपरेका कपडा फोहोरसँगै फालिदिनुहुन्छ, लगाउनुहुन्छ कि दराजमा थन्क्याइ दिनुहुन्छ? यदी अब कसैले प्रयोग गरोस् भन्ने चाहनुहुन्छ भने बेनी नगरपालिका वडा नं ७ ले सुरु गरेको ‘कपडा बैंक’ लाई सहयोग गर्न सक्नुहुने छ।

घरमा प्रयोग नभएका लत्ताकपडा संकलन गरी खरीद गर्न नसक्ने गरीब परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले वडाले स्थापना गरेको ‘कपडा बैंक’मा प्रयोग योग्य लत्ताकपडा संकलन हुन थालेको छ। वडा कार्यालयले सार्वजनिक अपिलमार्फत सहयोग गर्न आह्वान गरेपछि बेनीका यूवा व्यवसायी धनञ्जयकुमार श्रेष्ठले आफूसँग भएको लत्ताकपडा सहयोग गर्दै प्रयोग नगर्ने लत्ताकपडा, जुत्ता, चप्पल सहयोग गर्ने माध्यम बनेको बताए।

यो अभियानमा आवश्यक गर्नेले बैंकमा गएर आफू खुसी रोजेर लुगा लान सक्छन्। ‘मैले अब नियमित यो अभियानमा साथ दिन्छु,‘कसैको प्रयोग गर्न मिल्ने पुरानो लुगा कसैको लागि नयाँ हुनसक्छ’ म्याग्दी जेसीजका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठले भने। म्याग्दी जिल्लामा पहिलोपटक बेनपा–७ ले सुरु गरेको कपडा बैंकमा सहयोग गर्न व्यक्तिगत तथा संस्थालाई समेत पत्रचार गरिएको छ भने विदेशमा रहेका म्याग्देलीलाई समेत अभियानमा जोडिन अपिल गरिएको वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए।

‘लत्ताकपडा चाहिन्छ, यहाँबाट लिनुहोला। पुराना, सफा, कपडा यहाँ छाडिदिनुहोस्’ वडा अध्यक्ष श्रेष्ठले भने। उनले दिनेको जानकारी वडामै सार्वजनिक गरिने र लिनेको अभिलेख राखिएपनि सार्वजनिक नगर्ने सहित विभिन्न मापदण्ड बनाइएको छ। वडा कार्यालयमा एउटा कोठा कपडा व्यवस्थापनका लागि मात्रै राखिएको छ।

म्याग्दी जिल्लाभित्र तथा आवश्यक परेमा बाहिरी जिल्लाका असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसमअनुसार कपडा उपलब्ध गराउने बेनी नगरका प्रबक्ता समेत रहेका श्रेष्ठको भनाइ छ। ‘सम्पूर्ण सहयोगी मनका धनीलाई प्रयोग गर्न मिल्ने कपडा संकलनमा सहयोग गर्न अपिल गर्छु’ वडा अध्यक्ष श्रेष्ठले अपिल गरेका छन्।

बेनी बजारभित्र आफूले प्रयोग गरिसकेको वा प्रयोग विहीन अवस्थामा रहेपनि सफा र प्रयोग गर्न मिल्ने हुनुपर्ने प्रमुख सर्त रहेको छ। कपडा बैंक गरीबले लैजाने र धनीले दिने सन्देश प्रवाह नहुने गरी सञ्चालन गरिने वडा सचिव विनिता रेग्मीले बताइन्।

आवश्यकता भएकाले लैजाने र आवश्यकता भन्दा केही बढि भएकाले दिने क्रममा झेल्नुपर्ने समस्याहरूका बारेमा समेत सचेत रहेको वडा सचिव रेग्मीको भनाइ छ। यो अभियानमा नगरकार्यपालिका सदस्यहरूले प्रतिव्यक्ति १ हजार सहयोग गरिसकेको छन्।

विशेष गरेर चाडपर्वमा लगाउन सक्ने जाडो मौसमन जिकिंदै गर्दा विपन्न समुदायका मानिसले न्यानो कपडा अभावमा कष्ट व्यर्हाेनु नपरोस् भन्ने उद्देश्यले भदौ महिनामै धेरे लत्ताकपडा संकलन गर्ने गरी जनप्रतिनिधि जुटेका छन्। कपडा बैंक स्थापना भएपछि प्राकृतिक विपत्तिमा परेका, बेवारिसे अवस्थामा भेटिएका, गरीब तथा अति विपन्न परिवारलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

यो अभियानमार्फत संकलन भएपछि विधिवत् रुपमा उद्घाटन समेत गरिने छ। जिल्लाका सरोकारवाला निकाय र परोपकारी अभियानमा संलग्न संघसंस्थाले अनुकरणीय काम भएको बताएका छन्।

अन्त्येष्टीमा निःशुल्क दाउरा

बेनी नगरपालिका वडा न ७ ले गरीबीको रेखामुनी रहेकालाई लक्षित गरी विभिन्न निर्णय गरेको छ। वडाभित्रका विपन्नको मृत्युपछि अन्त्येष्टिका लागि निःशुल्क दाउरा उपलब्ध गराउने भएको छ। वडाभित्र बसोवास गर्नेको ज्यान गुमाउने व्यक्तिको अन्त्येष्टिका लागि दाउराको व्यवस्थापन गर्न कालिगण्डकी नदीमा आफ् नै संरचना बनाउने र निजी व्यवसायीले राखेको संरचनालाई प्रक्रिया पूरा गरी हटाउने पत्रचार गरिसकेको छ।

त्यस्तै वडाभित्रको सार्वजनिक जग्गामा पार्क तथा व्यायमशाला समेत बनाइने भएको छ। वडाभित्रको अब्यवस्थित संरचना समेत हटाउने गरी वडाले पत्रचार समेत गरेको छ। बढ्दो सहरीकरणसँगै वडाभित्र पार्क र नागरिकलाई स्वस्थ्य बनाउन खुल्ला व्यायमशालाको अवधारणा ल्याएको हो।

बिरेन्द्रचोकरहेको सार्वजनिक स्थान, पिपलको चौतारी, डिभिजन वन कार्यालयले प्रयोग गरिरहेको नर्सरी तथा आसपासका क्षेत्रमा पार्क तथा व्यायमशाला बनाउन आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ। नवनिर्वाचित जनप्रतिनिधिले वडाभित्रको बरपिपलको चौतारी संरक्षणसहितका अभियान सञ्चालन गरेका छन्।

प्रकाशित: १६ भाद्र २०७९ ०८:१० बिहीबार

कपडा बैंक