समाज

मध्यपहाडी लोकमार्ग: म्याद सकिन ६ महिना बाँकी रहँदा प्रगति दश प्रतिशत भन्दा कम

मध्यपहाडी लोकमार्ग अन्तर्गत पाँचथरको आयाममा पर्ने सडक। तस्विर: गिरिराज/नागरिक

राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गको चिवाभञ्याङ–थर्पु खण्डको कालोपत्रे गर्ने काम अत्यान्त सुस्त बनेको छ। ठेकेदार कम्पनीसँगको काम सम्पन्न गर्ने सम्झौताको मिति सकिन केवल ६ महिना मात्र बाँकी रहँदा प्रगति दश प्रतिशत पनि हुन सकेको छैन।  

भारतको सिक्किमसँग जोडिने लोकमार्गको सुरुवाती बिन्दु मानिएको चिवाभञ्याङदेखि ५० दशमलव ६४ किलोमिटर सडकको कालोपत्रे गर्ने काम अनिश्चित बन्दै गएको छ। तीन प्याकेजमा १ अर्ब ४७ करोडमा ठेक्का लागेको थियो।

मध्यपहाडी लोकमार्गको फिदिमस्थित आयोजना कार्यालयका ईन्जिनियर हिमाल काफ्लेका अनुसार पहिलो प्याकेजमा १०, दोश्रो प्याकेजमा ३ र तेश्रो प्याकेजमा १० प्रतिशतमात्र काम भएको छ।

निर्माण कम्पनीले कामलाई गति नदिँदा यो क्षेत्रको कालोपत्रेको काम अनिश्चित बन्दै गएको छ। बर्खामा दुखःले मात्र गाडी गूड्ने यो क्षेत्रका बासिन्दा काममा ढिलाई भएपछि निराश बन्दै गएका छन्। कालोपत्रे भएर सुविधा पाईने आशमा बसेका स्थानीय बासिन्दा सुविधा त कहिले हो कहिले भन्न थालेका छन्।  

तीनवटै प्याकेजमा  एउटै ठेकेदार भएकाले कुनै पनि प्याकेजको कामले गति पाएको छैन। पहिलो प्याकेज रोशन शिवशक्ति जेभि, दोश्रो प्याकेज सन्तोषी शिवशक्ति जेभी र तेश्रो प्योकज रोशन शिवभक्ति जेभीले ठेक्का पारेका थिए।  कामलाई अघि बढाउनका लागि पटक–पटक अनुरोध गरेपनि ठेकेदारले टेरेको देखिदैन। ठेकेदार कम्पनीका प्रतिनिधि, आयोजना प्रमुख तथा जनप्रतिनिधिको उपस्थितिमा कामलाई तीव्रता दिन केहि महिना अगाडी बढाउन लिखित निर्देशन दिइएको पाँचथर प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए। स्थलगत अनुगमनपछि लिखित निर्देशन दिईेएपनि विभिन्न बाहनामा काम नगर्दा प्रगति अत्यान्त न्यून देखिएको न्यौपाने बताउँछन्।

२०७७ माघ १९ गते दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो। सम्झौता मिति सकिन केवल ६ महिना मात्र बाँकी रहँदा आयोजना स्थलमा खासै चहलपहल देखिदैन। ‘ठेकेदार कम्पनीको अत्यान्त धेरै लापरर्वाही भयो। यहाँँ बर्खामा गाडी कुदाउन एकदमै गारो छ। कालोपत्रे होला र सुविधा पाईएला भन्ने आशा पनि निराशामा परिणत भयो’ स्थानीय अर्जुन बेघाले भने, ‘यो तरिकाले कहिले होलार कालोपत्रे ? सम्बन्धित निकायलाई पटक-पटक ध्यानार्कषण गर्दापनि सुनुवाई भएको छैन।’

चिवाभञ्याङलाई मध्यपहाडी लोकमार्गको सुरुवाती बिन्दु मानिन्छ। यहाँसम्म भारतले पनि अघिल्लो बर्ष सडक ल्याईसकेको छ। पाँचथरको उत्तरी क्षेत्र तथा ताप्लेजुङका विभिन्न गाउँका बासिन्दालाई सुविधा पुग्ने यो सडकको कालोपत्रेको काम निक्कै नै ढिलाई भएको छ। तिम्बु पोखरी लगायत पर्यटकीय गन्तव्य जाने बाटो पनि यहि हो। पहिलो बर्ष माइल स्टोन अन्तर्गत ४० प्रतिशत काम सक्ने सम्झौता थियो। यसको म्याद ६ महिना थप गरेपनि त्यो काम नभएको इन्जीनियर काफ्लेँ बताउँछन्।

च्याङथापु बजारमा निक्कै तामझामका साथ कालोपत्रे गर्ने कामको शिलान्यास भएको थियो। उक्त कार्यक्रममा ठेकेदार शिव शक्तिका निर्देशक सुरेन्द्र पाठकले समयमै काम सक्ने प्रतिवद्धता व्यक्त गरेका थिए। तर समय सकिन केवल ६ महिना बाँकि रहँदा पनि प्रगति १० प्रतिशत कट्न सकेको छैन।

१ अर्ब ४७ करोड १ लाख २० हजार ५ सय १० रुपैँयाको ठेक्कामा हालसम्म ९ करोड ७३ लाख १७ हजार १४ मात्र बजेटको मात्र काम भएको छ। वित्तिय प्रगति केवल ६ प्रतिशत मात्र रहेको छ। काम नहुँदा बजेट फ्रिज हुने गरेको छ।  

चिवाभञ्याङदेखि च्याङ्थापु, फलैचा, ओयाम हुदै थर्पु जोडिन्छ। यी ग्रामीण बजारहरु हुन्। यो क्षेत्रमा ११ बर्ष अगाडी लोकमार्गको सडक पुगेको थियो। यो खण्डकमा कालोपत्रे गर्ने कामको ढिलाईले राष्ट्रिय लक्ष्यमा समेत असर पर्ने देखिएको छ।  मध्यपहाडका २६ जिल्ला जोड्ने यो लोकमार्गको  आर्थिक बर्ष ०७९/८० मा सम्पन्न गर्ने लक्ष्य रहेको थियो।

प्रकाशित: १८ श्रावण २०७९ ०६:०२ बुधबार

राष्ट्रिय गौरवको पुष्पलाल (मध्यपहाडी) लोकमार्ग