समाज

भिर र धानखेतका बीचमा पक्की पुल

मन्त्रीको प्रभावले विकासको दुर्दशा

गोरखा–१२ र पालुङटार–९ जोड्ने पक्की पुल। तस्बिर: नरहरि/नागरिक

गोरखा जिल्लाको पालुङटार नगरपालिका–९ धर्मोदय माविका विद्यार्थी खारखोलामा पुल नहुँदा एक महिना हेलिँदै विद्यालय आउजाउ गर्न बाध्य भए। वर्षौंदेखि बर्खायामको यो समस्या देखे पनि पक्की पुल निर्माणमा सरोकारवाला कसैले चासो दिएका छैनन्। नगरपालिकाको पहलमा अहिले पाइप राखेर विद्यार्थीलाई विद्यालय आउजाउ गर्न अस्थायी बाटो बनाइएको छ। ठुलो पानी परेर खोला उर्लियो भने त्यो पनि बगाउने खतरा छ।

पक्की पुल नहुँदाको सास्ती एकातिर छ भने गोरखाकै दरौंदी नदीमाथि सडक नै नभएका ठाउँमा दुईवटा पक्की पुल बनेका छन्। गोरखा नगरपालिका–३ र सिरानचोक गाउँपालिका–५ जोड्नेगरी बनाइएको एउटा पक्की पुलको गोरखातर्फ भिर छ भने सिरानचोकतर्फ धानखेत छ। यस्तै गोरखा–१२ र पालुङटार–९ जोड्ने गरी बनाइएको अर्को पक्की पुलसँग पनि सडक जोडिएको छैन। पालुङटारतर्फ ६ सय मिटर सडक खोल्न बाँकी छ। त्यतातिर खेतमा धान हरियो भइसकेको छ।  

गोरखा–३ र सिरानचोक–५ जोड्नेगरी सडक नै नभएको ठाउँमा पुल निर्माण भएको भन्दै स्थानीय आश्चर्यमा परेका छन्। पुल निर्माणका क्रममा दरौंदी नदीको तिरैतिर निर्माण सामग्री ढुवानी गरिएको थियो। खारखोलाका विद्यार्थी पुल नहुँदा दैनिक हेलिएर स्कुल जानुपर्ने र सडक नै नभएको ठाउँमा पुल निर्माण भएको विषयले अहिले सामाजिक सञ्जालसमेत तातेको छ। ५ करोड ३९ लाख ८० हजारको लागतमा तत्कालीन गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतको पहलमा उक्त पुल निर्माण सुरु भएको हो। मन्त्री बस्नेतको गाउँ गोरखा–३ नारेश्वर हो। ‘पहिले सडक बनाउनुपथ्र्यो। अहिले पुल बनिसकेको अवस्थामा सडक लैजान जग्गाधनीले खेत नदिने भनेका छन्, अब कसरी बन्छ बाटो ?’ स्थानीय सीताराम सुनारले भने। स्थानीयसँगको छलफलबिना मन्त्रीले आफ्नो ठाउँ जाने बाटो पारेर पुल बनाएको गुनासो स्थानीयको छ।

५० मिटर लामो उक्त पुल निर्माण अन्तिम चरणमा पुगेको छ। एचटिसी, गोसाइँकुण्ड, आइएस निर्माण जेभीले २०७७ जेठ १३ गते पुल निर्माणका लागि सम्झौता गरेको हो। २०७९ जेठभित्र सम्पन्न गर्नुपर्ने पुल निर्माण अझै बाँकी रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख ओमराज ढुंगानाले बताए। पुलको दुवैतर्फ कच्ची सडकको ट्र्याकसमेत छैन। सडक नभएको ठाउँमा बनाइएको पुल अर्थहीन भएको, पहुँचका आधारमा बजेट हालिएको आरोप स्थानीयले लगाएका छन्। सरकारी सम्पत्ति खेर गएको स्थानीय गणेशकुमार नगरकोटी बताउँछन्।  

पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख ओमराज ढुंगानाले गोरखातर्फ २ सय मिटर र सिरानचोकतर्फ १ सय मिटर सडक ट्र्याक खोलेसँगै सडकले पुल जोडिने बताए। ‘बर्खामा यो बाटो चल्न सम्भव छैन, हिउँदमा भने चल्छ, यसले गोरखा बजारसम्म आउने सडक ६ किलोमिटर  

छोट्याउनेछ,’ उनले भने, ‘पुल बनेपछि स्थानीय किसानलाई पनि थप सजिलो हुनेछ।’ पुलछेउमा जग्गा भएकालाई मुआब्जा दिने नीति नहुँदा सडकले पुल जोड्न समस्या भएको उनले बताए। ‘मुआब्जा दिने प्रावधान भएको भए पुलसम्म सडकको समस्या हुँदैनथ्यो, स्थानीयले मुआब्जाको माग गरेका छन्,’ ढुंगानाले भने।  

यसैगरी दरौंदी नदीमाथिको गोरखा–१२ र पालुङटार–९ जोड्नेगरी बनेको पुललाई पनि सडकले जोडेको छैन। पालुङटारतर्फ ६ सय मिटर खेतमा बाटो ल्याउन स्थानीय राजी छैनन्। बाटोको योजनाबिना साढे ४ करोडको पुल निर्माण अन्तिम चरणमा पुगेको छ। बिर्दीबाट आएको सडक पुल हुँदै दसकिलो जोड्ने योजना रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख ओमराज ढुंगाना बताउँछन्। त्यो पुल ८० मिटर लामो छ। ‘किसानको सिम खेत छ, त्यहाँ बाटो ल्याउने विषयमा सहमति भएको छैन, पुल निर्माणको काम भने करिब ९० प्रतिशत सकियो,’ उनले भने, ‘केही थप कामका लागि मन्त्रालयमा पत्राचार गरेका छौं।’

यो पुल निर्माणको जिम्मा इलाइट एडभेन्चर धनथान जेभीले लिएको हो। २०७३÷७४ देखि सुरु भएको पुल निर्माण स्टिमेट बदल्नुपरेपछि दुई वर्ष ढिला गरी सुरु भएको थियो। पुल निर्माण अन्तिम चरणमा रहेको कम्पनी सञ्चालक प्रकाशराज पौडेलले बताए। ८० मिटर लम्बाइको उक्त पुलले पालुङटारतर्फ पुरै खोला पार गरेको छैन। खोलाभन्दा पुल छोटो देखिन्छ। ‘दुवैतर्फ बाटो खुलेको भए सजिलो हुन्थ्यो, एकातर्फ बाटो नै छैन,’ उनले भने। यी दुवै पुल निर्माणको अन्तिम चरणमा रहेको तर सडक निकास नहुँदा राज्यको लगानी प्रयोगहीन हुने खतरा बढेको छ।  

प्रकाशित: ६ भाद्र २०७९ ०१:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App