समाज

गौर कारागारमा प्रदेशका गृहमन्त्री र नगर प्रमुखको संयुक्त अनुगमन

रौतहटको सदरमुकाम गौरमा जीर्ण अवस्थामा रहेको जिल्ला कारागारको मधेस प्रदेशका गृहमन्त्री भरत साह र गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले संयुक्त रुपमा अनुगमन गरेका छन्।  

कारागारको क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेको, कारागार भवन जीर्ण भइसकेको र कारागारमा रहेका सुविधाहरुको अवस्था अत्यन्त कमजोर रहेको गुनासो आएपछि नगर प्रमुख साहको आग्रहमा प्रदेश गृहमन्त्री साहले संयुक्त अनुगमन गरेका हुन्।  

कारागारको कम्पाउन्डमा भरपर्दो सुरक्षा गेट नभएको, कैदीबन्दीका आफन्तहरुलाई चेकजाँच गर्ने स्थानको अभाव रहेको, पर्याप्त सेन्ट्री पोस्टको अभाव रहेको, रात्री डिउटीका सुरक्षाकर्मीलाई आवासको व्यवस्था नभएको तथा सुरक्षा चुनौती बढेको अनुगमनको क्रममा देखिएको छ।

कल्पनाभन्दा पनि कमजोर व्यवस्था कारागारको रहेको संयुक्त अनुगमनमा देखिएपछि नगर प्रमुख साहले प्रदेशका गृहमन्त्री साहलाई कारागार भवनको विस्तारसहित नयाँ कारागार भवनको निर्माण गर्नुपर्ने र कारागारको व्यवस्थापनका अन्य पक्षमा सुधार गरी मानवीय सेवा उपलब्ध हुने वातावरण बनाउनको लागि पहल गरिदिनका लागि आग्रह गरेका छन्।

अनुगमनको क्रममा प्रदेश गृहमन्त्री तथा नगर प्रमुखले कैदीबन्दीसित पनि समस्याहरु सुनेका छन्। नगर प्रमुख साहले न्युनतम मानवीय सुविधा उपलब्ध गराउने वातावरण बनाइदिनका लागि प्रदेश गृहमन्त्री साहसित विशेष जोड दिएका छन्।

प्रकाशित: ५ भाद्र २०७९ १२:३४ आइतबार