जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा बुधबार हेटौंडा बजारको अनुगमन भएको छ। अनुगमन टोलीले ५ वटा पसललाई जरिवाना गराएको छ भने ३ वटामा शिल गरेको छ।
नियम विपरित सञ्चालन गरेको, अनुमति नलिएको र म्याद गुज्रेको सामान राखेको भन्दै आँगन स्वीट्स एवम् फास्टफुडलाई २० हजार, राजधानी स्वीट्सलाई २० हजार, अल्फा डेन्टललाई ५ हजार, इटीसी जनरल सप्लायर्सलाई १५ हजार र न्यू यू एण्ड आइ सु सेन्टरलाई १० हजार जरिवाना गरेको हो। यस्तै अनुमति विना सञ्चालन गरेको भन्दै हेटौंडामा सञ्चालित नेश्नल पोलिक्लिनिक, अल्फा डेन्टल र एक भेटेनरी औषधी पसललाई अनुमति नलिञ्जेललाई शिल गरेको छ।
प्रशासन कार्यालय मकवानपुरको संयोजनमा जिल्लास्थित विषयगत कार्यालय, हेटौडा उपमहानगरपालिका, मकवानपुर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको सहभागितामा ५ वटा अनुगमन टोलीले हेटौडा उपमहानगरपालिका भित्रका पसल तथा व्यवसायको अनुगमन गरेको हो। अनुगमनको क्रममा अनुमति बेगर सञ्चालनमा रहेको व्यवसायलाई शिल गर्नुका साथै उपभोक्ताहित विपरित सञ्चालनमा रहेकालाई जरिवाना गराइएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए।
टोलीले अनुमति भन्दा बढी क्षमताको बेड सञ्चालन गरेको २ वटा अस्पताललाई अनुमति लिएर मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ। यस्तै सरसफाई नभएको, अखाद्य तेल तथा अन्य वस्तुको प्रयोग, अस्वस्थ खानेपानीको प्रयोग जस्ता समस्या रहेको होटललाई तत्काल सुधार गर्न सचेत गराएको छ भने दर्ता तथा अनुमति नलिएका व्यवसायलाई एकहप्ता भित्र दर्ता तथा अनुमतिको प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ।
अनुगमनको क्रममा भेटिएका म्याद गुज्रेका सामग्रीहरू नियन्त्रणमा लिएर नष्ट गरेको छ। भाटभटेनी सुपरमार्केट चौकीटोलबाट परीक्षणका लागि २ वटा खाने तेलको नमूना लिएको छ। शिवशक्ति सप्लायर्स हेटाैंडाको ११२ बोरा चामल अर्को आदेश नभएसम्मका लागि विक्री वितरणमा रोक लगाइएको सहायक प्रजिअ गैह्रेले बताए।
प्रकाशित: २५ श्रावण २०७९ १३:२४ बुधबार