समाज

प्याड लिन विद्यालयमा मेसिन जडान

सेनेटरी प्याड(भेन्डिङ्ग) मेसिन जडान र स्मार्ट कार्ड बितरणमा गाँउपालिका उपाध्यक्ष पार्वति सिंह (संंज्याल)

जिल्लाको सान्नीत्रिवेणी गाँउपालिका–६ को पंचदेवल माध्यामिक विद्यालयमा सेनेटरी प्याड(भेन्डिङ्ग) मेसिन जडान गरिएको छ।

महिनावारी भएको बेला विद्यालयका छात्राहरु तथा शिक्षिकालाई सजिलो होस भन्ने उद्देश्यले सान्नी त्रिवेणी गाँउपालिकाले किशोरीसँग उपाध्यक्ष कार्यक्रम मार्फत पंचदेवल माध्यामिक विद्यालयमा पहिलो पटक सेनेटरी प्याड (भेन्डिङ्ग) मेसिन जडान र छात्राहरुलाई स्मार्ट कार्ड दिएको हो।

गाँउपालिका उपाध्यक्ष पार्वति सिंह (संज्याल)ले ‘छोरी पढाऔँ,छोरीलाई अगाडी बढाऔँ’,भन्ने नाराका साथ पालिकाका सात वटा माध्यामिक विद्यालयहरुमा १७ लाख ५० हजारको सेनेटरी प्याड (भेन्डिङ्ग) मेसिन जडान गरेको बताइन्। 

उनले भनिन् ‘पंचदेवल माध्यामिक विद्यालयमा राखेको मेसिनले किशोरीहरुलाई प्याड लिन निकै सहज बनायो। त्यसैले सबै विद्यालयमा यो मेशिन राख्न खरिद गरेर पालिकामा पुगिसकेको छ। अब बाँकी ६ वटा माध्यामिक विद्यालयहरुमा पनि जडान गर्छौँ। सेनेटरी प्याड प्रयोग गर्ने छात्राले मेसिनमा स्मार्ट कार्ड राखेमा सेनेटरी प्याड उपलब्ध हुन्छ।’

सेनेटरी प्याड मेसिन जडान भएपछि महिनावारी भएको बेला स्कुल छाड्नपर्ने किशोरीहरूको बाध्यता हट्ने विद्यायलय व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर ऐडिले बताए । सेनेटरी प्याड नपाउदा छात्राहरूले विद्यालय छोड्नुपर्ने बाध्यता थियो। अब त्यो बाध्यता हटेको छ। उनले भने ‘यसले छात्राहरू नियमित विद्यालय आउनुको साथै शैक्षिक सुधारमा राम्रो वातावरण बन्ने मैले विश्वास गरेको छु।’

सेनेटरी प्याडको व्यवस्था नहुनु,उचित शौचालयको व्यवस्था नहुनुले छात्राहरू महिनावारी भएका बेला अनुपस्थित हुने गरेको विद्यालयका शिक्षक भावना शाहीले बताइन्। उनले भनिन् ‘हाम्रो विद्यालयमा सेनेटरी प्याड व्यवस्थापन गर्ने सुविधासहितको अलगै छात्रा शौचालय पनि छ। सेनेटरी प्याड मेसिन पनि हामीले जडान गरिसकेका छौं। यसले छात्राहरू नियमित रुपमा आउन सहयोग हुनेछ। शिक्षा र स्वास्थ्यको सिकाइ स्तरमा पनि वृद्धि हुने अपेक्षा गरेका छौँ।’

मेसिन जडानसँगै छात्राहरूलाई स्मार्ट कार्ड पनि वितरण गरिएको छ। कालिकोटमा पहिलोपटक सेनेटरी प्याड (भेन्डिङ्ग) मेसिन जडान गरिएको हो। विद्यालयमा सेनेटरी प्याड मेसिन जडान भएपछि छात्राहरू पनि खुसी भएका छन्।

‘मेसिन जडानले हाम्रो महिनावारीलाई सहज बनाउनेछ। महिनावारी हुँदा विद्यालयबाट भाग्नुपर्ने अवस्थाको अन्त्य भएको छ।’ कक्षा १० की छात्रा सरिता संज्यालले भनिन् ‘यो सुविधा सबै पालिकामा  पुगे राम्रो हुन्थ्यो।’ 

प्रकाशित: १२ भाद्र २०७९ ०२:५८ आइतबार

निःशुल्क सेनिटरी प्याड विद्यालय