समाज

कोसी पीडित बेलकाबासीलाई 'सेभ द चिल्ड्रेन'को सहयोग

क्याप्सनः बाढीपीडित परिवारलाई सामग्री बितरण गर्दै जनप्रतिनिधि र सेभ संयोजक (दायाँ)। तस्विरः महेश्वर/नागरिक

सप्तकोसी फुटेर गाउँ पस्दा बिस्थापित हुन पुगेका बाढी पीडितहरुलाई अन्तराष्ट्रिय दातृ निकाय सेभ द चिल्ड्रेन उदयपुरले अत्यावश्यक सामग्री सहयोग गरेको छ। 

उदयपुरस्थित बालविकास समाज (सिडिएस) नेपालसँगको साझेदारीमा बिभिन्न सामाजिक गतिबिधिमा क्रियासिल सेभ द चिल्ड्रेन परियोजनाले बेलकाका वडा नं. ८, ३ र २ नं. वडाका कोसीपीडित परिवारलाई सहयोग गरेको हो।  

खासगरी बाढीको चपेटामा परेका बालबालिकालाई लक्षित गरी सेभले बिभिन्न सामान सहयोग गरेको सेभका कार्यक्रम संयोजक दीपक बुढाथोकीले बताए। सामग्री पाउनेमा बेलका ३ का ५० घरधुरी छन् भने ८ र २ नं. वडाका पनि रहेका छन्। बाढी प्रभावित बालबालिकाका लागि बेबीकिट र हाईजिनकिट उपलब्ध गराएको छ भने बयस्कहरुका लागि डिग्नीटीकिट उपलब्ध् गराइएको बुढाथोकीले बताए।  

पीडित परिवारका ३ देखि ५ वर्षभित्रका बालबालिकाले प्रयोग गर्ने बेबीकिट भन्नाले बालबालिकाले लगाउने लुगा, ब्लाङ्केट आदि सामग्री राख्ने झोला हो। त्यस्तै हाईजिनकिट भन्नाले सरसफाई तथा स्वच्छतासम्बन्धी सामग्रीहरु बाल्टिन, मग, भित्रि लुगा, पानी छान्ने कपडा, तौलिया, ब्रस, मञ्जन आदि सामानयुक्त झोला हो।  

त्यसैगरी ठूला मान्छेले प्रयोग गर्ने डिग्नीटीकिट भनेको झुल, पिफोर्म, स्यानेटरी प्याड, महिलाको भित्री लुगा, साबुन, व्रस आदि सामग्री भएको झोला भनेर बुझ्नुपर्ने बुढाथोकीले बताए। बुढाथोकीसहित बालविकास समाजको टोली शुक्रबार, शनिबार र आईतबार बेलकाको बाढी प्रभावितक्षेत्रमै पुगेर स्थानीय जनप्रतिनिधिमार्फत लक्षित बर्गलाई सामग्री बितरण गरेको हो। जस अनुसार बेलका ३ स्थित कोसी जनता माध्यमिक विद्यालयमा आश्रयरत ३५ घरधुरीले सामग्री पाएका छन् भने सोही वडाको आदर्श आधारभूत विद्यालयमा आश्रयरत १५ घरधुरीलाई नै सामान दिइएको छ।

बेलका ८ को गुन्टेचौरीमा आश्रय लिईरहेका ३५ र वडा नं. २ को बान्डाँडामा आश्रयमा रहेका ५ घरधुरीलाई सामग्री हस्तान्तरण गरेको छ। बिस्थापित भएर बेघरवार हुन पुगेका पीडितहरुलाई नगरपालिकाकाले खाद्यान्न उपलव्ध गराएको हुनाले सेभले अन्य सामगी दिएको बुढाथोकीले बताए। सेभले ३ नं. वडामा मात्र २ लाख ७ हजार ८ सय ६८ रुपैंया मूल्य बराबरको राहत सामग्री दिएको छ भने अन्य वडामा १ लाख हाराहारीको सामग्री बितरण भएको जनाएको छ।

पीडितलाई सामग्री सहयोग गरेकोमा बेलका नगरप्रमुख अशोक कार्कीले सेभलाई धन्यबाद दिएका छन्। उनले कोसीको बाढीले बिगत वर्षदेखि नै नगरबासीलाई पिरोल्दै आएकोमा यसवर्ष बाँध फुटेर धेरै क्षति गरेको बताउँदै सेभसँग आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा गरेको बताए। मेयर कार्कीले पीडितको उद्धार, पुनस्र्थापना र राहतका लागि प्रदेश र संघीय सरकारसँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय दातृ निकायहरुलाई पनि सहयोगको अपिल गरेका थिए। कार्यक्रममा ३ नं. वडाध्यक्ष टंकप्रसाद आचार्य र ८ वडाध्यक्ष जयकुमार राईले पनि सेभको सहयोगप्रति कृतज्ञता जाहेर गरेका थिए।  

गएको १५ गतेदेखिको अबिरल वर्षाका कारण सप्तकोसी नदीको बाढील बेलका ८ डुम्रीबोटे लाउरीखोँचमा ३५ वर्षअघि बाँधिएको बाँध फुटाएर गाउँ पसेपछि ८, ३, ९ र २ वडाबासी बिस्थापित भएका छन्। नगरपालिकाका अनुसार १ हज ार ५ सयभन्दा बढी घरधुरी बाढीले बिस्थापित बनाएको छ। बालबालिकाको क्षेत्रमा स्थापनाकालदेखि नै लागी पर्दै आएको सेभ द चिल्ड्रेनले विपत व्यवस्थापनमा कार्यरत संघसंस्था, जिल्ला र स्थानीय विपत व्यवस्थापन समितिहरुसँग समन्वय गरेर उद्धार र राहत बितरणको काम गर्दै आएको छ। उदयपुरमा पनि बिगत दुईदशकयता सेभले स्थानीय संस्थासँगको साझेदारीमा बाल गरिबीसम्बन्धी परियोजना सञ्चालन गर्दै आएको छ।  

बुढाथोकीका अनुसार प्रत्येक बालबालिकाको सुन्दर भविष्य बनाउने अभियानमा रहेको सेभले हरेक दिन नेपाल र संसारभरका बालबालिकालाई जीवनको स्वस्थ्य सुरुवात गर्न, राम्रो सिक्न र हिंसाबाट सुरक्षित राख्न बिभिन्न गतिबिधि गर्दै आएको छ। ‘यो संस्था हरेक दिन र हरेक विपतको समयमा बालबालिकाको हितका लागि काम गर्छ’ संयोजक बुढाथोकीले भने ‘ताकी बालबालिकाको जीवन र भविष्य दुवै सुन्दर, स्वस्थ्य र सुरक्षित होस्।’

प्रकाशित: २२ श्रावण २०७९ १३:५१ आइतबार