समाज

कपिलवस्तुमा सामूहिक रक्षाबन्धन

ब्रह्माकुमारी ईश्वरीय बिश्व बिद्यालयद्धारा आयोजित रक्षाबन्धन उत्सवमा राखी बाँध्दै।

हिन्दुहरुको पर्व रक्षाबन्धनको अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय तौलिहवामा रक्षाबन्धन उत्सव  सम्पन्न भएको छ।

कपिलवस्तु नगरपालिका– ३ कालिका गाउँमा रहेको विश्व विद्यालयमा आयोजित कार्यक्रममा सामुहिक पवित्रता, प्रेम र एकताको प्रतिक राखी बाँधिएको थियो। कार्यक्रममा विश्व विद्यालयकी प्रमुख सञ्चालिका राजकुमारी कार्की र सह सञ्चालिलका पबित्रा पाण्डेयले आएका सहभागीहरुलाई राखी बाँधेका थिए।

कार्यक्रममा सहभागी प्रजिअ धर्मेन्द्र कुमा मिश्र राष्ट्रिय अनुसन्धानका प्रमुख योगेन्द्र कार्की लगायत कार्यक्रममा सहभागी थिए। सो अवसरमा प्रजिअ मिश्रले समाजमा सद्भाव, प्रेम र नैतिकतालाई कायम राख्न हरेक धर्मले बाटो देखाउने बताए। उनले रक्षाबन्धले समाजमा दाजुबहिनीको सम्बन्धलाई अझ मजमुद बनाउन प्रेरणा मिल्ने बताए। सोही अवसरमा समाजसेवी रबि ठाकुरले रक्षाबन्धन उत्सवमा आफू सरिक हुन पाउँदा निकै खुशी लागेको बताए।  

कार्यक्रममा ब्रह्माकुमारी दिदी बहिनीहरुले  एक दर्जन विशिष्ठ अतिथिहरुलाई राखी बाँधेर आशिष दिएकी थिए। उत्सवको अवसरमा सय बढीले दिदी बहिनी र दाजुभाईलाई सामूहिक राखी बाँधिएको थियो। कार्यक्रममा धार्मिक प्रवचन समेत भएको थियो। रक्षाबन्धनको अवसरमा कपिलवस्तु कारागारका कैदीबन्दीलाई ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका दिदीबहिनीले शुक्रबार रक्षा सुत्र राखी बाँधिएका थिए।

विद्यालयकी प्रमुख ब्रह्माकुमारी राजकुमारीले  साढे ३ सय बढी कैदीबन्दीलाई कारागारमै गइ राखी बाँधेर आशिष दिएकी थिइन्। उनले  राखीको डोरो कैदीबन्दीको हातमा बाँधी उनीहरुलाई टीका लगाएर मिठाईको प्याकेट समेत प्रदान गरेकी थिइन्। सुरक्षाकर्मीलाई समेत राखी बाँधेकी थिइन्। विद्यालयले विगत वर्षहरुमा कैदीबन्दीलाई रक्षाबन्धन  लगाउँदै आएको छ।

प्रमुख सञ्चालिका राजकुमारीले आफूले गरेको अपराध र गल्तीलाई महसुस गरी समाजमा मानवता, प्रेम र भाइचारा कायम गराउनका लागि कैदीबन्दीलाई समेत राखी बाँधिएको बताइन्। आफूले सबै कैदीबन्दीलाई राखी बाँधेर आगामी दिनहरुमा समाजमा राम्रो काम गरी प्राश्चित गरी समाजमा शान्ति कायम राख्न उनीहरुलाई अनुरोध गरेको बताइन्।

कारागारमा  रहेका कैदीबन्दीहरुलाई भेट्न र राखी लगाउन आएका दिदी बहिनीका लागि समेत प्रबन्ध मिलाइएको थियो। उता जनै पूर्णिमाको अवसरमा कपिललवस्तुका विभिन्न स्थानमा सामूहिक जनै पूजा गरी जनै फेर्ने कार्यक्रम समेत गरिएको थियो। तौलिहवाको राधाकृष्ण मन्दिर र सागरटोलको दुर्गाा मन्दिरमा सामूहिक जनै फेर्ने र डोरो बाँध्ने कार्य सम्पन्न गरिएको थियो।  

बालगृहमा सामूहिक रक्षाबन्धन  

कपिलवस्तुको तौलिहवा स्थित बालगृहमा सामूहिक रक्षाबन्धन मनाइएको छ। सो अवसरमा बालगृहका २५ बेसाहरा बालकहरुलाई २ दिदीहरुले राखि बाँधेका थिए। यही बालगृहमा बसेर आफ्नो बाल्यकाल बिताएकी हाल प्युठान बस्दै आएकी टीका पुन र बालगृहकी कर्मचारी कविता थारुले उनीहरुलाई राखी बाँधेर आसिष दिएका थिए।

सो अवसरमा बालकहरुलाई टीका लगाएर प्रसाद समेत वितरण गरिएको थियो। बालगृहका भाईहरुलाई रक्षाबन्धनको अवसरमा राखी बाँध्न पाएको खुशी लागेको बताइन्। ‘यही बालगृहमा हुर्केकी थिए, अहिले प्युठान बस्दै आएकी तर बालगृहका भाइहरु आफ्नै साख्खै जस्तो लाग्छ,’ उनले भनिन्। उता अर्की दिदी कविताले समेत आफूले बालगृहका भाइहरुलाई आफ्नै भाइ जस्तो मानेको बताइन्। उनीहरुलाई राखी बाँधेर खुशी साट्न पाउँदा निकै रमाइलो लागेको उनले बताइन्।

 बालगृहका प्रबन्धक रामप्रसाद अर्यालले बलागृहमा सामुहिक रक्षाबन्धन कार्यक्रम गरिएपछि बालकहरु धेरै खुशी भएको बताए। यस्तै ब्रम्हाकुमारी ईश्वरीय विद्यालयले समेत तौलिहवास्थित बालगृहमा समेत रक्षाबन्धनमा कार्यक्रम गरेको थियो। सञ्चालिक राजकुमारीले बालगृहका  बेसाहारा बालकहरुलाई राखी बाँधेकी थिइन्।

प्रकाशित: २७ श्रावण २०७९ ०८:२१ शुक्रबार

रक्षाबन्धन ईश्वरीय विश्व विद्यालय तौलिहवा