समाज

असमान तलब वृद्धिको विरोध गर्दै राजपत्र अनंकित कर्मचारीहरु आन्दोलित

असमान तलब वृद्धिको विरोध गर्दै कपिलवस्तुका राजपत्र अनंकित कर्मचारीहरु आन्दोलनमा उत्रेका छन्। सरकारले सबै कर्मचारीको १५ प्रतिशत तलब वृद्धि गरे पनि चोर बाटो हुँदै राजपत्र अनंकित कर्मचारीले १८ देखि २४ प्रतिशत तलब वृद्धि गरी आफूहरुलाई बिभेद गरेको भन्दै केन्द्रीय कार्यक्रम अनुसार उनीहरु आन्दोलनमा उत्रेका हुन्।

जिल्लाभरका राजपत्र अनंकित कर्मचारीहरु आफू कार्यरत कार्यालयमा बिदा लिएर सदरमुकाम तौलिहवामा भेला भएका थिए। भेलामा कर्मचारी युनियन र संगठन लगायतका सबै कर्मचारीहरु सहभागी भई उनीहरुले असमान तलब वृद्धिको विरोध गदै समान तलब वृद्धि नभएसम्म आफूहरु आन्दोलनमा उत्रने बताएका छन्। 

नेपाल निजमति कर्मचारी संगठनका अध्यक्ष प्रकाश गौतमले राजपत्र अनंकित कर्मचारीहरुको माग प्रति एक्येबद्धता जनाउदै तलब वृद्धि समान हुन पर्ने बताए। सरकारले हाल राजपत्राकिंत कर्मचारीको वृद्धि गरेको तलब रोक्का गरेका कुरा सुने पनि लिखितमा सो कुरा आउनु पर्ने माग गरे। 

नेपाल निजमति कर्मचारी युनियनका जिल्ला अध्यक्ष झक बहादुर आलेले संघीय सरकारले ल्याउन लागेको निजामति सेवा ऐन सबै कर्मचारीहरुको सम्मान हुने किसिमको ल्याउनु पर्ने माग समेत गरे। आत्मसम्मानमा ठेस पुग्ने गरी ऐन ल्याउन नहुने उनले बताए। यस्तै राजपत्र अनंकित कर्मचारीको वृत्ति बिकास र बढुवा समेत कार्य संपादनका आधारमा हुनुपर्ने बताए। कर्मचारीहरुको आन्दोनलले सरकारी कार्यालयको सेवा प्रभावित भएको थियो। 

प्रकाशित: २४ श्रावण २०७९ १६:०४ मंगलबार