समाज

राजधानीको फोहोर उठ्ने टुंगो छैनः महानगरपालिका

काठमाडौँ कमलादीस्थित प्रज्ञाभवन नजिक थुप्रिएको फाेहाेर। तस्बिरः प्रदीपराज वन्त।

काठमाडौँका सडकबाट फोहोर उठाउन छोडिएको छ। सिसडोलदेखि बञ्चरेडाँडासम्मको सडकमा गाडीले धुलो र धुवाँ उडाएको भन्दै स्थानीयवासीले अवरोध गरेपछि आइतबार (हिजो)देखि पुन: काठमाडौँ उपत्यकाको फोहाेर उठ्न छोडेको हो।

सडकका पेटी र नदी किनारहरुमा फोहोरका डंगुर यत्रतत्र छरिएका छन्। राजधानी प्रदूषित भएको छ। पटक-पटक विभिन्न माग राख्दै हुने स्थानीयवासीको आन्दोलनका कारण काठमाडौँको फोहाेर नियमित नउठेको सम्बन्धित निकायका पदाधिकारीहरुले बताउँदै आएका छन्।

काठमाडौँ महानगरपालिकाले धुलो, धुवाँ र फोहाेरबाट दुर्गन्ध आयो भनी सिसडोलका स्थानीयवासीले दैनिक अवरोध गरिरहेकाले फोहोर उठाउन नसकिएको प्रवक्ता नवीन मानन्धरले नागरिक न्यूजलाई जानकारी दिएका छन्।

उनले समस्याको समाधान नभइन्जेलसम्म उपत्यकाका फोहोर उठ्न कठिन हुने बताए। ‘काठमाडौँका फोहोर अरु तरिकाले व्यवस्थापन गर्ने माध्यम छैन, अब के गर्ने भन्ने बारेमा छलफल भए पछि मात्र थाहा हुन्छ’, उनले भने।

कहिले स्थानीयवासीको अवरोधका कारण त कहिले सडक मर्मत भइरहँदा फोहाेर नियमित जान सकिरहेको छैन। दैनिक चार/पाँच घण्टा रोकिँदा पनि काठमाडौँमा फोहाेर प्रभावित हुने र समस्या बढ्ने काठमाडौँ महानगरपालिका, वातावरण विभागकी प्रमुख सरिता राईले बताइन्।

प्रकाशित: २३ श्रावण २०७९ ०९:३८ सोमबार

सिसडोलदेखि बञ्चरेडाँडासम्म सम्बन्धित निकायका पदाधिकारी