समाज

विराटनगरमा दुई समूहबीच कुटाकुट, १० जना घाइते

विराटनगर-१२ मा  २ समूहबीच कुटाकुट हुँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले  जनाएको  छ।  

गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच पुरानो रिसइबीलाई लिएर दोहोरो झडप भएको मोरङ प्रहरीले जनाएको छ।  

झडपमा गम्भीर घाइते भएका राजकुमारको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसी दीपक श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार अन्य घाइतेको कोसी अस्पतालमा उपचार भइरहेको छ। दोहोरो कुटाकुटमा राजवंशीतर्फका अजय राजवंशी, सञ्जीव राजवंशी, मन्जित राजवंशी, गणेश राजवंशी र धनपथ राजवंशी घाइते भएका छन्। कामततर्फका राजकुमारसहित दिनेश कामत, राजु कामत, सञ्जय कामत र काली कामत घाइते भएको प्रहरीले जनाएको छ।  

स्थानीय जितनारायण राजवंशी र राजीव राजवंशी बजारबाट घरतर्फ फर्कंदै गर्दा मंगलबार साँझ राजकुमार कामतको घरअगाडि पुगेपछि दुई पक्षबीच विवाद भएको थियो। घटना थाहा पाउनेबित्तिकै पुगेको प्रहरीले दुवै पक्षलाई सम्झाएर पठाए पनि पछि उनीहरू बीच झडप भएको प्रहरीले जनाएको छ।  

केहीदिनअघि दिनेश कामतले चलाएको मोटरसाइकलले एक बालकलाई ठक्कर दिएको थियो। त्यस समयमा दिनेशमाथि कुटपिट भएको थियो। दुर्घटनाका विषयमा प्रहरीमा मिलापत्र भइसकेको थियो।  

दुर्घटनाको विषयलाई लिएर विवाद बढेपछी  दोहोरो झडपमा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। झडपमा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ भाद्र २०७९ ०५:५० बुधबार

विराटनगरमा दुई समूहबीच कुटाकुट