समाज

फस्टाउँदै नेपाली रुपैयाँको अवैध कारोबार

प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको स्रोत नखुलेको रकम र मानिस । तस्विरःनागरिक

असार २८ गते वीरगन्ज महानगरपालिका –१६ रजतजयन्ती चोकबाट प्रहरीले मोटरसाइकलमा सवार दुई जना भारतीय नागरिकलाई स्रोत नखुलेको २० लाख नेपाली रुपौयाँसहित पक्राउ गर्यो।  

भारत बिहारको पूवी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल –२० का २४ वर्षीय अनुसार मिश्र र २८ वर्षीय संजित कुमारमाथि पर्सा प्रहरीले बैंक तथा वित्तिय ऐन,२०७३ अन्तगर्त कसूरमा कारवाही अघि बढाइएको छ।  

साउन ३ गते पर्सा प्रहरीले वीरगन्ज उपमहानगरपालिका –१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको ४१ लाख ५५ हजार रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गर्यो। सीमावर्ती विहारको रक्सौलबाट वीरगन्जतर्फ आइरहेको बीआर०५एन ०२३८ नम्बरको भारतीय मोटरसाइकलमा सवार भारत विहार पूर्वी चम्पारण रक्सौल निवासी २५ वर्षीय राकेश कुमारलाई बैंक तथा वित्तीय ऐन, २०७३ अन्तर्गत कसूरमा कारवाही अघि बढाइएको छ।  

साउन ९ गते प्रहरीले जनकपुरधाम उपमहानगरपालिका –१२ कुवाँस्थित महादेव मन्दिर नजिकबाट स्रोत नखुलेको २३ लाख ८९ हजार ४८० नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गर्यो।  

भारत बिहारको मधुवनी जिल्ला ग्राम पंचायत हरलाखी हरिने –९ का १९ वर्षीय अब्दुल समीलाई प्रहरीले कारवाही चलाएको छ। लोहनाबाट जनकपुरतर्फ आउँदै गरेको बी.आर.३२ ए.जे.०१७० नम्बरको मोटरसाइकलमामा सवार समीलाई चेकजाँच गर्दा स्रोत नखुलेको सो रकम बरामद भएको हो।  

स्रोत नखुलेको रकम बरामद गरेको यी केही उदाहरण मात्रै हुन्। पछिल्लो समय नेपालमा प्रहरीले ठूलो संख्यामा स्रोत नखुलेको रकम बरामद गर्दै आएको छ। भारतसँग सीमा जोडिएका जिल्लाहरुमा धेरै जसो श्रोत नखुलेको रकम बरामद हुने गरेको छ। पछिल्लो समय मधेस प्रदेशमा यस्ता रकम प्रशस्तै भेटिन थालेका छन्।  

सुरक्षाकर्मीले जतिसुकै कडाइ गरेको भनेपनि अवैध रकम ओसारपोसार गर्ने कारोबारी बढेको तथ्यांकले देखाउँछ। खुल्ला सीमाका कारण कुनै न कुनै बाटो प्रयोग गरी नेपाल प्रवेश गर्छन्। उनीहरूले ल्याउने रकम कहाँबाट आइरहेको छ भन्नेबारे सुरक्षाकर्मीले पनि पत्ता लगाउन सकेका छैनन्।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार एक वर्षको अवधिमा प्रहरीले स्रोत नखुलेको एक करोड ९२ लाख ६५ हजार ३२० रुपैयाँ बरामद गरेको छ। प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष ०७८/०७९ मा मधेस प्रदेशका विभिन्न १४ स्थानबाट स्रोत नखुलेको उक्त रुपियाँ बरामद गरेको हो।  

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एसपी तुलबहादुर कार्कीका अनुसार स्रोत नखुलेको रकमसहित ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही चलाएको छ। पक्राउ परेकामध्ये  आरोप ठहर भएका १७ थुनामा रहेको उनले बताए।  

सशस्त्र प्रहरी मधेस प्रदेशका प्रमुख डीआईजी गणेश ठाडामगरले पारिबाट आउने रकम कसको र कुन प्रयोजनका लागि ओसारपसार भइरहेको भन्नेबारे अनुसन्धान भइरहेको बताए। ‘हामीले सीमाक्षेत्रमा कडा निगरानी बढाएका छौं,’ उनले भने, ‘खुला सीमा भएकाले कुनै न कुनै चोरबाटो भएर प्रवेश गरिहाल्छन्।’ सीमापारिको समूहको पहिचान गर्न सके कारोबारी रोकिने उनको भनाइ छ । नेपाल–भारत सीमा बैठकमा पटक–पटक यस विषयमा कुरा उठ्दै आए पनि कारोबार रोकिएको छैन। स्रोत नखुलेको रकम ओसारपसार गर्ने अधिकांश भारतीय छन्।

रकम र भरिया पक्राउ परेपनि रकमको स्रोत र कारोबारीसम्म प्रहरीको पहुँच पुग्न नसक्दा नेपाली रुपैयाँको अवैध कारोबार फस्टाउँदै छ।

प्रकाशित: १५ श्रावण २०७९ ०५:१५ आइतबार

रुपैयाँको अवैध कारोबार