समाज

फोहोर फ्याँंक्न हवाई फायर

फाइल तस्बिर

काठमाडौं महानगरपालिका र बञ्चरे डाँँडाबीचको ‘फोहोर तनाव’ ले अन्ततः उग्ररूप लिएको छ। काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई अवरोध गर्दै बञ्चरेडाँडास्थित ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दाले मंगलबार ढुंगामुढा र गुलेली हानेपछि प्रहरीले काउन्टरमा ५ राउन्ड हवाई फायर गरेको छ।  

फोहोर बोकेका गाडीलाई ल्यान्डफिल्ड साइटमा जान नदिन बिहानैबाट अवरोध गर्न बसेका आन्दोलनकारीले ढुंगामुढा गरेका कारण अश्रुग्यास र हवाई फायर गर्नुपरेको काठमाडौंका प्रहरी प्रवक्ता दिनेशराज मैनालीले बताए। ‘जति सम्झाइबुझाइ गरे पनि आन्दोलनकारीले ढुंगामुढा हान्न छाडेनन्, ‘मैनालीले भने, ‘बाध्य भएर अश्रुग्यास र ५ राउन्ड हवाई फायर गर्नुपर्‍यो।’ तनाव र अवरोधबीच प्रहरीको सहयोगमा मंगलबार करिब २ सय ट्रिप फोहोर बन्चरे डाँडामा बिसर्जन गरिएको काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले बताइन्।  

यो तनाव मंगलबार अचानक भएको भने होइन। काठमाडौं महानगरका मेयर बालेन्द्र साह अहिलेको समस्या सतही मात्रै भएको र गहिरो कारण अलग्गै रहेको बताउँछन्। ‘नत्र सोच्नुहोस् त, राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नुपर्छ?’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘२ सयभन्दा बढी प्रहरी परिचालन गर्दा पनि लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ? पूरै राज्य संरचना यस्तो निरीह किन बन्छ?’

पूर्वसहरी विकासमन्त्री रामकुमारी झाँक्री फोहोरमा राजनीति नगर्ने हो भने काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या नहुने धारणा राख्छिन्। ‘फोहोरमा फोहरी राजनीति नगरौं, सबैले सत्प्रयास गरौं’, सामाजिक सञ्जालमा उनी लेख्छिन्, ‘काम जस पाउन होइन, कर्तव्य ठानेर गरौं।’  

फोहोरमा राजनीति चलिरहेकै छ। एकातिर सत्ता गठबन्धन दलका केन्द्रीय नेताहरू फोहोर समस्या समाधान गर्न प्रधानमन्त्रीलाई आग्रह गर्छन्। अर्कातिर गठबन्धन दलका स्थानीय तहका नेताहरू बञ्चरेडाँडामा फोहोर फाल्न नदिने भन्दै संयुक्त व्यक्तत्व निकाल्छन्।  

सत्ता गठबन्धनमा रहेका पाँच दलका नेताहरूको आइतबार दिउँसो बालुवाटारमा बसेको बैठकले फोहोर व्यवस्थापनका लागि पहलकदमी लिन प्रधानमन्त्रीलाई आग्रह गरेको थियो। तर आइतबारै ल्यान्डफिल्ड साइटबाट प्रभावित क्षेत्र धुनिबेंसी नगरपालिका १ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति जारी गरी बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न नदिने घोषणा गरे।

बन्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगानले ल्यान्डफिल्ड साइटमा फोहोर विसर्जनमा अवरोध नगर्ने घोषणा गरे पनि काठमाडौंको फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडीले निरन्तर अवरोध बेहोर्नुपरेको छ।  

‘फोहोर लैजान आज पनि सहज भएन। सत्तारुढ दलहरूकै स्थानीय तहका नेताहरूको अगुवाइमा सडक अवरुद्ध गरियो; जसलाई विपक्षी दलहरू एमाले र राप्रपाका स्थानीय नेताहरूले पनि साथ दिएको देखियो’, मेयर साहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रहरी परिचालन गरी फोहोरका गाडी बञ्चरे लगियो। तर केही समूहले लुक्दै गुलेली हानेर अवरोध उत्पन्न गर्ने प्रयास गरे।’  

