समाज

मनसुन निष्क्रिय हुँदा गर्मी बढ्यो, एकदुई दिनमै वर्षा हुन्छः मौसमविद्

मौसमविद्हरुले मनसुन निष्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन्। उनीहरुले केही दिन यता मनसुन निष्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको बताएका हुन्।

मंगलबार जल तथा मौसम विज्ञान विभाग जलवायु शाखाकी मौसमविद् विभूती पोखरेलले हाल देशको विभिन्न भागहरुमा तापक्रम बढी अत्याधिक गर्मी हुनु स्वभाविक रहेको बताइन्। मनसुन निष्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको उनको भनाइ छ।

उनले मनसुन न्यून चापिय रेखा एक, दुई दिन भित्रमै माथि आउने र वर्षा हुन सुरु हुनासाथ गर्मी हटेर जाने बताइन्। उनले केही दिनभित्रमै मनसुन सक्रिय भएर वर्षा हुने बताइन्। हाल मनसुन सामान्य स्थितिमा रहेकाले वर्षा नभएको मौसमविद्हरुले बताएका छन्। हाल मनसुन सामान्य अवस्थामा दक्षिणतर्फ रहेकाले नेपालमा धेरैजसो वर्षा हुन नसकेको बताए।

उनले एक, दुई दिन भित्रमै मनसुन ट्रफ विस्तारै माथि सर्ने सम्भावना रहेको र त्यसपछि देशको धेरैजसो स्थानमा वर्षा हुने बताइन्। मौसमविद् पोखरेलले प्रदेश नम्बर १, मधेश प्रदेश र बागमती प्रदेशमा हालसम्म सरदरभन्दा बढी वर्षा देखिएको बताइन्।

त्यस्तै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने सरदरभन्दा कम वर्षा भइरहेको उनले जानकारी दिइन्। उनले मनसुनको समयमा बाढी, पहिरोका कारण धनजनको क्षति हुनसक्ने भएकाले जल तथा मौसम विज्ञान विभागले दिने गरेको सूचनाहरुलाई ध्यान दिन आग्रह गरिन्।

प्रकाशित: ३ श्रावण २०७९ ०८:२१ मंगलबार

जल तथा मौसम विज्ञान विभाग जलवायु शाखाकी मौसमविद् विभूती पोखरेल मौसमविद्