समाज

श्रीकृष्ण लीला: कृष्णदान महोत्सव

भगवान् श्रीकृष्णका विभिन्न किसिमका लीलाहरूको स्मरण स्वरूप हरेक वर्ष कृष्णाष्टमीका दिन देशैभरि विभिन्न कार्यक्रमहरू गरेर श्रीकृष्णको जन्मोत्सव मनाउने गरिन्छ। श्रीकृष्ण जन्मेको दिन भएकाले पनि देशैभरि रातभर जाग्राम बसेर भक्तजनहरूले भाद्रकृष्ण अष्टमीका दिन श्रीकृष्ण जन्माष्टमी मनाउने गर्छन्।

काठमाडौंको असन, भोटाहिटीलगायत विभिन्न टोलमा श्रीकृष्णका फोटाहरू प्रदर्शन गरेर भजन गाउने र श्रीकृष्णको पूजा गर्ने गर्छन्। बटुवा र त्यहाँ फोटा हेर्न आउने सबैलाई श्रीकृष्ण भगवान्को पूजा गरिएको टीका लगाइदिएर प्रसाद वितरण गरिन्छ।

उपत्यकाका विभिन्न गाउँहरूमा पनि श्रीकृष्णको जन्मोत्सव व्यापक रूपमा मनाउँदै भजनकीर्तन गर्ने चलन छ। उपत्यकाका विभिन्न स्थानमा श्रीकृष्णको खट जात्रा गर्ने र झाँकी पनि प्रदर्शन गरिन्छ। यो समयमा काठमाडौंमा भएका विभिन्न धार्मिक संघसंस्थाहरूले पनि विभिन्न कार्यक्रमहरू गरेर श्रीकृष्ण जन्माष्टमी व्यापक रूपमा मनाउने गरिन्छ।

यसरी श्रीकृष्ण जन्माष्टमी मनाउने सन्दर्भमा कृष्ण प्रणामी इस्कोन बुढानीलकण्ठ, ब्रह्मकुमारी राजसेवा केन्द्र ठमेल, रामकृष्ण वेदान्त समाज ललितपुर, कष्णसेवा केन्द्र इमाडोल, देशैभरि रहेका श्रीकृष्ण प्रणामी संस्थाहरूलगायत साइबाबा केन्द्र नक्साल, नारायण चौर र विभिन्न स्थानमा श्रीकृष्णको खट जात्रा गरी कष्णको झाँकी बनाएर नगर परिक्रमा गराइन्छ।

विश्वसामु नै आकर्षक भइरहेको कृष्ण मन्दिरमा कृष्ण जन्माष्टमीका दिन रातभरि जाग्राम बसेर पूजापाठ र भजनकीर्तन गरिन्छ। राष्ट्रप्रमुख पनि कृष्ण मन्दिरमा दर्शन गर्न आउँछन् भने हुलमुल हुने गरी भक्तजनहरूको दिनभरि नै भीड भइरहेको हुन्छ।

श्रीकृष्णका विभिन्न लीला प्रदर्शन गर्ने सन्दर्भमा कतैकतै त श्रीकृष्ण लीलाको नाटक र झाँकी पनि प्रदर्शन गरिन्छ। श्रीकृष्णका विभिन्न लीलामध्ये यहाँ एउटा सानो लीला कृष्ण दान महोत्सव प्रस्तुत गर्ने प्रयास गरेको छु।

भगवान् श्रीकृष्ण द्वारका धाममा आफ्ना सबै रानीहरूसँग आनन्दपूर्वक सुख भोग गरिरहेका थिए। श्रीकृष्णका सबै रानीहरू पनि लक्ष्मीको प्रतीकका रूपमा सुख र सौन्दर्यको खानी नै भइरहेका थिए। तर उनीहरूमध्ये सत्यभामा भने आफूलाई श्रीकृष्णका विशेष रूपमा मनपर्ने प्रिय पात्र ठानेर बसेकी रहिछन्। त्यसैले सत्यभामा घमण्ड गर्दिरहिछन्। सत्यभामाको यस्तो घमण्डीपन देखेर श्रीकृष्णले एउटा लीला गरे।

