भक्तपुरको सल्लाघारी क्षेत्रका रुखहरु काटिने भएका छन्। सल्लाघारीस्थित सडकमा खतरा देखिएका सडक वरपरका रुखहरु काटिने भएका हुन्।
भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीमा आइतबार सल्लाको रुख ढली एक स्कुटर र मिनीबसमाथि बज्रेर तीनजनाको मृत्यु भएको थियो। घटनामा परी मिनीबसमा सवारमध्ये जिल्लाको चाँगुनारायण नगरपालिकाका न्हुछेराम बखाद्यो, भक्तपुर नगरपालिकाका विशेष खर्बुजा र सर्लाहीको हरिवन नपा ४ का राजकुमार भुजेल ३ जनाको निधन भएको थियो।
सल्लाघारीमा सल्लाका धेरै रुखहरु रहेका छन्। सरोकारवाला निकायबीच समन्वय पश्चात् त्यस्ता घटनाहरु दोहरिन नदिन प्रकृति प्रतिकूल नहुने गरी रुखहरु हटाउने सहमति भएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए।
यसैबीच घटनालाई लिएर भक्तपुर क्षेत्र नं २ का सांसद महेश बस्नेतले संसदमा व्यक्त गरेको अभिव्यक्तिको भक्तपुर नगरपालिकाले आपति जनाएको छ। भक्तपुर क्षेत्र नं. २ का सांसद बस्नेतले घटनाबारे सत्यतथ्य नबुझी हचुवाको भरमा भक्तपुर नगरपालिकाको लापरबाही भनी संसदमा बोलेको भन्दै बस्नेतको अभिव्यक्तिप्रति आपत्ति जनाइएको हो।
प्रकाशित: ९ श्रावण २०७९ ०५:५९ सोमबार