समाज

कोरोला–त्रिवेणी सडक बनाउने ठेकेदारप्रति मुख्यमन्त्रीकै गुनासो

कोरोला–त्रिवेणी सडक गण्डकी प्रदेशकै लाइफलाइन रहेपनि ठेकेदारको लापरवाहीका कारण म्याग्दी र मुस्ताङ खण्डको काममा ढिलासुस्ती भएको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असन्तोष जनाएका छन्।  

सडकको काम ढिला भएकोमा प्रदेश सरकारको ध्यानाकर्षण भएको मुख्यमन्त्री पोखरेलले बताए। यही सडककै दुम्कीवास–त्रिवेणी खण्डको सडकमा ट्याक खुलाउन चितवन राष्ट्रिय निकुन्जको अवरोध बनेको पनि उनको गुनासो छ। उत्तरतर्फको नाका सञ्चालनका लागि प्रदेशले संघ सरकारलाई ध्यानाकर्षण गर्दै आइरहेको उनले बताए। २०७४ देखि यो सडक बिस्तारको काम भईरहेको छ । त्यसमध्ये पनि बेनी–जोमसोमको म्याग्दी खण्डमा नदी कटान र पहिरोको समस्या बढी छ। बेनीदेखि कोरोलासम्म मात्र सडकको १८६ किलोमिटर दूरी छ।  

मुस्ताङबाट निर्वाचित जनप्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, अन्य संघ संस्थाका प्रमुखसँगको अन्तक्रियाका क्रममा पोखरेल सडकलाई गति दिलाउन प्रदेश सरकार तत्पर रहेको बताए। सिमित स्रोत, साधन र जनशक्ति भए पनि बाटोघाटो, पुलपुलेसा निर्माण, उज्यालो प्रदेश कार्यक्रमदेखि एकघर एक धाराजस्ता नमुना कार्यक्रमहरु सञ्चालन गरी अधिकांशलाई सफल बनाएको पनि अन्तरक्रियाका क्रममा उनले बताए।  

‘झट्ट हेर्दा प्रदेशले के काम ग¥यो भन्नेजस्तो लाग्न सक्छ, संघीयतालाई संस्थागत बनाउन जगदेखि नै काम थाल्नु कम चुनौतीपूर्ण थिएन, तैपनि हामीले सक्दो काम गरेका छौ,’ उनले भने, ‘पूर्वाधार मात्र नभएर सामाजिक क्षेत्रमा समेत प्रदेश सरकारले उल्लेखनीय काम भएका छन।’  

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले प्रदेशले आफ्नो क्षमता अनुसार प्रहरीलाई स्रोत–साधन सम्पन्न गराउनका लागि प्रयत्नरत रहेको भनाइ राखे। विपद व्यस्थापनका क्षेत्रमा समेत प्रदेशले सक्दो काम गर्दै आएको उनले बताए।  

कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले गण्डकीका ५ जिल्लामा कार्यक्षेत्र बनाएर काम गर्दै आएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) र स्थानीय तहबीच नीतिगत विषयहरु बाझिएको भन्दै यो अवस्थाको अन्त्य हुनुपर्ने बताए। त्यसबाहेक पोखरा–मुस्ताङ हवाई उडानमा समस्या भएको भन्दै त्यसबारेमा पनि ध्यानाकर्षण गराएका थिए।  

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद ढकालले कालीगण्डकीको कटान, बाढीपहिरो, आगलागी र बेनी जोमसोम खण्डको काम पूरा नहुनुजस्ता समस्याले मुस्ताङवासी आक्रान्त भएको बताए। कर्मचारीको अभाव, सुरक्षाकर्मीको अभावले योजनाहरु समयमै सम्पन्न हुन नसक्ने अवस्था रहेको सहायक प्रजिअ ढकालले बताए।

प्रकाशित: १० भाद्र २०७९ ११:१२ शुक्रबार

कोरोला–त्रिवेणी सडक