भगवान् श्रीकृष्णले नारदलाई सम्झे। उता कतै घुम्दै हिँड्दै गरेका नारदले भगवानले मेरो स्मरण गर्नुभयो, कारण के होला भनी ध्यान गरी हेर्दा वास्तविकता बुझेपछि नारद द्वारका धाममा पुग्छन्। त्यस समयमा श्रीकृष्ण सत्यभामाको महलमा बसेका थिए। ब्रह्मर्षि नारद आएको देख्नेबित्तिकै श्रीकृष्ण एवम् सत्यभामा सहितले नारदलाई दण्डवत गरेर सम्मान गरे। अनि नारदले सत्यभामालाई भने, ‘हे सौभाग्यवती महारानी आज म हजुरसँग केही भिक्षा माग्ने मनसायले आएको हुँ, हजुरले दिनुहोला?’ सत्यभामाले पनि मसँग भएको जे मागे पनि दिन म तयार छु माग्नुहोस् भनिन्। तब नारदले हजुरसँगै भएको हो तर पहिला सत्यबाचा गर्नुपर्छ भने।

सत्यभामाले पनि मसँग भएको हो भने मैले दिने भएँ, बाचा गरें माग्नुहोस् भनिन्। अनि नारदले भन्छन्, ‘त्यसो हो भने मलाई श्रीकृष्ण भगवान् दान गरिदिनोस्, दान लिन म पर्सि आउने छु।’ नारदका यस्ता कुरा सुनेर सत्यभामा जिल्ल पर्छिन्। कृष्णको मुख हेर्छिन् तर वचन गइसकेकाले कृष्णले पनि लाचार भाव देखाउँछन्। अनि नारद सत्यभामासँग वचन लिन पाएकाले प्रसन्न हुँदै देवलोकतर्फ लाग्छन्।

आज द्वारकामा कृष्णदानको धुमधाम महोत्सव भइरहेको छ। कृष्णदानको महोत्सव हेर्न त्यहाँ निमन्त्रणा गरिएका अतिथिहरू तेत्तीसकोटि देवता, किन्नर, गन्धर्व र सम्पूर्ण दर्शकहरूको उपस्थितिमा नारदले भनेकै विधिविधान अनुसार सामग्री तयार पारिन्छ। अनि सबैका सामु सत्यभामाले आफूलाई अत्यन्तै मन पर्ने श्रीमान् कृष्णको हात नारदको हातमा राखिदिएर कृष्ण दान गर्छिन्। श्रीकृष्णलाई दानको रूपमा लिन पाएकाले नारद हर्ष विभोर हुन्छन्। नारदले कृष्णलाई दान लिइसकेपछि कृष्णलाई आफूसँगै लान्छन्।

नारदले यसरी कृष्णलाई लैजान्छन् भन्ने कुरामा कसैलाई होसै थिएन। यसै समयमा सबै रानीहरूको प्रतिनिधित्व गर्दै रुक्मिणीले भन्छिन्, ‘हे देवर्षि नारद! तपाईंलाई ज्ञान हुनुपर्ने हो, भगवान् श्रीकृष्णमा सत्यभामाको मात्र हक छैन। एकजनाले दान गर्दैमा हाम्रो हक हनन गर्दै यसरी कृष्णलाई लान पाईंदैन।’ नारदले भन्छन्, ‘यो कुरा कृष्णदान हुनु अगावै भन्नुपर्ने हो। दान दिइरहेको बेलामा केही नबोली चुपचाप हेरिरहनुभएका हजुरहरूको पनि दान दिने कुरामा सहमति भएको देखाउँछ। मैले दान लिएको श्रीकृष्णलाई लाने मेरो अधिकार हो, मैले लान्छु। यसमा मेरो केही दोष छैन।’

नारदको कुरामा आपत्ति जनाउने कसैको साहस भएन। नारदले कृष्णलाई सँगै लान्छन्, बिस्तारै हिँडाएर लग्छन्। श्रीकृष्ण पनि नारदको दास जस्तै भएर पछिपछि हिँडिरहन्छन्।

