समाज

न्यायपरिषदमा तोडफोड गर्ने पक्राउ

बिहीबार न्यायपरिषद् पुगेका नूरप्रसाद अधिकारीले त्यहाँ तोडफोड गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको छ। अदालतले आफ्नो म्याद सारेकाले आफू पीडित भएको भन्दै न्यायपरिषद् पुगेका अधिकारीले कार्यालयको स्क्यानर, कम्प्युटर, ढोका, झ्यालका सिसा तोडफोड गरेको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।

नूरप्रसाद गोरखा फुजेलका गंगामाया र नन्दप्रसाद अधिकारीका जेठा छोरा हुन। उनले यसअघि उच्च अदालत पाटनमा पनि तोडफोड गरेका थिए। त्यसपछि उनलाई मुद्दासमेत चलाइएको थियो। बिहीबार न्यायपरि षद्मा तोडफोड हुँदा डेढ २ लाख रूपैयाँको क्षति पुर्‍याएको प्रवक्ता कार्कीले बताए।

आफूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने ललितपुर जिल्ला अदालतका न्यायाधीशमाथि आरोप लगाउँदै उजुरी दिने समेत भनेका उनले झ्यालढोकासहित विभिन्न सामग्री तोडफोड गरेका हुन्। २०६४ साल जेठ २४ मा चितवनमा गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको हत्या भएको थियो।

अधिकारी दम्पतीले राज्यका हरेक निकायमा पुगेर छोराको हत्यामा संलग्नलाई कानुन अनुसार कारबाही गरिपाऊँ भनी निवेदन दिएका थिए। हत्यामा संलग्नलाई कारबाही माग गर्दै अधिकारी दम्पती २०७० सालमा आमरण अनसन बसेका थिए। अनसन बसेको ३३४औं दिन अर्थात् २०७१ साल असोज ६ मा नन्दप्रसाद अधिकारीको वीर अस्पतालमा मृत्यु भएको थियो। नूरप्रसादकी आमा अझै पनि वीर अस्पतालमै छन्। 

प्रकाशित: २७ श्रावण २०७९ ०४:४८ शुक्रबार

न्यायपरिषदमा तोडफोड गर्ने पक्राउ