समाज

मरेको बाघ ‘जिउँदो’ भएपछि

२०७७ पुस १८ गते पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको अमलेखगन्ज–पथलैया सडकखण्ड भएर यात्रा गर्ने क्रममा गम्भीर दुर्घटनामा परेको १० वर्षे पाटेबाघको तस्बिर खिचेकाे थिए।

सडकमा लमतन्न परेको त्यो सुन्दर जीवको नजिकै गएर तस्बिर खिच्दा सुरक्षाकर्मीले ‘बाघ जिउँदै हुन सक्ने’ भन्दै सचेत गराएका थिए। सुरक्षाकर्मीले सचेत गराएको केही घण्टामा बाघ मृत भएको घोषणा गरियो।

तस्बिर खिचेको दुई वर्षपछि उक्त बाघ फेरि बिउँझिएको महसुस भयो। दुई वर्षयता खासै चर्चा नकमाएको त्यो तस्बिरले एक साता सामाजिक सञ्जालमा राम्रै विचरण गरेको छ। अन्तर्राष्ट्रिय महत्वको ह्विटली अवार्डबाटसमेत सम्मानित नेपाली संरक्षणविद् सोनाम ताशी लामाले मंगलबार बिहान उक्त बाघको फोटो ट्विट गरेसँगै विविध कारणले सामाजिक सञ्जालमा यसको चर्चा भइरहेको छ।

लामाले फोटोसँगै ट्विटरमा फोटो स्पिक्स अर्थात् फोटो बोल्छ भन्ने टिप्पणी गर्दै घटनास्थल बाँके राष्ट्रिय निकुञ्ज रहेको बताएका थिए। फोटोका निम्ति पनि सोही निकुञ्जलाई स्रोत मानेका थिए। सम्भवतः बाघको फोटोसँगै सवारी साधनमा लेखिएको ‘सेभ द टाइगर’ भन्ने वाक्यले उनको मन छोएको हुन सक्छ।

लामाले कुनै एक पत्रिकाको हवाला दिँदै फोटो त ट्विट गरे, तर उनले उल्लेख गरेको ठेगाना र फोटोको स्रोत भने गलत थियो। समाचार र सामाजिक सञ्जालमा हुने यस्तै गलत सूचनालाई सच्याउन बसेकाले यसको भेउ पाइहाले। ‘नेपाल: तथ्य जाच’ का उमेश श्रेष्ठले टेलिफोन गरेर उक्त बाघका बारेमा सोधीखोजी गरे। सत्य सूचनाका आधारमा उनले भाइरल बाघको सही समाचार बनाए।

२०७७ पुस १८ गते बाटो काट्दै गरेको बाघको तीव्र गतिमा आएको कारको ठक्करबाट मृत्यु भएको थियो। मृत बाघसँगै देखिएको एउटा सवारी साधनमा लेखिएको ‘सेभ दि टाइगर’ भन्ने शब्दले धेरैको मन छोएको थियो। एकातिर राजमार्गमा सडक काट्दै गरको बाघ गाडीको ठक्करबाट मर्छ। अर्कोतिर गाडीमा ‘सेभ द टाइगर’ लेखिएको वियोगान्त स्थिति देखिन्छ।

सोही तस्बिरलाई राखेर एक सातापछि नागरिक शनिबारको अंकमा ‘कसले कसको बाटो काट्यो?’ शीर्षकमा समाचार छापियो। बाघलाई ठक्कर दिने कारवाला बाघले बाटो काटेका कारण दुर्घटना भएको बताउँदै थिए। यता वन्यजन्तु विज्ञ भने ‘बाघले मान्छेको होइन, मान्छेले बाघको बाटो काट्दा यस्तो समस्या दोहोरिइरहने’ सुनाउँदै थिए।

‘त्यो त सदियौँदेखि बाघ हिँड्दै आएको बाटो हो,’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले सुनाएका थिए, ‘मानिसले राजमार्ग बनाएर बाघ हिँड्ने बाटो काट्दा यस्तो समस्या परेको हो। यसअघि पनि सडक दुर्घटनामा बाघ घाइते भएका छन्।’  

मानिस र बाघबीचको द्वन्द्वले बाघलाई मात्र होइन, मानिस स्वयम्लाई पनि जोखिममा पार्ने कुरा बाघको आक्रमणमा भएको सर्वसाधारणको मृत्युको घटनाले देखाउँछ भन्ने समाचारमा उल्लेख थियो।  

यसैबीच शुक्रबार बाघ दिवस मनाइएको छ। अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले चौंथो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गर्दै नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको जानकारी दिएका छन्।