फोहोरमा राजनीति भएको भन्दै विरोध गर्ने पनि छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने फोहोर व्यवस्थापन गर्न नदिएर मेयर साहलाई बद्नाम गर्ने खेल भएको बताउँछन्। उनले सोमबार इटहरीमा आयोजित पार्टी भेलामा फोहोरमा राजनीति गरी मेयर साहलाई बद्नाम गर्न खोजिएको बताएका हुन्।

नेपाली कांग्रेसका महामन्त्री गगन थापा पनि फोहोरमा राजनीति जोसुकैले गरे पनि स्वीकार्य नहुने बताउँछन्। सञ्चारकर्मीसँग सोमबार कुरा गर्दै उनले फोहोरको विषय संवेदनशील भएकाले एक ठाउँमा बसेर छलफल गर्नुको विकल्प नभएको बताए।  

एमाले सांसद योगेश भट्टराईले त मेयर साहलाई फोहोर व्यवस्थापन गर्ने भिजन एमालेसँग मात्र भएको बताउँदै सहकार्य गर्न आग्रह गरेका छन्। उनले आइतबार संसद्मा बोल्दै साहलाई एमालेसँग सहकार्यका लागि आग्रह गरेका थिए। भट्टराईको प्रस्तावमा मेयर साहले केही जवाफ त फर्काएका छैनन्, तर राजधानीका सडकमा सोमबारदेखि एमाले सम्बद्ध युवाले कतैकतै फोहोर उठाउन थालेको दृश्य देखिन थालेको छ। बानेश्वर सडकमा फालिएको फोहोर सोमबार एमाले भ्रातृ संगठन युवा संघले उठाएको छ। त्यस्तै मंगलबार पनि ज्ञानेश्वरबाट संघका कार्यकर्ताले फोहोर उठाएका।  

‘फोहोरको विषयमा ठूला कुरा गर्नुभन्दा आफ्ना नेता–कार्यकर्तालाई यसको समाधानमा लगाउनु उपयुक्त हुन्छ’, मनोसामाजिक परामर्शदाता डा. नम्रता पाण्डे भन्छिन्, ‘यसले समस्या समाधानमा सहयोग पुग्नेछ।’ नियत सफा नभईकन फोहोर समस्या समाधान नहुने धारणा राख्दै उनले लाखौं जनताको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई ध्यानमा राखेर फोहोरमा राजनीति बन्द गर्नुपर्ने बताउँछिन्।  

फोहोरका कारण तनाव झेल्दै आएका मेयर साह पनि कसैप्रति आक्रोशित हुनुभन्दा पनि समाधान खोज्ने पक्षमा जानुपर्ने बताउँछन्। ‘यहाँ केही कमजोरी, केही गल्ती भएकै छ। सिसडोलमा गरिएको लापरबाही र त्यो क्षेत्रको दुरवस्थाले त्यहाँका स्थानीयले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वाभाविक पनि होइन’, उनी भन्छन्, ‘तर हामी विश्वस्त पार्न चाहन्छौं कि विगत दोहोर्‍याएर अपराध गर्ने छैनौं। यसका लागि केही समय भने पक्कै लाग्छ।’

सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेडाँडाको दिगो उपयोगिताका लागि महानगरपालिका संवेदनशील रहेको औंल्याउँदै आफूले गरेका सहमति कार्यान्वयन गर्न आफू दृढ रहेको मेयर साह बताउँछन्। उनले अन्य पक्षबाट पनि यस्तै प्रतिबद्धता, संवेनशीलता र इमानदारीको अपेक्षा राखिएको बताए। ‘महानगर कसैलाई हराउने खेलमा छैन’, उनको भनाइ छ, ‘ढिलै भए पनि सबैले जित्ने कार्यक्रम लागु गर्ने योजनामा महानगर तयार छ।’

प्रकाशित: १ भाद्र २०७९ ०१:०९ बुधबार

काठमाडौं महानगरपालिका