गीत, संगीत र राजनीति फरकफरक विषय हुन्। दुवैको साइनो मिल्दैन। ०४६ सालको जनआन्दोलनपश्चात् संगीत र गीतले राजनीतिमा बढी प्रवेश पायो। ०४८ सालको संसदीय चुनावमा आआफ्नो राजनीतिक पार्टीलाई विजय बनाउन नेपाली कांग्रेस र नेकपा एमालेले गायन क्षेत्रमा लागिपरेका कलाकारलाई आआफ्नो झन्डामुनि रहेर गीत गाउन लगाए। अरू बेला कुनै वास्ता नगरे पनि चुनावताका राजनीतिक पार्टीका नेताले कलाकारलाई खोजीखोजी आआफ्ना पार्टीका गीत गाउन लगाउँछन्। आगामी मंसीर ४ मा सम्पन्न गरिने संघ र प्रदेशको चुनावमा पनि कलाकर्मीलाई पहिलेका जस्तै गरी गीत गाउन लगाउने होलान्।
चेला राम्रा गरिबका घर राम्रा सेटका
दाइ सुखारी भाइ दुःखारी हौं एकै पेटका
सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रख्यात मानिएको देउडा संस्कृति र गीतले सहजै सबैको मन जित्ने गर्छ। देउडा नसुन्ने श्रोता छैनन्, देउडा नगाउने कलाकार छैनन्। वर्तमानमा घरघरमा देउडा, पटांगिनीमा देउडा, मेलापर्वमा देउडा, गाईभैंसी चराउन जाँदा देउडा, घाँसदाउरा काट्न जाँदा देउडा, कृषि काम गर्न जाँदा देउडा। जताततै देउडा भाका गुन्जिन्छन्।
पहिले एक आपसमा पारखीहरूले सवालजवाफमा देउडा गाउँथे, वर्तमानमा मोबाइलले कमाल गरेको देखिन्छ। हातहातमा मोबाइल छन्, मोबाइलमा आफूलाई मनपर्ने विविध गीतहरू सुन्ने बाल, युवा सबैमा बानी परेको छ। ससाना बालबच्चालाई दूध चुसाउँदा होस् या भात खुवाउँदा किन नहोस्, आमाले गीत सुनाउने गर्छिन्, अनि मात्र रोएको बच्चाले शान्त भएर खाना खान रुचाउँछ। बिहे, व्रतबन्ध, छैट, पैठमा त देउडा गीतमा मनोरञ्जन गर्नु अनिवार्य जस्तै भएको छ। समाज पूरै संगीतमय भएका बेला राजनीतिमा पनि संगीतको प्रवेश हुने नै भयो।
२०३४ सालमा यो पंक्तिकारले रेडियो नेपालबाट देउडा गीत गाउँदा, ती गीत सुनेर पंक्तिकारलाई हेलाँ गरी वादी र भाँड भन्ने व्यक्तिहरू प्रशस्तै थिए। जब देउडा संस्कृतिमा गायनका माध्यमले सांस्कृतिक क्रान्ति गरें, समाजका तिनै व्यक्तिहरूले सम्मान दर्शाउँदै वर्तमान अवस्थामा आइपुग्दा देउडा सम्राटको उपाधि दिइरहेका छन्।
यसको अर्थ संस्कृतिमा देखिएको अपनत्व हो। संस्कृतिलाई धरातलबाट माथि उठाउन एक जनाको आवश्यकता परेको थियो। भगीरथ रूपमा सेवा गर्ने जिम्मेवारी संयोगवश यो पंक्तिकारलाई जुर्न आएछ। लगभग ४५ वर्षसम्म देउडा संस्कृति र गीतमा लागिपरें। रेडियो नेपाल, नेपाल टेलिभिजन, विभिन्न एफएम र छापा सञ्चार माध्यममा देउडा संस्कृतिको विस्तार गरेबाट नै कुनामा थन्किएको त्यो संस्कृति र गीतले राष्ट्रिय मूलधारमा प्रवेश पायो। सुदूर पश्चिम र कर्णालीको यो प्राचीन मूर्त संस्कृतिलाई वर्तमान अवस्थामा ल्याई पुर्याउन ६० को दशकपछि त्यस क्षेत्रका सक्रिय युवाहरू र जनप्रतिनिधिको पनि अहम् भूमिका रहेको छ। यस क्षेत्रमा लागिपर्दा पंक्तिकारले पाएका दुःख र पीडाहरू भने बिर्सन नसक्ने खालका छन्।
यै रानी वनका दाउरा हात् लायाले भाग्दा
जोइ चेला पराया हुन्छन् राजनीतिमा लाग्दा
वर्तमान अवस्थामा देउडा गीतमा राजनीतिले धेरै प्रवेश पायो। श्रोता र दर्शकहरू पनि देउडा खेल (नृत्य) मा राजनीति शब्द घुसाएर मात्र रमाइलो मान्ने गर्दछन्। आपसमा घोचपेच नभएर मनोरञ्जन पनि हुँदो रहेनछ। गाईजात्रामा प्रयोग हुने व्यङ्ग्य देउडा गीतमा भित्रिएको पनि दुई दशक नै भयो।
०६२/०६३ को जनआन्दोलनताका प्रतिगमन कदमका विरुद्ध सडकमा पोखिएको लाखौंको मानव सागरलाई ‘झ्याम्म झ्याम्म’ गीत गाएर सिस्नुपानी लगाउनुपर्छ, देशमा गणतन्त्र स्थापना गरिनुपर्छ भन्ने सन्देशको व्यङ्ग्य देउडा गीत पंक्तिकारले पस्कँदा सबैले स्वाद मानी मानी तालीले समर्थन गरेको सांगीतिक इतिहास ताजा नै छ।
