समाज

तर्क र कुतर्कको चेपुवामा ऐतिहासिक ‘बागदरबार’

राजधानीको मुटुमा एउटा यस्तो परिसर छ जुन इतिहासका तीन कालखण्डको साक्षी बनिसकेको छ। त्यसभित्र एउटा ऐतिहासिक भवन पनि छ। त्यो हो बागदरबार। २०७२ सालको भूकम्पपछि यसले आफ्नो वास्तविक रूप गुमाइसकेको छ।

तैपनि यसमा कसैको सकारात्मक दृष्टिकोण पुगेको छैन। वर्षौदेखि यो जीर्णोद्वारको पखाईमा छ। कुनै पनि बेला ढल्न सक्छ बागदबार। विभिन्न किसिमका तर्क र कुतर्कले त्यसलाई पहिलेकै अवस्थामा फर्काउने विगतका पहलहरू तुहिएका छन्।

भूकम्पअघि काठमाडौं महानगरपालिकाले पूर्ण रूपमा भोगाधिकार गर्दै आएको यो भवन सम्बन्धित निकायले चासो नदिंदा अहिलेसम्म पनि संरक्षणको पर्खाइमै छ। ढलिसकेपछि उठाउनेभन्दा पनि समयमै सबलीकरण गर्दा राजधानीको एउटा सम्पदाले जीवन्त पाउनेछ।

पृथ्वीनारायण शाहको पालामा उनका भाइभारदारले प्रयोग गरेको यो क्षेत्र पछि राणाकालीन समयसम्म विभिन्न कालखण्डको साक्षीका रूपमा ठडिरहेको छ। पछिल्लो समय करिब १७ रोपनी क्षेत्रफलमा सीमित यो दरबार राणाकालमा उत्तरमा धरहरादेखि दक्षिणमा केन्द्रीय कारागारसम्म फैलिएको थियो।

‘अहिलेको धरहरादेखि तलको केन्द्रीय जेलसम्म पक्कै पुग्छ’, इतिहासकार दिनेशराज पन्त भन्छन्, ‘हरि समसेरकै पालामा पनि केही विक्री हुन सुरु भयो होला। पछि हरि समसेरका सन्तानहरुले बेच्दै गए होला। कतिलाई बकस दिए होला। त्यो त पूरै एरिया हो नि।’

२००७ सालपछि सरकारी स्वामित्वमा रहेको यो दरबारमा केही समय अर्थ मन्त्रालय बसेको थियो। २०६० पुस २८ गते तत्कालीन श्री ५ को सरकारले उक्त दरबार काठमाडौं महानगरपालिकालाई दिएकाले त्यसै वर्ष चैत २७ गतेदेखि महानगर त्यहाँ सरेको थियो।

यसरी काठमाडौं महानगरपालिकासम्म पुगेको यो भवनसहितको जग्गा पछिल्लो समयको महाभूकम्पपछि अभिभावकविहीन अवस्थामा छ। उसो त काठमाडौं महानगरपालिकाले यो भवन पुनः निर्माणका लागि त्यसबेला प्रयास नगरेको भने होइन। जन प्रतिनिधि आउनुअघि नै काठमाडौं महानगरपालिकाका तत्कालीन कार्यकारी प्रमुख रुद्धसिंह तामाङले ऐतिहासिक दरबार भत्काएर नयाँ संरचना बनाउने कार्ययोजना अघि सारेका थिए। सम्पदा अभियन्ताले त्यसको विरोध गरेपछि पछि सरेका थिए।

स्थानीय सरकारको पहिलो कार्यकालमा निर्वाचित भएर आएका काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुरानै निर्णय दोहोर्‍याएपछि यो विवाद सर्वोच्चसम्म पुग्यो। बागदरबार भत्काएर नयाँ ‘मल्टिपर्पस’ संरचना निर्माण गर्ने तयारीमा महानगरपालिका थियो। प्राचीन(लिच्छिवि)काल, मध्य (मल्ल)काल र आधुनिक राणाकालीन गरी तीन कालखण्डको शैलीका साथ त्यो ठाउँमा ठूलो संरचना बनाउने योजना मेयर विद्यासुन्दर शाक्यले अघि सारेका थिए। बागदरबार भत्काउँदा ऐतिहासिकता र पहिचान नै लोप हुने भएकाले संरक्षण गर्न माग राखेर जनहित संरक्षण मञ्चका तर्फबाट वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, रमा पन्त खरेल र सम्पदा जोगाउ अभियन्ता सञ्जय अधिकारी तथा गणपतिलाल श्रेष्ठले सर्वोच्चमा रिट हालेका थिए।

