समाज

महिनावारी भएका छात्रालाई कपडा खोल्न लगाएपछि क्याम्पस तोडफोड

आक्रोशित विद्यार्थीको ढुंगा प्रहारबाट प्वाल परेका क्याम्पसको झ्याल।

बीएड दोस्रो वर्षको परीक्षा दिन गएका छात्रा परीक्षार्थीले चिट चोरेको आशंकामा भित्री कपडा समेत खोल्न लगाएको भन्दै आक्रोशित विद्यार्थीहरुले हेटौंडा क्याम्पसमा तोडफोड गरेका छन्।

परीक्षा दिन गएका ४ जना छात्रालाई मंगलबार हेटौंडा क्याम्पसमा खटिएका कर्मचारीले भित्री वस्त्र समेत खोल्न लगाएको घटना बाहिरिएको थियो। विद्यार्थीमाथि दुर्व्यवहार गर्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले बुधबार हेटौंडा क्याम्पसमा तोडफोड गरेका छन्।

विद्यार्थीले गरेको ढुंगा प्रहारबाट क्याम्पसको सिसा फुटेको छ भने अन्य क्षति भएको छ। मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थी परीक्षाका लागि हेटौंडा क्याम्पस जाँदा महिला कर्मचारीले चिट ल्याएको हुनसक्ने भन्दै भित्री कपडा खोल्न लगाएको पीडितको भनाइ छ।

‘महिनावारी भएका विद्यार्थीलाई समेत चिट ल्याएको भन्दै अन्डरवेयरसम्म खोल्न लगाएको भन्ने विद्यार्थीको गुनासो छ’, अनेरास्ववियु मकवानपुर क्याम्पस संयोजक विश्वास पराजुलीले भने, ‘विद्यार्थीलाई दुर्व्यवहार गर्ने कर्मचारीलाई कारबाहीको माग गर्दै स्वतस्फूर्त आन्दोलनमा निस्किएका विद्यार्थीले हेटौंडा क्याम्पसमा तालाबन्दी गर्दै तोडफोड गरेको जानकारी पाएका छौं।’

महिला कर्मचारीले नै परीक्षा दिन गएका छात्राहरुलाई दुर्व्यवहार गरेको बुझिएको उनले बताए। जिल्लामा कृयाशील विद्यार्थी संगठनले घटनाको सत्यतथ्य छानविनसहित दोषीलाई कारबाहीको माग गरेका छन्। अखिल क्रान्तिकारी मकवानपुरका अध्यक्ष श्रवणकुमार बर्तौलाका अनुसार घटनाको विषयमा क्याम्पस प्रशासन, विद्यार्थी संगठन र पीडित पक्षको बीचमा छलफल भैरहेको छ।

‘महिनावारी भएका विद्यार्थीले प्याडमा समेत चिट लुकाएको हुनसक्छ भन्दै कपडा खोल्न लगाउनेसम्मको काम हुनु खेदजनक छ’, बर्तौलाले भने, ‘यस्ता घटनाका दोषीलाई कारबाहीको माग गर्दै फेरि यस्ता घटना हुन नदिन हामी क्याम्पस प्रशासनको ध्यानाकर्षण गराउन चाहन्छौं।’ यता क्याम्पस प्रशासनले भने घटनाको विषयमा छानविन भैरहेको जानकारी दिएको छ।

‘विद्यार्थीलाई परीक्षाहलमा प्रवेशपूर्व परीक्षामा संलग्न कर्मचारीबाट व्यक्तिगत गोपनीयता हनन् हुने गरी चेकजाँच गरिएको भन्ने विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, हेटौंडा क्याम्पस प्रमुख देवचन्द्र मानन्धरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा सम्बन्धित पक्षसँग आवश्यक छलफल भैरहेको छ। दोषी ठहरिए कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं।’

प्रकाशित: ४ श्रावण २०७९ ०७:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App