समाज

‘नेपाल गौरव र गाईजात्रा उत्सव’

अमेरिकी दूतावासको सहयोगमा शुक्रबार काठमाडौंकोटुँडिखेलमा ब्लु डाइमन्ड सोसाइटीका सदस्यहरू उन्नाइसौं नेपाल गौरव र गाईजात्रा उत्सव मनाउँदै।तस्बिर: प्रसन गुरुङ/नागरिक

ब्लु डायमन्ड सोसाइटीले उन्नाईसौं नेपाल गौरव र गाईजात्रा उत्सव मनाएको छ। सोसाइटीले अमेरिकी दूतावासको सहयोगमा शुक्रबार काठमाडौंको टुँडिखेलमा एक कार्यक्रम आयोजना गरी उत्सव मनाएको हो। सो अवसरमा संस्थाले प्राइड परेडका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेको थियो। नेवारी समुदायमा परिवारमा कोही सदस्य बितेपछि उनको सम्झनामा गाईजात्रा सुरु भएसँगै ब्लु डाइमन्ड सोसाइटीले दिवंगत तेस्रो लिंगी परिवारका सदस्यको सम्झनामा उत्सव मनाएको हो।

संस्थाले ‘हामी सबै समान, हामी सबैले एकअर्कालाई माया गरौं, हामी पनि यो समाजका एक अंग हौं, देश र समाजका लागि केही गर्न सक्छौं’ भन्दै उन्नाईसौं नेपाल गौरव तथा गाईजात्रा उत्सव मनाएको हो। ‘वर्षभरि दिवंगत साथीभाइको सम्झना र अरू सबै सम्पूर्णको उद्धारको कामना गर्दै संस्थाले हरेक वर्ष यो उत्सव मनाउँदै आएको ब्लु डायमन्ड सोसाइटीका अध्यक्ष पिंकी गुरुङले बताइन्। ‘संविधानले दिएको कानुनी अधिकार प्रयोग गर्दै हामीलाई पनि समान अधिकार दिई हेलाँ होइन माया दिनुहोला भन्दै यो उत्सव मनाइएको हो। हामी तेस्रो लिंगी भएर आएका हौं। अरू देशका होइनौं। हामी पनि नेपाली हौं। हामीलाई पनि समान व्यवहार गर्नुपर्छ’, गुरुङले भनिन्।

हामीले अहिलेसम्म पनि पहिचानसहितको मर्यादित जीवन जिउन नपाएको उनले बताइन्। ‘हामीलाई सक्षम र सबल बनाउन राज्यले जिम्मेवारी बहन गरेको छैन। राज्यले हाम्रो सम्मानित जीवनका लागि पहल गरोस् भन्ने हाम्रो चाहना हो’, उनले भनिन्।

सन् २००१ मा स्थापना भएको यस संस्थाले घरबाट बहिस्कार भएका, घरभित्र लुकेर बस्नुपरेका व्यक्तिको मृत्यु हुँदा पनि घरपरिवारबाट कोही पनि नआएकाले ब्लु डायमन्ड सोसाइटीले अभिभावकीय भूमिका खेलिरहेको अध्यक्ष गुरुङले बताइन्। एलजीबिटिक्यूआइएप्लस समुदायको सम्मान गर्न आयोजित कार्यक्रममा सज्जनराज वैद्य, एकदेव लिम्बु, धर्मेन्द्र सेवान, रेखा शाह, त्रिशाला गुरुङ, पिरू राना, कमल खत्री, सुबानी मोक्तानलगायतका कलकारको उत्कृष्ट प्रस्तुति रहेको थियो।

प्रकाशित: २८ श्रावण २०७९ ०१:४८ शनिबार

अमेरिकी दूतावास ब्लु डायमन्ड सोसाइटी