राष्ट्रियपति भवन बनोस् नारायणहिटी अब
गणतन्त्र नेपाल बनोस् जनता जाग्छन् जब
जनआन्दोलन ०६२/०६३ को मुखडा ‘झ्याम्म झ्याम्म’ गीत हो यो।
यसैगरी २०६४ सालको संविधान सभाको चुनावताका र २०७० सालको संविधान सभाको दोस्रो चुनावमा पनि देउडा गीति क्यासेट सुदूर र कर्णाली प्रदेशका बस्ती बस्तीमा पुग्दा राजनीतिमा देउडा गीतले नै महत्त्वपूर्ण स्थान ओगटेको थियो।
चुनावताका हाम्रा नेताहरू गाउँगाउँ पुगेर जनताका सबै मागहरू पूरा गर्ने आश्वासन दिन्छन्। देशको आर्थिक अवस्थाले सबै माग पूरा गर्न असम्भव नै हुन्छ। सडक, बिजुली, पिउने पानी, खाद्यान्न, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत कुराहरूमा नै मतदाताहरू केन्द्रित हुन्छन्। जनताका अगाडि पूरा गरिदिन्छु भने तापनि विविध कारणले पूरा हुन नसकेको यथार्थ ७७ वटै जिल्लाका मतदाताले भोग्दै आएका पनि छन्। नेताको हुन्छ भन्ने आश्वासन पाएर पनि माग पूरा नभएपछि एउटा गीताङ्गीले यसरी वेदना पोख्छ।
धान बिग्ण्या पलेटो हुँदो मान्छे बिग्ण्या नेता
नेताका मन रैछन् काला लुगामात्र सेता
राजनीतिमा लागिपरेका सबै जना एकनासका पनि हुँदैनन्। धेरै जना नेता, कार्यकर्ता र ठूला नेताहरू इमान्दार र विकासवादी सोच भएका पनि छन्। तर ती व्यक्तिहरूले राजनीतिमा लागेर कुनै जिम्मेवारी नपाएको देख्दा समाजमा चिन्ता र चासो बढ्दै गएको पनि देखिन्छ। यिनै विषयवस्तुमाथि केन्द्रित रहेर एकजनाले यसरी राजनीतिको चित्रण गीतमा गरे:
बीसैमाथि एकै थप्या हुँदो छ क्या बाईस
कोइ न खेल्या राजनीति साधारणी माइस
२०४६ सालको जनआन्दोलन सफल भएपछि बहुदलीय व्यवस्था पुन: स्थापित भयो। हरेक पार्टीले ०४८ सालको चुनावमा भाग लिए। २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमानको त्याग, तपस्या, बहादुरी र एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको इमान्दारिताको कदर गर्दै देउडा गीतमा ०४८ सालको चुनावमा एकजनाले गीतमा यसरी बोले:
कांग्रेसका उम्मेदवार बन्या गणेशमानका लौरा
मनमोहन अधिकारी भया बामपन्थीका सौरा
देउडा गीतमा एउटै मात्र अर्थ लाग्दैन। धेरै अर्थ जनाउने विधा पनि हो देउडा गीत। संस्कृत साहित्यका आदिकवि कालिदासको उपमा र भारवीको अर्थ लाग्ने शब्दको चयन पनि देउडा गीतमा गरिएको पाइन्छ। २०५२ साल फागुन १ बाट तत्कालीन विद्रोही माओवादीले सुरु गरेको विद्रोहमा १७ हजार मानिसको ज्यान गयो। कयौं व्यक्ति घरबार विहीन भए। मान्छेलाई बाँच्न पनि कठिन भएको त्यस बेलाको अवस्थालाई मनन गरी एकजनाले गीतैमा भन्छन्-
सिकारीका हातैहात बन्दुक र गोली
मर्न्या दिन थाहा छैन आज हो कि भोलि
यहाँ सिकारी शब्दको प्रयोग गरिएको छ। जब विद्रोहले उग्र रूप लियो, समाजमा अशान्ति बढ्यो अनि गीतमा प्रचण्ड, बाबुराम भट्टराईलाई र माओवादी समथर्कहरूलाई त्यसबेला गीताङ्गीले सिकारी शब्द प्रयोग गरेका रहेछन्।
देउवा जन्म्या डडेल्धुरा झापा जन्म्या ओली
दुई नेता न बोलन्या भया दिलचित्त न खोली
देश बनाउनका लागि दुई नेताको आवश्यकता त छ तर दुवै जना आपसमा बोल्दैनन् भन्ने आशयको गीत हो यो।
बहुदलीय व्यवस्था, लोकतान्त्रिक शासन प्रणाली हुँदै शासनसत्ता गणतन्त्रमा परिणत भए तापनि जनतालाई दुःख छ। नेताहरू मात्र धनी भए भन्ने आशयको अर्को देउडा गीत यस्तो छ:
चप्पल लाउन्या नेताहरू सिंहदरबार गया
जनता सबै गरिबै छन् नेता धनी भया
देउडा गीत गायन कलाको विधा मात्र नभएर समाजका लागि सांस्कृतिक दर्शन पनि हो। जिन्दगीका सबै कुराहरू गीतमा आएका देखिन्छन्। भाव पक्ष बलियो भएका कारण देउडा गीत समाजमा जीवन्त छन्।
प्रकाशित: ४ भाद्र २०७९ ०२:३३ शनिबार