छाडा चौपायाका कारण कृषकहरु हैरान भएका छन्। छाडा चौपाया विशेष गरी गाई गौरुले कृषहरुले खेतमा रोपेको धान बाली सखाप परेपछि मर्कामा परेका हुन्। मलखादको अभावका बीच जसोतसो गरी रोपाइँ गरेका जिल्लाका १० वटै पालिकाका कृषकहरु छाडा गाई गोरुले गर्दा हैरान भएका हुन्।
जिल्लाको गाउँदेखि शहरको चोक-चोक र खेत खेतमा छाडा चौपायाहरु रहेका छन्। कृषकहरुले जति भगाए पनि गाई गोरुहरुले धान खाएपछि यस वर्ष धान बालीमा ठूलो नोक्सानी व्यहोर्न बाध्य छन्। कपिलवस्तु नगरपालिका वडा नम्बर ३ भिक्षु चोकका कृषक अजय शाहानीले छाडा चौपायाले आफ्नो खेतमा रहेको धानबाली खाएर हैरान पारेको बताए।
नगरपालिका वडा नम्बर ३ कपिललस्तु क्याम्पसको अगाडि लगाएको धान जति सबै गाई गोरुले खाएको उनले दुःखेसो पाखे। ‘रोपेका धान बचाउन बार लगाएपछि त्यसलाई भत्काएर गाई गोरुले खाइदिए’ उनले भने ‘जरादेखि नै धान खाएपछि यस पाली धान खेतीमा ठूलो नोक्सानी व्यहोर्न परेको छ।’ छाडा चौपया व्यवस्थापनकालागि आफूले नगरपालिका र प्रशासनका पटक पटक ध्यानाकर्षण गराए पनि अहिलेसम्म कसैले सुनुवाइ नगरेको बताए।
कृषक संघका जिल्ला अध्यक्ष चुर्तृभचुजमणि त्रिपाठीले मल नपाएर छटपटिएका कृषकहलाई छाडा चौपायाले झनै समस्यामा परेको बताए। ‘कृषकले रोपेका धान जति सबै गाई गोरुले खाई दिएका छन्’ उनले गुनासो गर्दै भने ‘कृषकहरुले मिहीनेत गरी लागाएको धान जति सबै गाई गोरुले खाएपछि ठूलो नोक्सानी सहन बाध्य छन्।’ उनले यसको जिम्मेवारी कसेले लिने उनले प्रश्न तेर्साए। छाडा चौपायको व्यवस्थापनका जिल्लाका १० वटै पालिका र प्रशासन उदासीन बनेको उनले आरोप लगाए।
कृषि ज्ञान केन्द्रका प्रमुख रबिन्द्र चौबेले छाडा चौयाले गदौ जिल्लाको धान बालीमा ठुलो नोक्सानी भएको बताए। यसको बेलैमा व्यवस्था नगरिए धान उत्पादनका ठूला ह्रास आउने उनले बताए। ‘छाडा चौपाया अहिले कृषकहरुका लागि अभिश्राप नै बनेको छ’ उनले भने ‘यसको व्यवस्था १० वटै पालिकाले एकीकृतरुपमा गर्नुपर्छ’ उनले भने। जिल्लामा ७१ हजार ५ सय हेक्टरमा धान खेती गरिन्छ।
उता बढ्दो छाडा चौपाया नियन्त्रण गर्न नसक्दा कपिलवस्तु नगरपालिका अव्यवस्थित बनेको छ। छाडा चौपाया व्यवस्थापनका लागि हालसम्म कुनै कार्ययोजना बनाइएको छैन। काञ्जी हाउस निर्माणका लागि नगरबासीले पटक पटक अनुरोध गरेपनि नगरपालिकाले वेवास्ता गर्दै आएको नगरबासीहरु बताउँछन्। बढ्दो छाडा चौपायका कारण सर्वसाधरणलाई तौलिहवा बजारमा हिँडडुल गर्न निकै समस्या भइरहेको छ।
