समाज

नाका खुलाई सीमा क्षेत्रका बासिन्दाको दैनिकी सहज बनाइदिन जिल्ला प्रशासन कार्यालयमा पत्रचार

फाइल तस्बिर।

चारबर्षदेखि बन्द उत्तरी ताप्लेजुङमा रहेको सीमावर्ती टिपताला नाका खुलाई सीमा क्षेत्रका नेपाली बासिन्दाको दैनिकी सहज बनाइदिन फक्ताङलुङ गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको छ।

कोभिड–१९ महामारीको सुरुवातसंगै नाका बन्द रहेको र नाका बन्द हुँदा सीमावर्ती क्षेत्र ओलाङचुङगोला,फले,याङ्मा र घुन्सा सहितका बासिन्दाहरुले आफ्नो उत्पादन निर्यात र उपभोग्य वस्तु आयात गर्न नपाएको पालिकाले औंल्याएको छ। गाउँपालिका अध्यक्ष राजन(मुक्ति)लाबुङ लिम्बूले सीमावर्ती क्षेत्रका बासिन्दाको मुख्य उत्पादन पशुजन्य पदार्थ,गलैंचा,छूर्पी र जडिबुडी चीनको स्वशासित क्षेत्र तिब्बतको रिउतर्फ निर्यात हुन नपाएकोले त्यहाँ आर्थिक मन्दी फस्टाएको बताएका छन्।  

नाकाबन्दीका कारण आफ्नो उत्पादनले बजार नपाउनु र उत्पादन बिक्री गरी आफ्ना लागि दैनिक उपभोग्य बस्तु आयात गर्न नसक्नुले सीमावर्ती क्षेत्रका बासिन्दाको दैनिकीमा कठिनाई भई बस्ती स्थानान्तरणको जोखिम बढेको पालिकाले ठहर छ। सीमावर्ती क्षेत्रका अधिकांश बासिन्दा खाद्यान्न लगायत दैनिक उपभोग्य बस्तु आयात–निर्यातका लागि चीनको स्वशासित क्षेत्र तिब्बतको रिउ बजारमै निर्भर रहने गरेको र नाका बन्द भएपछि आयात–निर्यात ठप्प भइ स्थानीयको दैनिकी कष्टकर बनेको पिडा बुझेर नाका खुलाउने कार्यको सहजीकरणका लागि पालिकाले प्रशासन कार्यालयलाई अनुरोध पत्र पठाएको हो। उत्तरी सीमावर्ती क्षेत्रमा सदरमुकाम फुङलिङसँगको सडक सञ्जाल समेत जोडिइ सकेको छैन।  

नाका सञ्चालन नहुँदा सदरमुकाम फुङलिङबाट दैनिक उपभोग्य बस्तुको आर्पूति गर्दा ढुवानी खर्च खरिद गरेको मूल्य भन्दा तीनगुणा भन्दा बढी महंगो पर्न जाने अवस्था समेत गाउँपालिकाले औंल्याएको छ। नाका सञ्चालन नहुँदा बिरामी तथा आपतकालिन अवस्थाका मानिसलाई सदरमुकाम फुङलिङ सम्म पुग्न तीनदिन सम्म लाग्ने रहेको भन्दै पालिकाले नाका सञ्चालनमा ल्याउने वातावरणका लागि सहजीकरण गरिदिन प्रशासनलाई अनुरोध गरेको छ।

प्रकाशित: ३१ श्रावण २०७९ ०९:०३ मंगलबार

फक्ताङलुङ गाउँपालिका ताप्लेजुङ