‘हामीले बागदरबार स्थानीय सरकारले संरक्षण गर्छ भन्ने सोचेका थियौं’, रिटकर्तामध्येका एकजना गणपतिलाल श्रेष्ठ भन्छन्, ‘हामीले काठमाडौं महानगरपालिकालाई विभिन्न समयमा सचेत समेत गरायौं। पुरानो कुरामा पनि सचेत गरायौं। बागदरबार छिर्दाको किनारातिरको भाग बनाउन सकिएला भनेर सल्लाह पनि दियौं’ तत्कालीन घटना सम्झिंदै उनी भन्छन्, ‘उहाँहरू (तत्कालीन मेयर) ले महानगरको भवन त्यहीं बनाउनुपर्ने एकोहोरिएर अडान लिनुभयो। त्यसपछि हामीसँग अन्तिम विकल्प भनेको न्याय माग्न जाने ठाउँ भनेको सम्मानित सर्वोच्च अदालत नै थियो।’

सर्वोच्च अदालतले बागदरबारमाथि काठमाडौं महानगरको भोगचलनको मात्रै अधिकार रहेको तर स्वामित्व नरहेको भन्दै भत्काएर नयाँ बनाउने योजना गलत ठहर ग¥यो। त्यसपछि महानगरपालिकाको चासोभन्दा बाहिर नै रह्यो बागदरबार। भूकम्प र त्यसपछिका पराकम्पनबाट कार्यालय चलाउन नसकिने अवस्थामा पुगेको बागदरबारका राजस्व विभाग र शहरी विकास विभागबाहेक कामपाका अन्य विभाग, जिल्ला समन्वय समिति, बबरमहल, राष्ट्रिय सभागृह र सुन्धाराको जेडिए कम्प्लेक्समा सञ्चालन भइरहेका छन्। एकै स्थानबाट महानगरले सेवा सञ्चालन गर्न नसक्दा सेवाग्राहीले सास्ती पाइ नै रहे। यो कुराबाट अनभिज्ञ छैन महानगर पनि।

‘सेवाग्राही त छोड्नुस्। हामी जस्तो जनप्रतिनिधि, कर्मचारी यिनीहरूलाई पनि गाह्रो भइसकेको छ’, काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं वडा नं १७ का अध्यक्ष नविन मानन्धर भन्छन्, ‘एउटा कामका लागि हामीले यी सबै ठाउँ घुम्नु परेको छ भने सेवाग्राहीलाई कति गाह्रो होला?’

बागदरबार वा हरि भवन?

यसअघिका मेयर विद्यासुन्दर शाक्यको पालामा महानगरले बागदरबारको नामको विषयमा अर्को विवाद समेत उठाएको थियो। काठमाडौं महानगरपालिकाले भत्काउने भनेको भवन बागदरबार नभई राणाकालमा हरि समसेरले भोग गरेको हरि भवन भएको महानगरको तर्क थियो। यस स्थानको सम्पूर्ण क्षेत्र बागदरबारको क्षेत्र भएको र अहिले जीर्ण रहेको भवन मात्रै हरि भवन भएका कारण दुवैको इतिहास नमेटाउनुपर्ने इतिहासकार दिनेशराज पन्तको तर्क छ।

‘दुवै भन्नु उपयुक्त हुन्छ। जमानामा त्यो बागदरबार थियो। इतिहास भनेको ‘इति’ यस्तो, ‘ह’ पक्का, ‘आस’ थियो। त्यसैले पुराना कुराको रक्षा गर्न। सम्पदा रक्षा गर्‍यो कि नाश गर्‍यो एउटा कुरा छ’ पन्तले भने। मुलुकको नयाँ राजनीतिक संरचना अनुसार तीन वटै सरकारले इतिहास जोगाउन काम गर्नुपर्ने उनी बताउँछन्। ‘स्थानीय सरकारले होस्, प्रादेशिक सरकारले होस् वा संघीय सरकारले भएका बेला त एक किसिमले हरि भवनको पनि इतिहास मेट्न हुँदैन। तर बढी पुकार्नुपर्ने त बागदरबार नै हो।’

यता सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ हरि भवन र बागदरबारका नाममा काठमाडौं महानगरपालिकाले अलमलाउन खोजेको आरोप लगाउँछन्। जीवन्त दरबार चिनाउन सगोलमा बागदरबार नै भन्यौ। नयाँ भवन बनाउन काठमाडौं महानगरपालिकाले यसलाई सामान्यीकरण गर्दै व्यक्तिको भवन भन्न हरि समसेरको छोरालाई प्रस्तुत गरेको सम्पदा अभियन्ता श्रेष्ठको आरोप छ।  

