समाज

छुट्टाछुट्टै स्थानमा २ जना पुरुष मृत फेला

मोरङको सुन्दरहरैँचामा कन्टेनरभित्र र बेलबारीमा सुतेकै ओछ्यानमा युवा मृत फेला परेका छन्। मंगलबार बिहान पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरमा कन्टेनर (गाडी) को चालक बस्ने सिटमा आन्दाजी ४५/५० वर्षीय पुरुषको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठ जानकारी दिए।

चार दिनदेखि सडकमा रोकेर राखेको ना ३ ख ४७४३ नम्बरको कन्टेनरको अगाडिको सिटमा शव भेटिएका पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। कन्टेनरको ढोकाभित्रबाट लक गरेको अवस्थामा शव फेला परेको थियो। मृतक कन्टेनरका चालक वा सहचालकमध्ये एक भएको हुनसक्ने अनुमान गरिएको छ। तर, कहाँबाट ल्याएर कन्टेनरलाई सडकमा रोकिएको हो भन्ने खुल्न सकेको छैन। कन्टेनरका सम्बन्धित व्यक्ति फेला नपरेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, बेलबारी नगरपालिका–३ स्थित न्यू-पाथीभरा बरफ फ्याक्ट्रीमा अन्दाजी २७/२८ वर्षीय विशाल राई मृत फेला परेका छन्। खाना खाएर अन्य कामदारसँगै राति सुतेका राई ओछ्यानमै मृत भेटिएको प्रहरीले जनाएको छ। मुखबाट रगत बगिरहेको अवस्थामा ओछ्यानमा शव भेटिएका राईको ठेगाना खुलेको छैन।

राई सानैमा बेलबारी–३ का तारा कटुवालको घरमा आएर बसेको खुलेको छ। ७/८ वर्षअघि कटुवालको घरबाट निस्किएर हिँडेपछि उनले ट्याक्टरमा काम गर्न थालेको प्रहरीले जनाएको छ। अहिले भने बरफ फ्याक्ट्रीमा काम गर्दै आएका थिए। राईलाई ३ दिनदेखि ज्वरो आएको थियो। बिहानीपख छात्ती दुख्यो भनेर छटपटाएका उनको केही बेरमै मृत्यु भएको मजदुरलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

प्रकाशित: २४ श्रावण २०७९ १३:५१ मंगलबार

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका बेलबारी नगरपालिका