समाज

ताप्लेजुङमा खिम्दिङ अध्यक्ष रहेको रग्बी संघ गठन

ताप्लेजुङमा योगेन खिम्दिङ अध्यक्ष रहेको नेपाल रग्बी संघ गठन भएको छ। संघको उपाध्यक्षमा सक्षम पालुङ्वा, सचिवमा तिलबहादुर जोगी, सहसचिवमा शोभा साउदेन र कोषाध्यक्षमा अर्चना गुरुङ चयन भएका छन्।

संघमा भीमा तुम्बाहाम्फे लिम्बू, ङिमाछिरिङ शेर्पा, मनिषा ताम्लिङ, सुमिर (मदन) प्रसाईं, नवराज केदेम र रमिस्ता लिम्बू सदस्य चयन भएको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष अनिता पन्दाकले जानकारी दिइन्।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश मावो, कार्यालय प्रमुख यज्ञनिधि पौडेल, जिल्ला भलिबल संघका अध्यक्ष बिमल भण्डारीसहितको उपस्थितिमा रग्वी संघको जिल्ला नेतृत्व चयन भएको हो। रग्बी एउटा सामूहिक खेल हो।

पहिलो र दोस्रो चरण गरी प्रत्येक चरणमा ४० मिनेटको दुई भागमा अण्डाकार बलको साथ दुई टोलीहरूबीच यो खेल खेल्ने गरिन्छ। फुटबल जस्तै खेल्न सकिने तर हातले खेलिने यो खेल बेलायतबाट सन् १८२३ मा सुरु भएको इतिहास छ। संघ र महासंघ गरी दुई वर्गमा खेलिने यो खेलमा फुटबलमा भन्दा बढी खेलाडी संख्या हुन्छन्।

संघले आयोजना गरेको खेलमा १३–१३ जना र महासंघले आयोजना गरेको खेलमा १५–१५ जना खेलाडी सहभागी हुने गरेको बताइन्छ। खेल अवधि ८० मिनेटको हुने गरेको छ। २०५२ सालमै राष्ट्रिय खेलकुद परिषद्मा ३७ औं संघको रूपमा दर्ता भए पनि रग्बी खेल अझै बामे सर्दै गरेको अवस्थामा छ।

प्रकाशित: १४ श्रावण २०७९ १२:१४ शनिबार

नेपाल रग्बी संघ गठन जिल्ला खेलकुद विकास समिति