समाज

सामुदायिक भवन दुई करोड ५० लाखमा निर्माण

ललितपुरको सैबु नख्खुडोल जग्गा एकीकरण आयोजनाको सामुदायिक भवन निर्माण सम्पन्न भएको छ। ललितपुर महानगरपालिका–२५ फुलबारीमा करिब दुई करोड ५० लाखको लागतमा निर्माण गरिएको भवन एक सय ३७ वर्ग वर्गमिटर क्षेत्रफलमा फैलिएको छ।

यहाँ आज आयोजित कार्यक्रममा सहरी विकासमन्त्री मेटमणि चौधरीले भवनको उद्घाटन गर्दै व्यवस्थित बस्ती विकासको लागि सम्बन्धित पक्षले सरकारले निर्धारण गरेको मापदण्डको पालना गर्नुपर्नेमा जोड दिएका छन्। सहरी विकासका लागि जग्गा एकीकरण आयोजनाको खाँचो औँल्याउँदै उनले अन्तर्राष्ट्रिय अभ्यासका आधारमा सहरी क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए। 

मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले आयोजनाका लागि २६ करोड ५० लाख खर्च भएको जानकारी दिए। काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त जानुका ढकालले पूर्वाधारको विकास नगरी जथाभावी बनाइएका संरचना तथा अस्तव्यस्त बस्तीले सहरको सौन्दर्यतामा कमी ल्याउनका साथै स्थानीय जनजीवनमा असहजता हुने विचार व्यक्त गरे।

ललितपुर महानगरपालिका–२५ वडाका वडाध्यक्ष दौलत क्षेत्री, राष्ट्रिय समाचार समितिको अन्तर्राष्ट्रिय समाचार शाखा उपप्रमुख मोहिनी रिसाल, सैवु नख्खुडोल जग्गा एकीकरण आयोजना सहयोग समितिका अध्यक्ष माधव खड्का, स्थानीय समाजसेवी मिनरा दुलाल र रिसभ रिसाललगायतले हाल आयोजना क्षेत्रभित्र पर्ने कित्ता जग्गालाई चाक्लाबन्दी गर्ने कार्य सम्पन्न भइसकेकाले अब चाँडो स्थायी पूर्जा वितरण गर्नुपर्नेमा जोड दिए। 

 कूल प्लट सङ्ख्या ३३१ भएकामा १२५ प्लटको अस्थायी पूर्जा वितरण भइसकेको छ भने २०६ प्लटको पूर्जा वितरण बाँकी छ। आयोजनाभित्र ६ र ८ मिटर चौँडा बाटो रहेकामा करिब ६५ प्रतिशत सडकहरू कालोपत्र तथा ढलान भइसकेको जनाइएको छ।  रासस

प्रकाशित: १४ भाद्र २०७९ १३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App