समाज

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङद्वारा वैवाहिक अंगिकृत नागरिकता प्रदान

आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले ६ वटा वैवाहिक अंगिकृत नागरिकता प्रदान गरेको छ। आव २०७७/०७८ मा यस्तो प्रकृतिका ५ वटा नागरिकता वितरण गरिएको थियो। 

नेपाली पुरुषसँग विवाह गरी आउने महिलालाइ वैवाहिक अंगिकृत नागरिकता प्रदान गरिन्छ। वैवाहिक अंगिकृत प्राप्त गर्न फोटो समेत प्रमाणित गरी स्थानीय तहबाट सिफारिस गरिएको अनुसूची–७ फारम, विवाह दर्ता प्रमाणपत्र र सपथपत्र,सम्वन्धित देशको पहिचान खुल्ने निस्सा र नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण,सनाखत गर्ने पति र निजको नेपाली नागरिकता प्रमाणपत्र, फोटो र प्रमाणीकरण गर्न आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको मुचुल्का आवश्यक पर्छ। 

प्रमाण पुगेमा पेश भएकै दिन यो नागरिकता प्रदान गर्न सकिने व्यवस्था रहेको छ। तर नागरिकता प्राप्तिका लागि सबै कागजात तथा प्रमाण सक्कलै हुनुपर्ने व्यवस्था रहेको छ। प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले प्रमाणित गरेको अभिलेख जिल्ला प्रशासन कार्यालयले आफ्नो वेवसाईटमार्फत बार्षिक प्रगति विवरण सार्वजनिक गरेको हो। 

जस अनुसार आव ०७८/७९ मा बंशजको आधारमा ५ हजार ४ सय ५८ नागरिकता वितरण भएको छ। आव २०७७/०७८ मा यो प्रकृतिको नागरिकता प्रमाणपत्र पाउनेको संख्या २ हजार ८ सय २३ रहेको थियो। आव २०७८/०७९ मा २ हजार ९ सय ७७ वटा नागरिकता प्रमाणपत्रको प्रतिलिपि वितरण भएको छ। आव २०७७/७८ मा यो संख्या २ हजार १ सय ८ रहेको थियो।  

प्रकाशित: २२ श्रावण २०७९ १३:५१ आइतबार