‘पछिल्लो समय हरि समसेरको बसेको हरि भवनको मात्रै तुलना गर्न उहाँहरूले गर्न खोज्नुभएको हो तर हामीले हेर्दा त्यो पूरा बागदरबार हो। किनभने अहिले पनि त्यहाँ तलेजु भवानीको मन्दिर जीर्ण छ। ९० सालपछि बनेको छैन। त्यो ठाउँमा तान्त्रिक विधिबाट बनेको देवीको मन्दिरदेखि थुप्रै कुरा छ। त्यो कुरा त झन् बाह्य पर्यटकलाई चिनाउन र बुझाउन सक्नुपर्छ’, श्रेष्ठले भने।

संग्रहालय कि महानगरको भवन

पछिल्लो समय भने यसका नाम र संरक्षणको विषयमा खासै विवाद देखिएको छैन। काठमाडौं महानगरपालिकाले सर्वोच्च अदालतको आदेश र सम्पदा अभियन्ताको आवाज सम्बोधन गर्दै यो क्षेत्रको संरक्षण गर्ने भएको छ। भवनको रेक्ट्रोफिट अर्थात् प्रबलीकरण गर्ने भएको हो। जसका लागि महानगरपालिकाले चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ विनियोजन समेत गरिसकेको छ।

‘इतिहासलाई पनि पूर्ण जगेर्ना हुने गरी अब रहेको बाग दरबार/हरि भवनलाई काठमाडौं महानगरपालिका फेरि बस्नयोग्य हुने गरी यसलाई रेक्ट्रोफिट गर्न गइरहेका छौं,’ महानगरका प्रवक्ता मानन्धरले जानकारी दिदै भने, ‘यो आर्थिक वर्षमा काम सुरु पनि हुन्छ। जीर्ण बागदरबार रेक्ट्रोफिटिङ गरेर एकै ठाउँबाट सेवा विस्तार गर्नुपर्छ।’

यता सम्पदा अभियन्ता भने महानगरले रेक्ट्रोफिट गरी पुनः सञ्चालनमा ल्याउने भवनको विरोध गर्ने जनाएका छन्। बागदरबार ऐतिहासिक महत्त्वको क्षेत्र भएकाले दैनिक कामकाज गर्न नहुने तर्क उनीहरूको छ।

‘यसलाई संग्रहालयको रूपमा प्रयोग गरौं। एउटा कृति नै हुन्छ। होइन भने यसलाई रेक्ट्रोफिट गरिसकेपछि दैनानुदिन चल्ने अड्डाको रूपमा प्रयोग गरौं। कुनै शाखाहरू राखेर, खाली बनाउने र त्यसै राख्ने कामचाहिं नगरौं’ इतिहासकार पन्त महानगरलाई सुझाव दिंदै भन्छन्, ‘संग्रहालय राखे सबैभन्दा राम्रो राम्रो। किनभने यो आवश्यक पनि छ।’

‘कामकाजको कार्यालय टेकुमै अगाडि बढाउनुपर्छ भन्ने हाम्रो सुझाव हो’ निर्देशन शैलीमा सुझाव दिंदै सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ भन्छन्, ‘ऐतिहासिक बागदरबारको महत्त्व पनि कायम गरेर बाहिरबाट आउने पाहुनालाई स्वागतसत्कार र त्यहाँ सेमिनार गोष्ठी सञ्चालनमा ल्याए राम्रो। हिजोको संग्रहालयलाई जीवन्त रूपमा विकास गरियोस् भन्ने हाम्रो चाहना हो।’

हाल काठमाडौं महानगरपालिकाले उक्त भवनको करिब ५ प्रतिशत भाग मात्रै प्रयोग गरिरहेको। नगर प्रहरी, कानुन विभाग, न्यायिक समिति र जन्मदर्ता घटनाविवरण पञ्जीकरण शाखा लगायतका सेवा महानगरले यो भवनबाट उपलब्ध गराइरहेको छ।

तीन कालखण्डको साक्षी बसिकेको यो ऐतिहासिक बागदरबार क्षेत्रलाई अहिलेकै अवस्थामा राख्नुभन्दा पनि यसको पुरातात्त्विक महत्त्वलाई आत्मसात् गरेर संरक्षण गर्नु बुद्धिमानी हुनेछ।

प्रकाशित: २३ श्रावण २०७९ १०:५० सोमबार