समाज

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधेर मन्दिर पुर्‍याइयो

रुपन्देही र नवलपरासीमा उधुमै गर्मी बढेको छ। वर्षे झरी पर्ने बेला यी जिल्लामा पानी नपरेर खडेरी परेको छ। साउन लागी सक्दा पनि प्रयाप्त पानी नपर्दा केही किसानले रोपाइँ गर्न पाएका छैनन्।  पानीको जुगाड गरेर जसोतसो धान रोपेका किसानलाई पनि खडेरीले पुर्पुरो समाउने बनाएको छ। धान रोपेको खेतमा धाँजा फाटेको छ। रोपो सुकेर पहेँलै भएको छ।  

चर्को खडेरीले आत्तिएका नवलपरासीका किसानहरु अहिले पानी पार्ने जुक्ति खोज्न थालेका छन्। सोमबार उनीहरुले पानी पर्ने विश्वासका साथ जनप्रतिनिधिहरुलाई नै मन्दिर लगी पूजा गरेर पानी पारिदिन भन्दै सहकालका देवता इन्द्रको पुजा गरेका हुन्। लामो समयसम्म खडेरी परेपछि किसानहरुले जनप्रतिनिधिहरुलाई बाँधेर मन्दिर लगी पूजा गर्दै पानी र हिलोले छ्यापेर पानी मागेका हुन्।  

विशेष गरी तराइका केही जिल्लामा लामो खडेरी परे वर्षा र सहकालका देवता इन्द्रको पूजा गर्ने चलन  छ। सो क्रममा गाँउका अगुवाहरुलाई बाँधेर मन्दिरमा लगी तीनलाई पानी र हिलोले छ्यापेर पानी माग्ने चलन रहेको नवलपरासीको सरावल गाँउपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताए।  

चौधरीले सोमबार आफ्नो गाँउका किसानले पनि जनप्रतिनिधिलाई नै अगुवा मानेर मन्दिर लगी इन्द्रको पुजा गरेर पानी मागेको बताए। अध्यक्ष चौधरीसहित उपाध्यक्ष बासमती चमार, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली, पूर्व सांसद रामलखन हरीजन लगायतका जनप्रतिनिधिहरुलाई बाँधेर मन्दिर पुर्याएका थिए। गाँउका अगुवालाइ मन्दिर पुर्याउँदासम्म कपडाको चुन्नीले सामान्य तरिकाले बाँधिएको थियो। तीन दिनदेखि मन्दिरमा वर्षा र सहकालका देवता इन्द्रको पूजा अर्चना भइरहेको र सोमबार अन्तिम दिन जनप्रतिनिधिलाई नै गाँउका अगुवा मानेर पुजा गर्न बाँधेर लगिएको स्थानीयले बताएका हुन्।  

पहिले पहिले गाँउका अगुवालाई यसैगरी बाधेर मन्दिर लैजाने तीनलाई पानी र हिलो छ्याप्ने र तीनले फेरी इन्द्रको पूजा गर्ने चलन थियो। त्यती गरेपछि इन्द्र भगवान खुसी भएर पानी पारिदिन्छन् भन्ने जनविश्वास रहेको वडाध्यक्ष चौधरीले बताए। सोही धार्मिक जनविश्वासका साथ जिल्लाका विभिन्न गाँउमा अहिले इन्द्रको क्षमापूजा भइरहेको उनले बताए।

प्रकाशित: २ श्रावण २०७९ १४:०२ सोमबार