छाडा चौपायाका कारण दुर्घटना समेत बढेको ट्राफिक प्रहरी बताउँछन्। नगरपालिकाको तौलिहवाका सकड, चोक, गल्ली, हाटबजारमा छाडा चौपयाले निकै समस्या सिर्जना गर्ने गरेका छन्। स्थानीय अगुवा हरि राज शर्माले चोक-चोकमा गोरुले बाटो छेक्दा हिँडडुल गर्न निकै समस्या भएको गुनासो गरे। ‘वर्षो देखिको यो समस्या समाधान गर्न नगरपालिकाले कुनै चासो दिएको छैन,’ उनले भने ‘तौलिहवा बजारमा चौपायाहरुको कारण यात्रु र सवारी साधनलाई धेरै समस्या हुने गरेको छ।’
४० वर्षअघि नगरपालिका घोषित तौलिहवामा छाडा पशु व्यवस्थापन गर्ने योजना एक पटक पनि निर्माण गरिएको छैन। पशुहरुको अवरोधका कारण सडकमा आवत-जातवत गर्ने सर्वसाधरणलाई मात्र होइन सवारी साधनलाई निकै सास्ती व्यहोर्नु परेको छ। एक त साघुरो बाटो, सडकै राखिएका ठेला पसल र सवारी साधनका कारण दिक्क र हैरान भएका सर्वसाधारणहरु छाडा चौपायाका कारण बाटोमा हिडदा थप समस्या भोगिरहेका छन्।
बाटो बाटोमा चौपयाहरु जुध्ने, बिक्रीका लागि राखिएको फलफुल र तरकारी खाईने समस्याले तौलिहवाका व्यापारीहरु पीडीत भएका छन्। गौढी चोकका व्यापारी मदन गुप्ताले गाईगोरुले निकै हैरान गरेको गुनासो गरे। ‘एकछिन आँखा चिम्ल्यो की गाईगोरुले तरकारी खाई दिन्छन्’ उनले भने ‘गाई गोरु धपाउँदा धपाउदा हैरान परेको छु।’
तौहिलवामा मात्र नभै जिल्लाको गाउँदेखि शहर र कृषकदेखि व्यापारी समेत छाडा चौपायका कारण समस्यामा परेका छन्। नगरक्षेत्रमा यतिबेला छाडा चौपाया यती बिध्न बढेका छन् की निर्बाध रुपमा सवारी साधन सञ्चालनमा निकै बाधा पुगिरहेको छ। बजारको मुख्य स्थल गौढी, चिक्षु चोक बहादुरगञ्ज चोक, प्रशासन चोक, नँया टोल र चोक बजारमा गाई, गोरु, साडे, आफनो बास स्थान बनाएका छन्।
त्यस्तै उनीहरुले दिनभरी नै आहार खोज्दै बजार बजार चाहर्ने गरेका छन्। चौपायाले गर्ने जथाभावी दिशा-पिसाबकै कारण बजार क्षेत्रमा दुर्गन्ध बन्दै गएको छ। बाटो–बाटामा गाईवस्तु बस्ने भएकाले यात्रुलाई हिँडडुल र सवारीसाधनलाई आवागमन गर्न समस्या परेको ट्राफिक गुनासो गर्छन्। बाटोमा रहेको चौपायालाई हटाउने की सवारी साधनको चेकजाच गर्ने भन्दै उनीहरुले छाडा पशुका कारण सडक दुर्घटनामा वृद्धिसमेत भएको बताए।
मेयर सुदीप पौडेलले छाडा चौपायका कारण समस्या भएको स्वीकार गरे। उनले छाडा चौपाया व्यवस्थापनका लागि छिमेकी पालिकाहरुसँग कुराकानी भएको बताए। उनले छाडा चौपायको समस्यालाई आफूले गम्भीररुपमा लिएको भन्दै उनले अन्य पालिकाहरुसँग मिलेर यसको चौडै समाधान गरिने बताए।
उता प्रजिअ धर्मेन्द्रकुमार मिश्रले छाडा चौपायाको समाधानका लागि जिल्ला समन्वय समितिको अगुवाइमा १० वटै पालिकाको एकीकृत योजना बनाइ काम गर्नुपर्ने बताए। उनले छाडा चौपाया व्यवस्थापनका लागि आफूले पनि पालिका प्रमुखसँग छलफल र समन्वय गरेको बताए।
प्रकाशित: २१ श्रावण २०७९ १५:५२ शनिबार