समाज

टेन्ट र छाप्रामा बसेका प्रहरीलाई हतियार जोगाउनै मुस्किल

फाइल तस्बिर

भारतसँग सीमा जोडिएका कञ्चनपुरका २० वटा स्थानमा रहेका सशस्त्र प्रहरीका बोर्डर आउट पोस्ट (बिओपी)मध्ये छबाहेक अन्यमा भौतिक संरचनाको अभाव रहेको छ।

वर्षात्का बेला सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीलाई बस्नकै लागि भरपर्दो भौतिक संरचना नहुँदा सास्ती खेप्न बाध्य छन्। पुर्नवास, बेलौरी, देवीस्थान, भुडा, ब्रम्हदेव, पचुइमा मात्रै बस्नका लागि भवन रहेका छन्। अन्य बिओपीमा बस्नका लागि टेन्ट र कच्ची संरचना रहेका छन्।

अधिकांश बिओपी बस्नलायक नभएको बताइएको छ। वर्षात्का बेला टेन्ट र छाप्रामा बस्नुपर्दा हतियार जोगाउनै सशस्त्र प्रहरीलाई मुस्किल छ। टेन्ट र छाप्रा चुहिनेसँगै डुबानमा समेत पर्ने भएकाले सशस्त्र प्रहरीलाई निकै सास्ती छ। वर्षात् आउनुअगावै टेन्टमा रहेका बिओपीमा बस्ने जवानका लागि नयाँ टेन्टको व्यवस्था गरिएको सशस्त्र प्रहरी बल ३५ नम्बर गण झलारीका सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर ऐरले बताए। 'टेन्ट पुराना भइसकेका थिए,' उनले भने, 'जगेडा रहेका टेन्ट उपलब्ध गराएका छौँ।'

जग्गा प्राप्ति नहुँदासम्म केन्द्रले बजेट नदिने व्यवस्थाका कारणले भौतिक संरचना बनाउन नसकिएको उनको भनाइ छ। 'सबै ठाउँमा जग्गा प्राप्तिको प्रक्रिया चलिरहेको छ,' उनले भने, 'केन्द्रबाट बजेट आएपछि भौतिक संरचना निर्माण गर्छौँ।'

दुईवटा फरवार्ड अब्जर्बेशन क्याम्पका लागि भने बोलपत्र भएको उनले बताए। वर्षात्का बेला खल्ला मुसेट्टिलाई छाडेर सबै ठाउँमा गाडीमा पुग्न सकिने उनले बताए। उनका अनुसार पाँचदेखि सात किलोमिटरको दूरीमा बिओपी राखिएका छन्। “पाँचदेखि सात किलोमिटरमा बिओपी छन्। बिओपी स्थापना भएपछि सीमामा हुने आपराधिक गतिविधि कम भएका छन्”, उनले भने। डोकेबजारबाट खल्लामुसेट्टिसम्मको भारतसँग जोडिएको एक सय २९ किलोमिटर क्षेत्रको सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई छ। रासस

प्रकाशित: २४ श्रावण २०७९ ०५:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App