समाज

बराह सहकारी प्रकरण: सञ्चालक र कर्मचारीहरूको बैंक खाता र सम्पत्ति रोक्का गर्न पत्राचार

बराह सहकारी पीडितहरु न्यायको माग गर्दै आइतबार धरान उपमहानगरपालिकामा। तस्बिर: रोहित/नागरिक

धरान उपमहानगरपालिकाले बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र सरोकारवाला उच्च तहका कर्मचारीहरुको चलअलच सम्पत्तिसहित बैंक खातासमेत रोक्का गर्न विभिन्न निकायमा पत्राचार गरेको छ।  

बराह सहकारीबारे गठित छानबिन समितिको निर्णय वमोजिम उपमहानगरपालिकाले बराहका पदाधिकारी र जिम्मेवार कर्मचारीहरुको नाममा रहेको चलअचल सम्पत्ति र बैंकमा रहेको स्थिर सम्पत्ति तथा बैंक मौज्जाद रोक्का राख्न विभिन्न ११ वटा निकायमा पत्राचार गरेको हो। 

बराहका सञ्चालक र सम्बद्ध कर्मचारीहरुको सूचीसहित उपमहानगरपालिकाले उनीहरुको सम्पत्ति, बैंक खाता रोक्का गर्न पत्राचार गरिने छानविन समितिकी सदस्य सचिव हेमा थलङले जानकारी दिइन्। ‘छानविन समितिले निर्णय गरे वमोजिम समस्या समाधान नभएसम्को लागि बराहको पदाधिकारी, जिम्मेवार कर्मचारीहरुको बैंक खाता, चलअचल सम्पत्ति रोक्का गर्न पत्राचार गर्दैछौं, पत्र तयार भइसकेको छ,’उनले भनिन्।

उपमहागनरपालिकाले नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, जिल्ला प्रशासन कार्यालय सुनसरी, भूमी व्यवस्था सहकारी तथा गरिबि निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहकारी बैंक केन्द्रीय कार्यालयलाई पत्राचार गरिने भएको छ। यस्तै, जिल्ला सहकारी संघ सुनसरी, वचत तथा ऋण सहकारी संघ इटहरी, वचत तथा ऋण केन्द्रीय संघ (नेप्सुन), सहकारी बैंक धरान शाखा, सम्पत्ति सुद्धिकरण विभाग ललितपुर र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) काठमाण्डौंलाई पत्र तयार भएको छ।

छानविन समितिका अनुसार बराह सहकारीसँगै लगानी भएको विभिन्न ११ वटा व्यवसायिक साझेदार संस्थाहरुको पनि बैंक खाता, स्थिर सम्पत्ति रोक्न पत्राचार गरिएको हो। बराह सहकारीका पीडितहरुको माग वमोजिम छानविन समितिले आइतबार निर्णय गरेको संयोजक भक्तिराज शर्माले जानकारी दिए। बराह ग्रुप अफ कम्पनीको बराह सहकारीबाहेक पनि बराह ज्वेलरी, बराह डिपार्टमेन्ट, बराह कृर्षि उपज तथा पशुपालन, बराह फेमिली किचन, बराह मल्टिप्रपोज कम्पनीलगायत ११ वटा व्यवसायिक संस्थाहरु छ। ती सबैको बैंक खाता तथा सम्पत्ति रोक्का गर्न सिफारिश गर्ने निर्णय छानबिन समितिले गरेको थियो।

७ अर्ब बढी रकम संकलन, हिसाब ५७ करोड मात्र

धरान ग्रुप अफ कम्पनी अन्तर्गतको बराह सहकारीमा कति सेयर सदस्य तथा वचतकर्ताहरु छन्, र कति पैसा फसेको छ भन्ने अझै प्रष्ट भएको छैन। यसअघि पनि पीडितहरुले आन्दोलन शुरु गरेपछि उपमहानगरपालिकाले नै एक समिति गठन गरेर अध्ययन गरेको थियो।

उक्त समितिले पनि यकिन तथ्यांक पाउन नसके पनि १३ हजार ५५४ जना बचतकर्ताहरु देखिएको थियो। ती मध्ये पनि ५ हजार ८८ जना सेयर सदस्यहरु मात्र नेपाल सरकारको कोपोमिस सिस्टममा देखिएको छ। संघर्ष समितिका प्रवक्ता प्रदिप बास्तोलाका अनुसार बाँकी ठुलो संख्याको वचतकर्ताहरु सेयर सदस्यकोरुपमा दाखिला भएको छैन। उनीहरु बराह सहकारीमा पैसा बचत गर्ने र ब्याज लिने बचतकर्ताकोरुपमा मात्र रहेको अध्ययनबाट देखिएको छ।

बराह सहकारीले भने अध्ययन समितिलाई उपलब्ध गराएको विवरण अनुसार ४ हजार ९९१ सेयर सदस्य छन् भने संस्थाको वचतकर्ता १३ हजार ५५४ जना छन्। गत जेठ २१ गते सञ्चालक समितिका अध्यक्ष मानबहादुर विश्वकर्माले पेश गरेको विवरण अनुसार ५७ करोड ९० लाख ८६ हजार ३९५ रुपैया वचत रहेको छ भने लगानी ६७ करोड बढी छ। बराहले जग्गा दृष्टिबन्धक, वचत खाता जमानी, बराह ज्वेलरी इन्भेष्टमेन्ट प्रालि व्यवसाय र कारखानामा लगानी, बराह डिपार्टमेन्टमा लगानी, बराह कृषि उपज तथा पशुपालन प्रालि, बराह फेमिली किचन धरानमा लगानी, बराह भेडेटार मल्टिप्रपोज कम्पनी प्रालिलगायतमा लगानी भएको दाबी गरेको छ।

सहकारीले ५७ करोड ९० लाख वचतको विवरण दिएपनि संघर्ष समितिसँग सम्पर्कमा आएका पीडित वचतकर्ताहरुको हिसाब गर्दा दशौं गुण बढी रकम संकलन भएको देखिन्छ। ‘अहिलेसम्म देशविदेशको गुनासो हेर्दा ७ अर्ब बढी रकम संकलन भएको देखिन्छ, तर सहकारीको सिस्टममा ५७ करोड मात्र देखिन्छ,’प्रवक्ता बास्तोलाले भने, ‘जनतालाई पैसा वचत गर्न लगाएको छ, तर सेयर सदस्य बनाएको छैन। पैसा वचत गर्दा पासबुक चै दिएको छ। सेयर सदस्यहरुलाई पनि पासबुक दिएको छ, वचतकर्ताहरुलाई पनि पासबुक दिएको छ।’ पासबुक सहकारीकै भएकोले पैसा बचत मात्र गर्नेहरुलाई पनि सहकारीसँगै कारोबार गरिरहेको भन्ने परेको उनले बताए।

प्रकाशित: १६ श्रावण २०७९ १४:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App