बाघको संख्या ३ सय ५५ पुगेसँगै नेपालले सन् २०२२ सम्ममा संख्या दोब्बर बनाउन गरेको संकल्प पनि पूरा भएको छ। सन् २०१० मा नेपालमा १२१ बाघ थिए, सन‍् २०१३ को गणनामा १९८ पुगेका थिए। त्यस्तै सन् २०१८ मा बाघको संख्या २३५ पुगेको थियो।

बाघको संख्या बढ्नु आफैमा खुसीको कुरा हो। तर बाघ र मानिसबीचको बढ्दो द्वन्द्वका कारण सम्भावित सफलताबाट सबै पक्ष चुकेको प्रस्ट हुन्छ। संख्या बढ्नु उपलब्धी हो, तर बढ्न सक्ने सम्भावनाभन्दा कम हुनु आफैमा असफलता हो। एकातिर जंगलबीच राजमार्ग निर्माण गर्दै बाघको बासस्थानको विनास गरिँदै छ भने अर्कोतिर बाघ बढ्दै छ भनेर रमाइलो मानिँदै छ। यो आफैमा विरोधाभास देखिन्छ।  

नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले तीन महिना लगाएर स्थलगत अध्ययन गरेको प्रतिवेदनमा रेखीय वा लामो प्रकृतिको पूर्वाधार (सडक, सिँचाइ, प्रसारण लाइन, रेलका लिकलगायत) निर्माण गर्दा अपनाउनुपर्ने सावधानी र वातावरणीय पक्षप्रति ख्याल नगर्दा यस्ता दुर्घटना बर्सेनि थपिँदै गएको बताइसकेको छ। पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने पूर्व–पश्चिम राजमार्गको अमलेखगन्ज खण्डमा गाडीको ठक्करबाट पाटेबाघ मारिएको घटनालाई सन्दर्भ मान्दै उसले दुर्घटनामा परेर पाटेबाघ मारिएको यो तेस्रो घटना भएको जनाएको थियो।

वन्यजन्तुको वासस्थान, गतिविधिलगायत वैज्ञानिक तथा प्राविधिक अध्ययन गरेर मात्र अन्डरपास (वन्यजन्तु जमिनबाट ओहोरदोहोर गर्ने पुल) र ओभरपास (वन्यजन्तु ओहोरदोहोर गर्ने आकासेपुल) बनाउनुपर्ने नेफेजको सुझाव छ।

वन्यजन्तु सजिलै र स्वतन्त्र रूपमा ओहोरदोहोर गर्न सक्ने खालका पूर्वाधार तत्काल निर्माण गर्नुपर्ने, भौतिक पूर्वाधार निर्माण गर्नुपूर्व जैविक मार्ग, वन्यजन्तुको वासस्थान र संवेदनशील अवस्थामा रहेका बोटलनेक (वन्यजन्तु ओहोरदोहोर गर्ने साँघुरो जैविक क्षेत्र) को नक्सा तयार गर्नुपर्ने प्रतिवेदनमा सुझाव दिइएको छ।

संरक्षणकर्मी डा. रोशन शेरचन पनि पूर्वाधार तयार गर्नुअगाडि सडक विभागले वन अथवा राष्ट्रिय निकुञ्जसँग समन्वयन गरेर अगाडि बढेको भए समस्यामा कमी आउने बताउँछन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, सडक विभाग, केन्द्रीय तथा प्रादेशिक मन्त्रालय, मध्यवर्ती क्षेत्र विकास परिषद्, संरक्षण क्षेत्र तथा वनका उपभोक्ता समूहहरूबीच सहकार्य तथा समन्वय अनिवार्य रहेको उनको बुझाइ छ।

‘यो बाघ दुर्घटनामा मरेको मात्र होइन,’ संरक्षणविद् रोशन शेरचनले भनेका थिए। मानिसले बाघहरूलाई बचाउन नसकेको एउटा उदाहरण पनि हो।’ एकले अर्काको बाटो काट्नेभन्दा पनि बाघ र मान्छे आआफ्नो बाटोमा हिँड्न सक्ने अवस्था ल्याउनुपर्नेमा उनको जोड थियो।  

दुई वर्षअघि मरेको बाघ भाइरल भएजस्तै विगतमा बिर्सिएका बाघ बचाउने चेतना फेरि भाइरल भए सुनमा सुगन्ध हुन्थ्यो।

प्रकाशित: १४ श्रावण २०७९ ०२:२७ शनिबार

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र अमलेखगन्ज–पथलैया सडकखण्ड