सौराहा हात्ती सफारीका लागि परिचित छ। दुई वर्षअघिसम्म यहाँ हात्ती पनि थुप्रै देखिन्थे। तर, पछिल्लो समयमा सौराहामा विगतजस्तो हात्तीको चाप छैन। २०७७सम्म निजि हात्ती सयभन्दा बढी रहेकोमा अहिले ६५ वटामा सिमित छन्।
‘सौराहाबाट हात्ती विस्थापित हुने कुरा भैरहेको छ,’युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषिराम तिवारीले भने, ‘प्रत्येक वर्ष यहाँ हात्ती घटिरहेका छन्।’ कोरोनापछि हात्तीको संख्या हवात्तै घटेको उनी बताउँछन्। हात्तीको गतिविधि चहलपहल नहुँदा सौराहाको पर्यटनमा समेत असर गरेको उनले बताए। ‘सौराहा आउने ९० प्रतिशत हात्तीको गतिविधि अवलोकन गर्न आउँछन्। कोही बच्चासँग खेल्छन्। कोही सफारीमा जान्छन्,’ उनले भने, ‘तर हात्ती घट्दै गएपछि पर्यटनमा ठूलो घाटा छ।’ दुई वर्षदेखि यहाँका व्यवसायीले हात्ती थपेका छैनन्।
हात्ती सफारीबाट सामुदायीक वनहरुले आम्दानी गरेका थिए। यहाँका व्यवसायीलाई फाइदा पुगेको थियो। अहिले सौराहामा पर्यटकीय गतिविधि बढ्न नसकेको उनले बताए। व्यवसायीलाई हात्ती पाल्न मुश्किल छ। दैनिक दुई क्विन्टलभन्दा बढी खाद्यान्न आवश्यक पर्ने हात्ती पाल्न मासिक एक लाखभन्दा बढी खर्च हुने उनले बताए। सौराहामा कोरोनापछि हात्ती महोत्सव, हात्तीपोलो लगायतका गतिविधि हुन छाडेका छन्। यहाँ सन् २००१बाट हात्ती महोत्सव भएको तिवारीले बताए।
पर्यटन क्षेत्रको विकासका लागि हात्तीको धेरै महत्व पनि छ। विस्थापित हुन लागेका हात्तीलाई राज्यले संरक्षण गर्न उनले आग्रह गरे। ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण नियमावली २०७६समेत आईसकेको छ। यसले हात्ती ओसार पसार र विक्रिमा रोग गरीदिएको छ,’ उनले भने, ‘निजि हात्तीको संरक्षणमा राज्यले पनि सहयोग गर्नुपर्दछ।’ २०७७सालपछि हात्तीको संख्या नघटेपनि हात्तीको स्वास्थ्यमा ख्याल हुन सकेको छैन। ‘हात्तीको खानपानमा त्यति ध्यान दिएको पाइदैन, हेरचाह नपगुेर नै एउटा हात्ती मर्यो,’ पशु संरक्षण कर्मी सुराजन श्रेष्ठले भने, ‘हात्ती धनीहरु हात्तीको संरक्षण गर्दै पर्यटकीय गतिविधि अगाडि बढाउन लाग्नुपर्छ।’
चितवनमा २०३६ सालदेखि व्यवसायीक रुपमा हात्ती सफारी हुँदै आएको थियो। त्यतिखेर यहाँका व्यवयासीले भारतबाट हात्ती भाडामा लिएर सफारी गर्दै आएका थिए। पछि विस्तारै व्यवसायीले हात्ती नै खरिद गरेका थिए। तर, पछिल्लो समयमा सौराहामा पर्यटक गतिविधि कम हुँदा हात्तीको संख्या कम हुँदै गएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी बताउँछन्।
‘सौराहामा पर्यटकीय गतिविधिमा हात्ती सहभागि हुँदै गएका थिए। यहाँ विदेशी पर्यटक कोरोनापछि कम आउन लागे। पछिल्लो समयमा मान्छेमा हात्ती चढ्न हुँदैन भन्ने सन्देश गएको हुँदा व्यवसायमा गिरावट आएको हुनाले हात्तीको चहलपहल छैन,’ सूचना अधिकारी तिवारीले भने। ‘निकुञ्ज भित्रका ५० वटा हात्ती छन्। उनीहरुबाट हात्ती पेट्रोलिङको हुँदै आएको छ।’
यहाँका व्यवसायीले पाल्न नसकेपछि हात्तीलाई भारतमा लगेर बेच्ने समेतको काम गरे। तीन वटा हात्ती भारत बेच्दै गर्दा सरकारले फिर्ता समेत गरेको छ। भएका हात्तीको संरक्षणका लागि राज्यले कानुन नै बनाएर अघि बढेको निकुञ्जका सूचना अधिकारी तिवारीको भनाई छ।
यहाँ आउने अधिकांश पर्यटक हात्ती चढेर निकुञ्ज आडका मध्यवर्ती सामुदायिक वनमा वन्यजन्तु हेर्न जान्छन्। तर, व्यवसायीले पशुकल्याणका सामान्य कुराहरु पनि ख्याल नगर्ने गरेको कुरा उठ्दै आएको छ। व्यक्तिगत रुपमा राखिएका संकटापन्न वन्यजन्तुको दर्ता नगरी कुनै व्यक्ति, संस्था वा निकायले आफूसँग राखेमा त्यस्ता वन्यजन्तु जफत गर्न सकिने व्यवस्था छ। जसले गर्दापनि व्यवसायीहरुले हात्ती विक्रि गरेको स्वीकार गर्दैनन्। सौराहामा रहेका हात्ती एउटाको ८० लाखदेखि एक करोडसम्ममा बिक्री हुने गरेको बताईन्छ। सौराहामा सहकारी मार्फत र निजी गरि ६५ हात्ती छन्। निकुञ्जका ५० वटा हात्ती छन्। यस्तै चितनव पर्साक्षेत्रमा ४०देखि ५०को हाराहारीमा जंगली हात्ती रहेको अनुमान गरिएको छ।
निकुञ्जले तत्कालका लागि हात्तीको चरण क्षेत्र छुट्टाईदिएको छ। तर, दिर्घकालीन छैन। विभागबाट नै दिर्घकालिन रुपमा चरण क्षेत्रको व्यवस्था गरिदिएमा हात्ती विस्थापित हुनबाट रोकिने व्यवसायी बताउँछन्।
प्रकाशित: २७ श्रावण २०७९ १२:१६ शुक्रबार