समाज

क्षेत्रीय सभापति बस्नेतमाथि हातपात

सांकेतिक तस्बिर

निर्वाचनको विषयमा विवाद हुँदा क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति विनोद बस्नेतमाथि हातपात भएको छ। बस्नेत नेपाली काँग्रेसको क्षेत्रीय सभापति तथा विराटनगर–३ का निवर्तामान वडाध्यक्षसमेत हुन्।

वैशाखमा सम्पन्न भइसकेको स्थानीय तह निर्वाचनमा ३ नम्बर वडाध्यक्षको टिकट आफूले पाउनु पर्ने तर अन्य व्यक्तिलाई टिकट दिएको रिस र आगामी निर्वाचनको प्रदेश निर्वाचनको समानुपातिकतर्फ नाम माथिल्लो कमिटीमा सिफारिस नगरेको आरोप लगाउँदै बस्नेतलाई कुटपिट गरिएको हो।  

विराटनगर–३ स्थित जिल्ला वन कार्यालय तथा बस्नेतकै घर नजिकको चिया पसलमा कार्यकर्ताले हातपात गरेका हुन्। मसिंर ४ गतेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर ४ ‘ख’ बाट समानुपातिक सूचीमा पूर्व वडाध्यक्षसमेत रहेका राजु थापाले आफ्नो नाम सिफारिस गर्न भनेका थिए। स्थानीय तहको निर्वाचनमा टिकट नदिएको भन्दै असन्तुष्ट रहेका थापाले समानुपातिकमा आफ्नो नाम सिफारिस गर्न भन्दा बस्नेतले प्रक्रियागत रुपमा आउनुपर्ने बताएपछि विवाद सुरु भएको थियो। विवाद बढ्दै गएपछि दुवै पक्षबीच हातपात भयो।    

निर्वाचनको विषयमा विवाद भएपछि सामान्य हात हालाहाल मात्रै भएको हो त्यस्तो ठूलो विवाद नभएको बताउँदै, थापाले भने, ‘क्षेत्र नम्बर ४ को ‘ख’ बाट समानुपातिक सूचीमा आफ्नो नाम सिफारिस गर्न आग्रह गर्दा बस्नेतले मानेन्।’ चिया पसलमा सामान्य विवाद भएको स्वीकार गर्दै, क्षेत्रीय सभापति बस्नेतले भने, ‘समानुपातिक सूचीमा नाम सिफारिस गर्नु भनेपछि आफूले प्रदेश निर्वाचन क्षेत्रबाट सिफारिस आउनुपर्ने जवाफ दिएपछि विवाद भयो।’ 

प्रकाशित: ९ भाद्र २०७९ १५:०५ बिहीबार