अब भने सत्यभामाको घमन्ड पनि चुर हुन्छ अनि सत्यभामाले बिन्ती भाव गर्दै भन्छिन्, ‘हे देवर्षि नारद! पर्खनुस्, तपाईंले भगवान् कृष्णको सट्टा अन्य जे मागे पनि दिन्छु तर कृष्णबाट हामीलाई नछुटाउनुहोस्।’ सत्यभामाले यसरी दीनहीन जस्तै भएर बिन्ती भाव गरेकी देखेर नारदले भन्छन्, ‘त्यसो हो भने हजुर रानीहरूले श्रीकृष्णको जिउ बराबर सुन, हीरा, जुहारात तराजुमा जोखेर दिने भए म मान्छु।’

तब सबै रानीहरू र सत्यभामाका पिता राजा उग्रसेनसमेत कृष्णको सट्टामा कृष्णको शरीरको तौल बराबर सुन दिन तयार हुन्छन्। एउटा तराजुमा एकातिर श्रीकृष्ण र अर्कोतिर सुन, हीरा र जुहारात रत्न राखिन्छ। सत्यभामा रानीहरूमध्ये अत्यन्तै धनी उनका पिता उग्रसेनसँग स्यमन्तक मणि रहेछ। जसबाट दिनहुँ एकभारी सुन प्राप्त हुँदोरहेछ। सत्यभामाले आफ्नो दाइजोबाट प्रशस्त सुन निकाल्छिन् अनि पिताले दाइजो दिई पठाएका सबै मणि पनि तराजुमा राख्छिन्। सबै रानीहरूले आआफ्ना गहनाहरू ल्याउँछन्। तर कृष्णको अगाडि उनीहरूले राखेका सुन-गहनाहरूले पुगेन। तब राजा उग्रसेनले आफ्नो राज्यकोषबाट सुन मगाएर तराजुमा राख्छन्। अझै पनि कृष्णपट्टि नै तराजु गह्रौं भइदिन्छ। द्वारिकामा जति पनि सुन र हीरामोती छन्, सबै ल्याइन्छ तर कृष्णलाई अलिकता पनि उठाउन सकिँदैन।

यस्तो अवस्था देखेर त्यहाँ आएका सम्पूर्ण देवगणहरू, द्वारिकावासी, उग्रसेन, वसुदेव सबै अचम्मित हुन्छन्। अब के गर्ने जति सुन, हीरामोती, जुहारात राखे पनि नपुग्ने भो भनी सबैले कुरा गरिरहन्छन्। यत्तिकैमा त्यहाँ हेरिरहेका उद्धव जुरुक्क उठेर सबैलाई सम्बोधन गर्दै भन्छन्, ‘तपाईंहरूले आज यो ब्रह्माण्डका एक मात्र अधिष्ठाता भगवान् श्रीकृष्णलाई चिन्न सक्नुभएन। महालक्ष्मीका पनि आराध्य, ब्रह्माका पनि मालिकलाई आज तपाईंहरूले धन सम्पत्तिमा तौलेर हेर्ने प्रयास गर्नुभयो। यो तपाईंहरूको मूर्खतासिवाय अरू केही होइन।’

यति भनी तराजुमा भएका सबै सुन, हीरा, मोती झिकी उद्धवले एउटा तुलसीको पातमा ‘कृष्ण’ नाम लेखेर राखिदिन्छन्। अनि कृष्णको नाम भएको तुलसीको पाततर्फ तराजु गह्रौं भएर जान्छ।

यो देखेर त्यहाँ भएका सबैले आश्चर्य मानी प्रसन्न हुन्छन्। कृष्णदान महोत्सव हेर्न आएका सम्पूर्ण देवताहरूले स्वर्गबाट पुष्प वृष्टि गर्छन्। चारैतिर जयजयकारको ध्वनि गुन्जिन्छ। कृष्ण नामको जय ! कृष्ण नामको जय!

नारद पनि अत्यन्तै हर्षित भई आज मैले कृष्ण नाम दानमा लिन पाएँ। म धन्य भएँ। अब मैले यही नामबाट लोककल्याण गर्छु, प्राणीहरूको सेवा गर्दै विश्वभर नै कृष्णको कीर्ति फैलाउँछु भन्दै त्यो कृष्णको नाम भएको तुलसीको पात लिएर जान्छन्।

प्रकाशित: ४ भाद्र २०७९ ०३:०७ शनिबार

श्रीकृष्ण लीला कृष्णदान महोत्सव