समाज

एक महिलाको लाखौं रकम लुट्ने दुई जना पक्राउ

जनकपुरधाम उपहानरपालिका–१ मिल्स एरियाबाट दिउँसै एक महिलाको हातबाट २ लाख रुपैयाँ लुटेर फरार भएको दुई जना युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। विदेशबाट श्रीमानले पठाइएको रुपैयाँ एभरेष्ट बैंकबाट निकालेर घर जाने क्रममा बाटौमै महिलाको रुपैयाँ लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जिल्लाको लक्ष्मिनियाँ गाउँपालिका–७ का २० वर्षीय जितेन्द्रप्रसाद साह र सोही ठाउँको २१ वर्षीय दिपेन्द मण्डल रहेको धनुषा प्रहरी उपरीक्षक वसन्त रजौरे जनाए। बिहीबार उनीहरुसँग प्रहरीले लुटिएको रुपैयाँ र प्रयोग गरेको मोटरसाइकलसमेत बरामद गरेको हो।

सोमबार दिउँसो दुई बजे सबैला नगरपालिका–४ पटेर्वा हाल जनकपुरधाम उपमहानपालिका–१ का देवशरण यादवले साउदीबाट पठाइएको दुई लाख रुपैयाँ उनको श्रीमती २८ वर्षीय शर्मिला यादवले बैकबाट निकालेर घर लग्दै गर्दा उनको हातबाटै रुपैयाँ लुटेर फरार भएका थिए।

प्रकाशित: १२ श्रावण २०७९ ०७:१९ बिहीबार

एभरेष्ट बैंक जनकपुरधाम उपहानरपालिका