समाज

अब फुङलिङका होटलमा क्याबिन राख्न नपाइने,भएका क्याबिन पनि हटाउनुपर्ने

अब ताप्लेजुङको फुङलिङ नगरपालिका भित्र सञ्चालनमा रहका होटलहरुमा क्याबिन राख्न नपाइने भएको छ। प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको अध्यक्षतामा मंगलबार बसेको सुरक्षा निकायका प्रमुख र होटल व्यवसायीका प्रतिनिधि सहितको सरोकारवारवालाको बैठकले अब क्याबिन नराख्ने र भएका क्याबिनलाई तत्काल  हटाउने निर्णय गरेको छ।  

मंगलबारको बैठकमा सबैभन्दा बढी फुङलिङ नगरपालिका वडा नं ७ कफी हाउस लाइन क्षेत्रका होटल व्यवसाय लक्षित छलफल भएको थियो। बैठकले मदिराको बिक्रीवितरण गर्न अनुमति नलिई सञ्चालनमा रहेका होटल व्यवसायीहरुलाई सम्बन्धित निकायबाट अनुमति लिई सञ्चालन हुन ७ दिनको समयसीमा(अल्टिमेटम) दिएको छ। समयसीमा भित्र अनुमति नलिए मदिराजन्य पदार्थको बिक्रीवितरण गर्न नपाइने समेत निर्णय भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए।  

बैठकले (नाबालक)बालबालिकाहरुलाई मदिराजन्य पदार्थको बिक्री वितरणमा प्रयोग नगर्ने नगराउने निर्णय समेत लिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख(डिएसपी) कैलाश राईले सुरक्षा सम्बेदनशिलतालाई ध्यानमा राख्दै उक्त निर्णय लिईएको र निर्णय कार्यान्वयनमा सम्बन्धित सबै पक्षले संवेदनशील हुने विश्वास लिए।

प्रकाशित: ७ भाद्र २०७९ ११:५२ मंगलबार

ताप्लेजुङको फुङलिङ नगरपालिका