समाज

अनधिकृत संरचना भत्काउँदै महानगर

काठमाडौं महानगरपालिकाले ‘पार्किङका लागि बनाइएका संरचना पार्किङका लागि नै प्रयोग गर्न’ गरेको आग्रह अटेर गरेको भन्दै त्यस्ता संरचना भत्काउने अभियानलाई तीव्रता दिएको छ। अण्डरग्राउण्डमा रहेका पसल हटाउन र त्यो ठाउँमा पार्किङको व्यवस्था गर्न निकालिएको ३५ दिने सूचना कार्यान्वयन नभएपछि सोमबारबाट कारबाही सुरु गरेको महागनरले बुधबार अभियानलाई थप तीव्रता दिएको हो।  

बुधबार बिहान महानगरले सुन्धारास्थित काठमाडौं मल र खिचापोखरीको आरबी कम्प्लेक्समा रहेका अनधिकृत संरचना भत्काएको छ। त्यस्तै मेयर साहसहितको टोलीले सहरका अन्य भागमा पनि अनुगमन गरिरहेको महानगरले जनाएको छ। काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह बुधबार नै दरबारमार्गमा पुगी त्यहाँ रहेको मात्सुरी टोक्यो क्याफे र लन्डन पबको सामान हटाउन निर्देशन दिएका छन्। त्यस्तै साहले बिहीबारसम्ममा यस क्षेत्रका अनधिकृत संरचनामा रहेका सामान हटाउन व्यापारीलाई निर्देशन दिए। मेयरको टोलीमा नेपाल प्रहरी र ट्राफिक प्रहरी, महानगर प्रहरी संयुक्तरूपमा खटिएका छन्।  

यसैबीच, मेयर साहले काठमाडौं जिल्ला अदालतले पनि नक्सा पास नगरी संरचना बनाएको पाइएमा भत्काउने बताएका छन्। कानुन सबैलाई बराबारी लाग्ने भन्दै उनले यसमा भेदभाव नहुने बताए। ‘हामीले जिल्ला अदालतलाई समय दिएका छौं। जिल्ला अदालतको नक्सा पास छैन भने त्यहाँ पनि त्यही नियम लागु हुनेछ,’ उनले भने, ‘नियममा सानो ठूलो हुँदैन।’  

काठमाडौं महानगरपालिका प्रवक्त नवीन मानन्धरले अदालतलाई केही दिन अगाडि नै जानकारी दिइसकेको बताए। ‘हामीले भत्काउनुअघि सरोकारवालालाई जानकारी गराउने गरेका छांै,’ मानन्धरले भने, ‘सूचनालाई अटेर गरेका कारण महानगरले थप कडाइ गर्नु परेको हो।’ जिल्ला अदालत काठमाडौंले पनि महानगरबाट पार्किङको विषयमा जानकारी माग भएको जनाएको छ।  

काठमाडौं महानगरपालिकाले पार्किङका लागि बनाइएका संरचना पार्किङमा नै प्रयोग गर्न बारम्बार आग्रह गरेको छ। सहरमा पार्किङ समस्याको वास्तविकता पहिचान हुने र सडकमा पार्किङ गर्नुपर्ने वाध्यता कम हुने महानगरले जनाएको छ। काठमाडौं महानगरपालिकाले नक्सा पासविना अवैध रूपमा बनाइएको संरचना भत्काएपछि स्थानीय व्यापारी भने आक्रोशित भएका छन्। दसैंको मुखमा आएर ‘कमाइ खाने भाँडो’ छिनेको भन्दै उनीहरूले आक्रोश पोखेका हुन्।

‘हामीलाई कम्तीमा दसैंसम्मको समय दिएको भए हुन्थ्यो,’ नयाँ बानेश्वरकी रिता थापाले भनिन्, ‘तर अहिले हामीलाई जबरजस्ती हटाउन थालिएको छ।’ आफूले भाडामा पसल थापेको भन्दै घरधनीको समस्या अहिले एक्कासि आफूले झेल्नुपरेको उनले बताइन्। महानगरले अवैध संरचना भत्काउने काम स्वागतयोग्य भए पनि मानवताको हिसाबले व्यापारीलाई केही समय दिनुपर्ने उनीजस्तै कतिपयको धारणा छ।  

प्रवक्ता मानन्धर भने महानगर एक्सनमा उत्रिसकेको बताउँदै व्यापारीलाई सहयोग गर्न आग्रह गरेका छन्। ‘दसैको लागि भनेर यो ‘एक्सन’ रोकिन्न,’ उनले भने, ‘बरु अहिले नै दसैको लागि नयाँ ठाउँको व्यवस्था गर्दा राम्रो हुन्छ।’  

मेयर बालेन्द्र साहले गैरकानुनी संरचना बनाएर भाडामा लगाउने व्यक्ति नै दोषी भएको बताएका छन्। ‘जसले गैरकानुनी संरचनामा भाडामा लगायो क्षतिपूर्ति उसले दिनुपर्छ,’ धरधनीप्रति संकेत गर्दै साहले भने, ‘किनकी दोष घरधनीको हो।’ उनले अवैध तरिकाले बनाएका साना वा ठूला सबै संरचनाका भत्काउने बताएका छन्।  

महानगरको कामको सामाजिक सन्जालमा निकै प्रतिक्रिया आएको छ। कसैले केही समय दिनुपर्ने बताएका छन् भने कसैले विकासका लागि भएको काम भन्दै तारिफ गरेका छन्। ‘कम्तीमा ३ महिनाको समय दिनु्पथ्र्याे, सर्वसाधारणको लाखौं लगानी भएको छ,’ सामाजिक सञ्जालमा दीपेन्द्र अंशुमाली लेख्छन्, ‘त्यो महलको त के जान्छ र ? जाने त केही गरीखाउँ भन्ने मान्छेको नै हो।’  

अंशुमालीको धारणाभन्दा फरक सामाजिक सञ्जालमा कुंगाले लेखेका छन्, ‘धेरै राम्रो काम सुरु भएको छ, भविष्यमा जनतालाई धेरै फाइदा हुने छ। सबैले साथ सहयोग गरौं।’ त्यस्तै कतिपयले साहको कदमको स्वागत गर्दै नेपालमा हुने भ्रष्टाचार र गुण्डाराज सबैमा यसैगरी बुल्डोजर चलाउनुपर्ने बताएका छन्। सोमबार संरचना भत्काउनुअगाडि बालेन साहले कारबाहीभन्दा पनि महानगरप्रतिको जिम्मेवारीले पनि आफू सचेत बनिदिनु हुनेछ भन्ने विश्वास व्यक्त गरेका थिए। उनले अन्डरग्राउण्ड पार्किङलाई अरू प्रयोजनमा नलगाउन भनेर निकालिएको ३५ दिने सूचनाको म्याद सकिएको बताउँदै बानेश्वर क्षेत्रबाट कारबाही सुरु गरेको जानकारी गराएका थिए।

‘हामी अनुरोध गर्दछौं कि पार्किङका लागि बनाइएका संरचना पार्किङमा नै प्रयोग गरिदिनुहोला,’ साहले सोमबार सामाजिक सञ्जालमा लेखेका थिए, ‘ कृपया, कारबाहीभन्दा पनि महानगरप्रतिको जिम्मेवारीले पनि आफू सचेत बनिदिनु हुनेछ भन्ने विश्वास गर्दछौं।

प्रकाशित: ९ भाद्र २०७९ ०१:५३ बिहीबार

काठमाडौं महानगरपालिका