समाज

पोखरामा १५ घण्टामा २४९ मिलिमिटर वर्षा, निकास नहुँदा घर डुबानमा

पोखरामा झन्डै १५ घण्टाको अवधिमा २४९ मिलिमिटर वर्षा भएको छ। आइतबार बेलुकी ६ बजेदेखि पोखरामा पानी पर्न थालेको थियो। सोमबार बिहान ९ बजेसम्म निरन्तर वर्षा भइरहँदा २४९ मिलिमिटर रेकर्ड भएको जल तथा मौसम विज्ञान कार्यालयले बताएको छ।  

जल तथा मौसम विज्ञान कार्यालय पोखराका मौमस सहायक सरोज अधिकारीका अनुसार पोखरा विमानस्थलको रेकर्डमा १५ घण्टाको अवधिमा २४९ मिलिमिटर वर्षा भएको थियो। यहाँ पोखरा विमानस्थल बाहेक लामापाटन, लामाचौर र मालेपाटनमा पनि वर्षाको रेकर्ड गरिन्छ । लामापाटनको रेकर्डमा भने यो अवधिमा ३३४ मिलिमिटर वर्षा भएको छ।

‘पोखरामा सबै ठाउँमा एकैनासको वर्षा हुँदैन। कतै धेरै र कतै थोरै पर्न सक्छ। लामापाटनमा बढी परेको रेकर्ड छ,’ अधिकारीले भने, ‘तर, पोखरामा वर्षा मापन गर्दा विमानस्थलको रेकर्डलाई आधिकारिक मान्ने गरिन्छ।’ लामामाटनमा केही महिना अघि स्वचालित वर्षामापन स्टेशन राखिएको थियो। अघिल्लो पटक वर्षा हँुँदा पनि लामापाटनको रेकर्डमा शंका लागेर परीक्षण गर्दा सही मापन गरेको भेटिएको उनले बताए।  

‘१५ घण्टाको अवधिमा परेको वर्षा बढी नै हो,’ उनले भने, ‘यो बेला वर्षा हुने समय पनि हो।’ अधिकारीका अनुसार २४ घण्टाको वर्षामापन रेकर्ड निकाल्ने गरिएपनि पोखरामा आइतबार बेलुकी ६ बजेअघि खासै पानी परेको थिएन। आइतबार बेलुकी ७ बजेदेखि लगातार र भीषण वर्षा सुरु भएको थियो। रातभर भीषण वर्षा भएको थियो। पोखरामा २०२१ को सेप्टेम्बर ३ मा २८० मिलिमिटर वर्षा भएको थियो। २०२० को जुलाई १० मा पनि झन्डै २६१ मिलिमिटर वर्षा भएको थियो।  

अधिक वर्षाले यहाँका केही क्षेत्र डुबानमा समेत परेका छन्। पोखरा महानगरपालिका–१३ का अध्यक्ष किरण बरालका अनुसार कमलपोखरी क्षेत्रका घर डुबानमा परेका छन्। पानीको निकास नहुँदा कमलपोखरी क्षेत्रमा वर्षेनी घर डुबानमा पर्ने गरेको अध्यक्ष बरालले बताए। उनका अनुसार त्यहाँका करिब एकसय घर डुबानमा परेका छन्।

‘पानीको निकास साँघुरो छ। कमलपोखरी क्षेत्रका घरमा वर्षेनी यो समस्या दोहोरिन्छ। अब हामीले केही योजना बनाएर डुबानको समस्या समाधान गर्ने प्रयासमा छौ,’ बरालले भने, ‘पानीको निकास नै छैन। केहीबेर पानी परिरह्यो भने डुबान भईहाल्छ।’ निकासको पानी कुलो हुँदै बग्नुपर्नेमा कुलो साँघुरो हुँदा वर्षेनी डुबानको समस्या हुने गरेको स्थानीयले बताएका छन्।  

वर्षाले घर डुबानको बाहेक पहिरो निम्याउँदा यहाँ मानवीय क्षति समेत भएको छ । वर्षापछि पहिरो खसेर घर भत्किदाँ पोखरामा एकजनाको मृत्यु भएको छ। सोमबार विहान करिब एकबजे पोखरा–६ डिहिकोपाटन, पधेरोंमा लक्ष्मी खड्का क्षत्रीको घर पछाडि पहिरो खस्दा घरको कोठा भत्किएको छ।  

पहिरोले घर पुर्दा कोठामा बस्ने २६ वर्षिय सन्तोष सुनारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। माछापुच्छ«े गाँउपालिका– १ भुर्जुङखोला तातोपानी घर भएका सुनार पहिरोले पुरिएको अवस्थामा उद्दार गरिएको थियो। उद्दार गरी उपचारको लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो।  

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा परेर घाईते भएकी २७ वर्षिया सुनिता सुनारलाई उपचारको लागि अस्पताल लगिएको छ। कोठा भत्किदा उनकी छोरी १० वर्षकी सिम्रन सुनारको सकुशल उद्दार गरिएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताए।  

प्रकाशित: १६ श्रावण २०७९ ०८:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App