समाज

मन लोभ्याउने त्रिवेणी पाटन

त्रिवेणी खोलामा नुहाए पाप पखालिन्छ

बडिमालिका तिर्थयात्रामा जानेहरु बास बसिरहेको त्रिवेणी पाटन। तस्बिरः नागरिक कालिकोट

पानीको कलकल आवाज। चराचुरुङ्गीको चिरविर स्वर। रंगिचंगी पाटन भरी फुल। थुम्का-थुम्का परेको कुहिरो। थरिथरिका जडिबुटी। कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाको मुम्रा लेकमा पर्ने त्रिवेणी पाटनको विशेषता हो।

यो पर्यटकीय सम्भावना बोकेको एवम् विशाल पाटन क्षेत्रको हो। यो बाजुरा जिल्लामा पर्ने बडिमालिका धार्मिक मन्दिरका कारण पनि चर्चामा रहेको छ।

समुद्र सतहबाट ४ हजार २ सय १९ मिटर उचाईमा रहेको त्रिवेणी पाटन सौन्दर्यका हिसाबले मात्र नभई धार्मिक हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ । नजिकै देखिने सुन्दर हिमाल,हिउँ टेक्न पाइने र मनोरम प्राकृतिक दृश्यहरू त्रिवेणी पाटनका विशेषता हुन्। पाटनबाट तिनवटा मुहान फुटेर बगेको खोलाको संगम रहेकाले यसलाई त्रिवेणी पाटन भनिएको जानकारहरु बताउँछन्।

त्रिवेणी पाटन प्राकृतिक रुपले भन्दा धार्मिक रुपले पनि महत्वपूर्ण छ। पाटनमा रहेको  त्रिवेणी खोलामा नुहाए पाप पखालिने र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ।

त्रिवेणी पाटन घुम्नलाई वैशाखदेखि असोज सम्मको समय उत्तम मानिन्छ। नजिकै रहेको बडिमालिका मन्दिरमा साउन जनै पूर्णिमाको अघिल्लो दिन मेला लाग्ने गर्छ। मेला भर्न नेपालका विभिन्न जिल्ला र भारतबाट पनि मानिसहरू बडिमालिका पुग्ने गरेको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष महेश केसीले बताए।

त्रिवेणी पाटनमा दुईवटा खोला छन,गंगा र  जमुना जहाँ नुहाउँदा रोग र  पाप पखालिन्छ भने धर्मीक विश्वास रहेको बूढापाखा बताउनछन्। त्रिवेणी पाटन आसपासमा रहेका २२ वटा पाटनमा सयौँ प्रजातिका फूल फुल्छन्। यस क्षेत्रका ३२ वटा पाटनमध्ये १२ वटा पाटन कालिकोट क्षेत्रमा र २० वटा बाजुरा क्षेत्रमा पर्छन्।

यस पाटनको आकर्षण भनेको जङ्गली जनावर पनि हुन् । कस्तुरी,मृग,हिउँ चितुवा,हिमालयन थार, हिमाली भालु,वन कुकुर,नायरलगायत वन्यजन्तु यस क्षेत्रमा पाइने गरेको स्थानीयले बताएका छन्।

जडिबुटीका लागि समेत त्रिवेणी क्षेत्र प्रख्यात रहेको छ। यस क्षेत्रमा ४५ भन्दा बढी प्रजातिका दुर्लभ तथा बहुमूल्य जडिबुटी पाइने गरेको छ। त्रिवेणी पाटन,आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित हुन नसक्दा यस क्षेत्र ओझेलमा छ।

प्रकाशित: २५ श्रावण २०७९ ०६:०० बुधबार

बडिमालिका धार्मिक मन्दिर