समाज

परम्परागत ज्ञान र सीप संरक्षण गर्दै आदिवासी महिला

काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा हाउसमा ‘आदिवासी परम्परागत संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका’ बारे आयोजित अन्तर्क्रियाका सहभागी ।

आदिवासी महिलाले परम्परागत ज्ञान र सीपलाई संरक्षण र पुस्तान्तरण गर्न मुख्य भूमिका खेलिरहेको सरोकारवालाले बताएका छन्। शनिबार काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा हाउसमा ‘आदिवासी परम्परागत संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका’ बारे आयोजित अन्तर्क्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन्।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले युरोपियन युनियनको सहयोगमा ‘आदिवासी अधिकार रक्षकहरूको संरक्षण गरी नेपाल र पेरूका छनोटमा परेका समुदायको भूमि अधिकारको  सम्वर्द्धनगर्ने’परियोजना अन्तर्गत २८औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा सो कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा ‘आदिवासी समुदायका पर्वमा रक्सीको महत्त्व बढी हुने रक्सी उत्पादन गर्न पाउनुपर्छ’ भन्दै सरकारलाई दबाब दिनुपर्नेमा जोड दिइएको थियो।

राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च अध्यक्ष सुनी लामाले लोकल रक्सी उत्पादन गर्ने परम्परागत ज्ञानको मुख्य हकदार आदिवासी जनजाति महिला रहेको तर ब्रान्डिङ गर्ने बहानाले अधिकार खोसिने बताइन्। यदि, ब्रान्डिङ नै गर्ने हो भने त्यसको प्याटन राइट्स आदिवासी महिलामा हुनुपर्ने उनको भनाइ रहेको छ। लामाले भनिन्, ‘ब्रान्डिङ गर्दा निश्चित व्यापारीलाई फाइदा होला तर तमाम आदिवासी महिलाबाट परम्परागत ज्ञान र परम्परागत अर्थ व्यवस्था खोसिन्छ।’

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे शेर्पाले भने, ‘सरकारले रक्सी उत्पादन गर्न निषेध गरिरहेको अवस्थामा हामी आदिवासी एकजुट भएर आदिवासी महिलाले रक्सी उत्पादन गर्न पाउन सरकारलाई दबाब दिनुपर्छ।’

त्यसैगरी राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका संस्थापक अध्यक्ष स्टेला लामाले बौद्धिक सम्पत्ति संरक्षणको नाममा आदिवासी जनजाति महिलाको परम्परागत ज्ञानमाथि हस्तक्षेप गर्ने नीति अघि सारिएको आरोप लगाइन्।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका महासचिव शान्ति देवानले लोकल रक्सी उत्पादन आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र अर्थ व्यवस्था रहेको बताउँदै उक्त ज्ञानको राज्यपक्षबाटै संरक्षण र प्रवर्द्धन हुनुपर्नेमा जोड दिए।

यस्तै, कार्यक्रममा आदिवासी महिलाले प्रयोग गर्दै आइरहेको परम्परागत ज्ञान र सिपको संरक्षण गर्नुपर्नेमा पनि सहभागीले जोड दिएका थिए।  

प्रकाशित: २२ श्रावण २०७९ ०३:२७ आइतबार

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ परम्परागत ज्ञान र सीप संरक्षण