समाज

नेपालगन्जमा फुटपात हटाउन सडकमा आफैं निस्किए मेयर विष्ट

फुटपात अतिक्रमण खाली गर्न अनुरोध गर्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट लगायत।

नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा फुटपात अतिक्रमण गर्ने क्रम बढेको छ। फुटपात अतिक्रमण बढ्दै जाँदा उपमहानगर क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्न समेत समस्या भएको छ। नेपालगन्ज उपमहानगरपालिकाको सबैभन्दा व्यस्त रहने सदरलाईन, घरबारीटोल, न्युरोड, त्रिवेणी मोड, त्रिभुवन चोक, धम्बोझी, कारकाँदो, फुलटेक्रा, भेरी अस्पताल रोड लगायत स्थानमा फुटपात अतिक्रमण बढेको हो।  

व्यापारीले फुटपातमा अतिक्रमण गरेर बिक्रीका लागि सामान राख्ने गरेका छन्। ‘जताततै व्यापारीले फुटपात अतिक्रमण गरेका छन्, हटाउन खोज्दा उल्टै प्रतिवाद गर्न खोज्छन्’, उपमहानगरपालिकाका एक कर्मचारीले भने। फुटपात अतिक्रमण खाली गराउन उपमहानगरका जनप्रतिनिधी समेत अन्यौलमा परेका छन्। त्यसका लागि सर्बपक्षिय र सर्वपक्षिय सहमतीको पर्खाइमा जनप्रतिनिधी देखिन्छन्।  

अतिक्रमणमा परेका फुटपात खाली गराउने उपमहानगरपालिकाको पटक पटकको प्रयास असफल भइरहेको छ। उपमहानगरपालिकाले अहिले पुनः फुटपात खाली गराउन कस्सिएको छ। फुटपातसँगै ठेला, अटोरिक्सा ब्यवस्थापनको कामलाई पनि अगाडी लैजाने उपमहानगरपालिकाको योजना रहेको छ। उपमहानगरका विभिन्न स्थानमा फुटपात लगायत अतिक्रमणमा परेका क्षेत्र खाली गराउनुभन्दा पहिले सार्वजनिक सूचना दिन लागिएको मेयर (नगर प्रमुख) प्रशान्त विष्ट बताउँछन्।

फुटपात खाली गराउन सडकमा निस्किए मेयर विष्ट

फुटपात लगायत अतिक्रमित क्षेत्र खाली गराउन मेयर विष्ट आफैं सडकमा निस्केका छन्। फुटपात अतिक्रमण नियन्त्रण, ठेला र अटोरिक्सा व्यवस्थापनका विषयमा उनले व्यवसायीका प्रतिनिधी, प्रहरी, ट्राफिक प्रहरी, सञ्चारकर्मी लगायत सरोकारवालासँग छलफल तथा परामर्श समेत लिएका थिए। लगत्तै मेयर विष्ट सडकमा निस्के र व्यापारीलाई दुई हात जोड्दै फुटपात खाली गराउन अनुरोध गरे।

नगर प्रमुख विष्टसहित वडा नम्बर ८ का वडाअध्यक्ष रजनीश वाजपेयी, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, महासचिव चिरञ्जिवी ओली, जिल्ला ट्राफिक प्रहरी प्रमुख हिमालय शाह, वडा प्रहरी प्रमुख रिपेन्द्र कुमार सिंह लगायत निस्केका थिए।  

नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालयबाट सुरु भएको फुटपात अतिक्रमण नियन्त्रण अभियान त्रिभुवन चोक, सदरलाईन, त्रिवेणी मोड हुदै करिव दुई सय मिटर पुर्वसम्म पुगेर पुनः फर्केको थियो। सो क्रममा अधिकांस व्यापारीले फुटपात खाली गर्ने प्रतिवद्धता ब्यक्त गरे। फुटपात अतिक्रमण नियन्त्रण अभियान थालेकोमा सडकमा हिड्ने सर्वसाधारण नागरिकले मेयर विष्टले थालेको उक्त अभियानको खुलेरै प्रशंसा समेत गरेका थिए।

स्थलगत अनुगमन गरिसकेपछि मेयर विष्टले सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै ७ दिनसम्म सम्झाई बुझाई गरिसकेपछि पनि अटेरी गरेपछि कानुनी कारबाही गरिने बताए। ‘सडक पेटीमा हिडडुल गर्ने अधिकार सबैलाई छ, त्यसकारण सडक पेटीलाई खाली गरिदिन म अनुरोध गर्दछु,’ उनले भने ‘साथीहरुले खाली गर्नुहुन्छ भन्ने मेरो विश्वास छ, ७ दिन भित्र सम्झाउने बुझाउने काम गर्छौ, सडक पेटी अतिक्रमण गरेर जुन सिंढी बनाइएको छ, त्यसलाई हामी ७ दिनभित्र खाली गराउँछौं।’  

यस्तै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष मन्सुरीले आफूहरुले सबै व्यापारीलाई सडक पेटी खाली गर्न आब्हान गरेको बताए। ‘व्यापारी कहाँ गएर हामीले सडक पेटी खाली गर्न अनुरोध गरेका छौं, कोही व्यवसायीले अटेरी गर्छ भने उपमहानगरपालिकाले दण्ड र जरिवाना लगाउँछ,’ उनले भने ‘हामीले पसलमै गएर सम्झाएका छौँ भोली नगरपालिकाले सामान उठायो भने हामी जवाफदेही हुने छैनाँै।’

 

 

 

तस्बिर ः अर्जुन ओली÷नागरिक  

 

प्रकाशित: १३ भाद्र २०७९ १०:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App